coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अमेरिकी जनरल काठमाडौंमा

अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जनरल चार्ल्स ए फ्लिन चार दिवसीय भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन्।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध सुरु भएको ७५औं वर्ष पुगेको अवसरमा उच्चस्तरीय अमेरिकी अधिकारीहरूले नेपाल भ्रमण गरिरहेका बेला अमेरिकी सेनाका जनरल फ्लिन पनि यहाँ आएका हुन्। नेपालस्थित अमेरिकी दूतावासले जनरल फ्लिनको भ्रमण नेपाल र अमेरिकाबीचको दशकौं लामो रक्षा सहकार्यको निरन्तरता भएको जनाएको छ।

नेपालबाट प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण तय भइसकेको र प्रधानमन्त्री शेरबहादुर देउवाको पनि भ्रमणको चर्चा चलिरहेका बेला फ्लिन चार दिने भ्रमणका लागि आएका हुन्। नेपाल बसाइका क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चस्तरीय राजनीतिक नेतृत्वसँगै प्रधानसेनापति शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

उनलाई शुक्रबार सैनिक मुख्यालयमा गार्ड अफ अनरबाट सम्मान गरिँदैछ। त्यसलगत्तै प्रधानसेनापति शर्मासँग भेट र नेपाली सेनाका गतिविधिबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए।

उनले शनिबार माउन्टेन फ्लाइटमार्फत सगरमाथा अवलोकन गर्नेछन्। त्यस्तै उनले आइतबार शान्तिकार्य तालिम केन्द्र पाँचखालको अवलोकनसँगै सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरी भ्रमण गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जानकारी दिएको छ।

नेपाल बसाइका क्रममा उनले विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्ने छन्। नेपाली सेनाका अनुसार औपचारिक सद्भावना भ्रमण भएकाले द्विपक्षीय छलफलका लागि कुनै अजेन्डा तय भएको छैन।

प्रकाशित: २७ जेष्ठ २०७९ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App