७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाम जिससमा एमाले र एकीकृत समाजवादी गठबन्धन

इलाम जिल्ला समन्वय समितिको कार्यालय।

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल र नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गृहजिल्ला इलामको जिल्ला समन्वय समिति (जिसस) गठनमा दुवै पार्टीले तालमेल गर्ने भएका छन्।

सूर्याेदय नगर कार्यपालिका गठनमा एमाले–नेकपा (एस) गठबन्धन सफल भएपछि जिसस गठनमा पनि एमाले र नेकपा (एस)को सहमति जुटेको हो। यही गठबन्धनमा अहिले जनता समाजवादी पार्टी (जसपा)समेत थपिएको छ। ९ सदस्यीय जिससमा एमालेबाट प्रमुखसहित २ खुला र २ महिला सदस्य, नेकपा (एस)बाट उपप्रमुखसहित १ दलित महिला सदस्य र १ महिला सदस्य तथा जसपाबाट १ खुला सदस्य बन्नेगरी सहमति जुटेको हो।

एमाले इलामका उपसचिव रवीन्द्र सुवेदीले सहमति जुटाउने कसरत भइरहेको बताए। ‘एमाले, नेकपा (एस) र जसपाबीच छलफल निरन्तर भइरहेकै छ,’ उनले भने, ‘सहमति जुटाएर अघि बढ्नेमा विश्वस्त छौं।’ गठबन्धनबाट एमालेले पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश राईलाई जिसस प्रमुखको उम्मेदवार बनाउने भएको छ। खुला सदस्यमा रामप्रसाद सदेम्बा र प्रेमराज गुरुङ तथा महिला सदस्यमा मीनाकुमारी राई र सीता कार्की उम्मेदवार बन्नेछन्।

नेकपा (एस)ले उपप्रमुखमा चित्रकला बराइलीलाई उम्मेदवार बनाउने सम्भावना रहेको पार्टी स्रोतले जनाएको छ। तर, आफ्नो भागमा परेका उपप्रमुख, दलित महिला सदस्य र महिला सदस्यका उम्मेदवार सिफारिस गर्न नेकपा (एस)को बैठक आज (बुधबार) बस्दैछ। नेकपा (एस)का जिल्ला अध्यक्ष भक्त केसीले जिसस नेतृत्वका लागि पार्टीभित्र र बाहिरसमेत छलफल भइरहेपनि सहमति हुन बाँकी रहेको जवाफ दिए।

नेपाली कांग्रेसले पनि जिसस नेतृत्वका लागि अन्य दलसँग गठबन्धनबारे छलफल र सहमति जुुटाउने प्रयास भएको तर सफल हुने सम्भावना कम रहेको जनाएको छ। पार्टीका जिल्ला सभापति डम्बर खड्काले स्थानीय तह निर्वाचनमा कांग्रेसले जिताएका नेकपा (एस) र जसपाले जितेपछि गठबन्धनप्रतिको इमानदारी उल्लंघन गरेको बताए।

‘कांग्रेसको मतले नेकपा (एस) र जसपाका उम्मेदवारले विभिन्न पालिकामा जितेको भएपछि कार्यपालिका गठन गर्नेबेला उनीहरूले नै गठबन्धन भंग गरेका छन्,’ खड्काले नागरिक न्युजसँग भने, ‘सूर्याेदय नगरको कार्यपालिका गठनमा नेकपा (एस) ले र माङ्सेबुङको कार्यपालिकामा जसपाले एमालेसँग गठबन्धन गरेकाले जिससमा पहिले (वैशाख ३०)को गठबन्धन हुने सम्भावना थोरैमात्र छ।’

सभापति खड्काले नेकपा (एस) र जसपाले जिसस गठनमा एमालेसँग तालमेल गरेकाले उनीहरूसँगको छलफलबाट अब कांग्रेससँग गठबन्धन हुने सम्भावना कमै रहेको बताए। ‘अहिले जिसस गठनमा कांग्रेस एक्लै र अल्पमतमा हुने नै सम्भावना धेरै देखिएको छ,’ उनले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा कांग्रेसले एक्लै उम्मेदवारी दिने सम्भावना छ। अन्य दलसँग तालमेल र उम्मेदवारको टुंगो लगाउने विषयमा पार्टीभित्र अझै छलफल हुन्छ।’

जिल्लाभरका सबै पालिकाका प्रमुख र उपप्रमुख जिसस गठनका लागि मतदाता रहन्छन्। जिल्लाका १० पालिकाका २० प्रमुुख/उपप्रमुखमध्ये एमाले एक्लैको १० मत छ। कांग्रेसको ७, नेकपा (एस)को २ र जसपाको १ मत छ। एमाले-नेकपा (एस) र जसपा गठबन्धन हुँदा यो गठबन्धनको बहुमत (१३ मत) पुग्छ। जिससको निर्वाचन आउँदो असार ४ गते हुनेगरी कार्यतालिका प्रकाशन हुन लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उम्मेदवारको मनोनयन जेठ २९ गतेलाई तय गरिने छ।

प्रकाशित: २५ जेष्ठ २०७९ ०५:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App