१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सत्ता पक्षबीच नै प्रतिस्पर्धा

सत्तारूढ प्रमुख राजनीतिक दलहरूबीच स्थानीय तहको निर्वाचनमा सयभन्दा बढी स्थानीय तहमा मुख्य प्रतिस्पर्धा भएको छ। शुक्रबार साँझ ५ बजेसम्म सार्वजनिक भएको ६ सय ४८ स्थानीय तहको निर्वाचनमा सत्तारूढ राजनीतिक दलहरू नै विजेता र उपविजेता बनेका हुन्।

मतपरिणाम आउन बाँकी रहेका अन्य स्थानीय तहमध्ये ६० स्थानको प्रमुखमा पनि सत्ता गठबन्धनका उम्मेदवारहरूबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ। बाँकी स्थानीय तहमा भने प्रमुख प्रतिपक्षी एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का साथै स्वतन्त्र उम्मेदवारसँग सत्ता गठबन्धनका उम्मेदवाहरूकोे प्रतिस्पर्धा छ।

साँझ ५ बजेसम्म २ सय ९१ स्थानीय तहको निर्वाचन परिणाम आफ्नो पक्षमा पारेको कांग्रेसले ५५ स्थानीय तहमा सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) सँग मुख्य प्रतिस्पर्धा गरेको छ। ५५ स्थानीय तहको मुख्य प्रतिस्पर्धी विपक्षी एमाले वा अन्य दल नभएर सत्ता साझेदारी गर्दै आएका दलहरू नै रहेका छन्। ६ महानगर, ११ उपमहानगरसहित केही स्थानीय तहमा चुनावी तालमेलको निर्णय गरे पनि प्राप्त मतपरिणामले गठबन्धनकै दलहरूबीच मुख्य प्रतिस्पर्धा भएको देखाएको हो।

साँझ ५ बजेसम्म घोषित निर्वाचन परिणामअनुसार माओवादी केन्द्रले १ सय १२ स्थानीय तहको प्रमुख आफ्नो पक्षमा पारेको छ। एमालेसँग मुख्य प्रतिस्पर्धा गरेको बताएको माओवादीले सत्ता साझेदार कांग्रेससहितका अन्य दलसँग ३५ स्थानीय तहमा मुख्य प्रतिस्पर्धा गरेको छ। उसले आफ्नो पक्षमा परिणाम ल्याएका ३५ स्थानको उपविजेता भने कांग्रेस, नेकपा (एस) सहितका दलका उम्मेदवारहरू छन्। त्यसमा पनि धेरैजसो स्थानमा कांग्रेस उम्मेदवार नै निकटतम प्रतिद्वन्द्वी रहेका छन्।

नेकपा (एस) ले १४ स्थानीय तहका प्रमुख जितेको छ। तीमध्ये तीन स्थानीय तहको प्रमुखको उपविजेता कांग्रेस छ भने बाँकीमा एमाले रहेको छ। २० स्थानीय तहको प्रमुखको परिणाम आफ्नो पक्षमा पारेको जसपाले १२ स्थानीय तहमा सत्ता साझेदार दलसँग नै मुख्य प्रतिस्पर्धा गरेको छ। ११ स्थानीय तहको उपविजेता कांग्रेस बनेको छ।

एक स्थानीय तहमा माओवादी केन्द्र र बाँकी आठ स्थानीय तहमा मात्र एमाले, लोसपा, राप्रपासहितका दलहरू निकटतम प्रतिद्वन्द्वी बनेका छन्। मतगणना जारी रहेका ८९ मध्ये ६० स्थानीय तहको प्रमुखमा सत्ता साझेदार दलहरूबीचमै मुख्य प्रतिस्पर्धा छ। बाँकीमा मात्र एमालेसँग सत्ता साझेदारका उम्मेदवारहरूले प्रतिस्पर्धा गर्दै आएका छन्। ३६ स्थानमा अग्रता कायम गर्दा कांग्रेससँग निकटतम प्रतिद्वन्द्वी सत्ता साझेदार दलकै उम्मेदवार नौ स्थानमा छन्। माओवादीले अग्रता लिएको ११ मध्ये तीन तहमा सत्ता साझेदारका उम्मेदवार छन् भने बाँकी आठ तहमा एमाले, लोसपा, राप्रपासहितका दलहरूका उम्मेदवार छन्।

जसपाले अग्रता लिएका १३ स्थानीय तहमध्ये नौ स्थानमा कांग्रेसले सो पार्टीलाई पछ्याइरहेको छ। पाँच स्थानमा अग्रता लिएको नेकपा एसलाई भने एमाले उम्मेदवारले पछ्याइरहेका छन्। मधेसका स्थानीय तहमा कांग्रेस र जसपाबीच नै धेरै स्थानमा प्रतिस्पर्धा भएको देखिन्छ। पहाडी जिल्लाहरूमा कांग्रेस र माओवादी केन्द्रबीच पनि प्रतिस्पर्धा छ।

त्यसबाहेक प्रमुख प्रतिपक्षी एमालेले जितेका १ सय ७९ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा कांग्रेस नै निकटतम प्रतिद्वन्द्वी छ। एमाले जितेका स्थानीय तहमध्ये १ सय ३३ स्थानीय तहमा कांग्रेस उपविजेता हुँदै निकटतम प्रतिद्वन्द्वी बनेको छ। बाँकी ४६ तहमा मात्र माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलहरू रहेका छन्। उपप्रमुखमा पनि सत्ता साझेदार दलहरूबीच सय बढी स्थानीय तहमा मुख्य प्रतिस्पर्धा देखिएको छ। एक तिहाइभन्दा काम स्थानीय तहमा मात्र सत्ता साझेदार दलहरूबीच चुनावी तालमेल भए पनि अन्य तहमा भने प्रतिस्पर्धा भएको परिणामले देखाएको छ।

नयाँले थाले काम

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट आगामी पाँच वर्षका लागि निर्वाचित नयाँ जनप्रतिनिधिहरूले शुक्रबारबाट काम सुरु गरेका छन्। बिहीबारसम्म निर्वाचन परिणाम आएका जनप्रतिनिधिहरूले संविधान र कानुनअनुसार शुक्रबारबाटै जिम्मेवारी सम्हालेका हुन्। ७ सय ५३ पालिकाकै परिणाम आउन अझै केहीदिन लाग्ने भए पनि बिहीबार साँझसम्म परिणाम आएका ६ सय स्थानीय तहका जनप्रतिनिधिले जिम्मेवारी सम्हालेका छन्। स्थानीय निर्वाचन २०७४ बाट चुनिएका जनप्रतिनिधिहरूको कार्यकाल बिहीबार (जेठ ५) बाट सकिएको हो।

अहिलेसम्मको परिणामले सरकारको नेतृत्व गरेको कांग्रेसले अग्रता लिएको छ। यो पार्टीले झन्डै ३ सय स्थानीय तहको प्रमुखको परिणाम आफ्नो पक्षमा पारेको छ। उसले साँझ ८ बजेसम्म २ सय ९६ तहको प्रमुख आफ्नो पक्षमा पारेको छ। २ सय ६९ उपप्रमुखमा पनि जित निकोलेको छ। अझै ३१ प्रमुख र ३६ उपप्रमुखमा कांग्रेसले अग्रता कायम गरेको छ। त्यसलाई समेत आधार बनाउँदा कांग्रेसले ३ सय २५ देखि ३० स्थानीय तहको परिणाम आफ्नो पक्षमा पार्ने देखिएको छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पहिलो दलका रूपमा उदाएको एमाले अहिले दोस्रो दलमा खुम्चिन पुगेको छ। उसले साँझसम्म १ सय ८२ स्थानीय तहको प्रमुख र २ सय ४ स्थानीय तहको उपप्रमुख आफ्नो पक्षमा पारेको छ। १९ स्थानीय तहको प्रमुखमा अग्रता लिगेको उसले ३३ उपप्रमुखमा पनि अग्रता लिएको छ। कुनै पनि महानगरपालिकामा अग्रता लिन नसकेको एमालेले २ सय हाराहारी प्रमुखमा आफ्नो पकड कायम गर्ने देखिन्छ।

माओवादी केन्द्रले सम्पन्न स्थानीय तहको निर्वाचनबाट पनि आफूलाई तेस्रो शक्तिका रूपमा स्थापित गरेको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा पनि कमजोर भएको विश्लेषण गरिएका बेला उसले १ सय १५ स्थानीय तहको प्रमुख जितेको छ। अघिल्लो निर्वाचनमा १ सय ११ स्थानीय तहको प्रमुखमा मात्र जित निकालेको माओवादीले भरतपुर महानगरपालिकासहित सात स्थानीय तहमा अग्रता कायम गरेको छ। उसले १ सय २० स्थानीय तहको नेतृत्व लिने देखिएको छ। १ सय २१ उपप्रमुखको परिणाम माओवादीले आफ्नो पक्षमा पारिसकेको छ भने १० स्थानमा अझै उसले अग्रता लिगेको छ।

जसपाले पनि विगतमा भन्दा आफ्नो अवस्था सुधार गर्ने देखिएको छ। यसअघि मधेसमा मात्र आफ्नो उपस्थिति देखाएको उसले अहिले पहाडी क्षेत्रमा पनि आफ्नो स्थान सुरक्षित गर्दै २० प्रमुख जितिसकेको छ। १३ मा अग्रता लिएको जसपाले २३ उपप्रमुख जितेको छ। नौ उपप्रमुखमा उसले अग्रता लिगेको छ। एमालेबाट अलग भएर गठन भएको नेकपा (एस) ले १४ स्थानीय तहको प्रमुख जितेको छ। ५ मा अग्रता लिगेको उसले १९ उपप्रमुख जितेको छ। ३ मा एकीकृत समाजवादीले अग्रता लिगेको छ।

महन्थ ठाकुर नेतृत्वको लोसपाले १० स्थानीय तहमा जित निकालेको छ भने चारमा अग्रता कायम गरेको छ। नौ उपप्रमुख जितेको सो पार्टीले एकमा अग्रता कायम गरेको छ। काठमाडौं महानगरपालिकासहित छ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरिहेका बेला राप्रपाले चारचार प्रमुख र उपप्रमुख जितेको छ।

राष्ट्रिय जनमोर्चाले चार प्रमुख र तीन उपप्रमुख जितेको छ भने विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), जनता प्रगतिशील पार्टी नेपाल, तमलोपासहितका दलले १/१ प्रमुख जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले तीन, जनमत पार्टीले दुई र स्वतन्त्र उम्मेदवारले अहिलेसम्म आठ स्थानीय तहको प्रमुख जितिसकेका छन्।

प्रकाशित: ७ जेष्ठ २०७९ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App