१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपाको निष्कर्ष, गठबन्धनबाटै धोका

स्थानीय तहको निर्वाचनको परिणााम सार्वजनिक भइरहेका बेला जनता समाजवादी पार्टीका नेताहरूले गठबन्धनमा रहेका दलहरूबाट आफूलाई धोका भएको निष्कर्ष निकालेका छन्।

विराटनगर महानगरपालिका र जनकपुर उपमहानगरपालिकामा गठबन्धनमा रहेको दलहरूबाट धोका पाएको जसपाका नेताहरूको भनाइ छ। विराटनगर र जनकपुरमा अहिलेसम्म आएको परिणामबाट जसपाका नेताहरू खुसी छैनन्। वीरगञ्ज महानगरपालिकामा भने मेयरमा जसपाका उम्मेदवार अगाडि छन्।

जसपाका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्म आएको परिणामलाई हेर्दा गठबन्धनको भावना अनुसार काम नभएको बताए। ‘जुन स्प्रिडबाट गठबन्धनले काम गर्नु पथ्र्यो। त्यो अनुसार काम भएन,’ उनले भने। जनताको मतलाई आफूहरूले सम्मान गर्ने उनले बताए। ‘हामीले अझै धेरै भोट ल्याउने अपेक्षा गरेका थियाैँ। तर पनि अहिले हामीले ल्याएको भोट कम छैन,’ उनले भने।

बिहीबार साँझसम्म जसपाले १६ पालिकमा प्रमुख पदमा विजयी भएको छ भने १९ पालिकामा अगाडि छ। यसैगरी उपप्रमुख पदमा १५पालिकामा विजयी भएको छ भने अरू १५ पालिकमा अगाडि छ।

विराटनगर महानगरपालिको उपमेयरमा पार्टी अध्यक्ष उपेन्द्र यादवका अध्यक्ष पुत्र अमरेन्द्र यादवले उम्मेदवारी दिएका छन्।

बिहीबार साँझसम्म विराटगरको उपमेयरमा अमरेन्द्र नेकपा (एमाले)की उम्मेदवार शिल्पा कार्कीभन्दा झन्डै ७ हजार भोटको फरकले पछि छन्। जसपाका कार्यकारिणी समितिका सदस्य मनिष समुनले गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र माओवादी केन्द्रबाट आफूहरूलाई धोका भएको बताए। ‘गठबन्धनका लागि हामीले त्याग गर्‍यौ। गठबन्धनलाई योगदान पनि दियौं तर गठबन्धनमा रहेका दलहरूले हामीलाई धोका दिए,’ सुमनले भने।

विराटनगर र जनकपुरमा नेपाली कांग्रेसले इमान्दारी नदेखाएको उनको भनाइ छ। निर्वाचन पछि निर्वाचनको परिणामबारेमा पार्टीभित्र समिक्षा हुने उनले बताए।यसैगरी अर्का कार्यकारिणी समितिका सदस्य मृगेन्द्रसिंह यादवले जनकपुर र विराटनगरमा जे हुनु पर्ने त्यो नभएको बताए।  

जनकपुरमा मेयर पदमा जसपाका उम्मेदवार लालकिशोर साह धेरै नै पछि छन्। बिहीबार साँझसम्म उनी चौथौ स्थानमा छन्। जनकपुरमा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साह अगाडि छन्।

प्रकाशित: ६ जेष्ठ २०७९ ००:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App