१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

उदयपुरको चौदण्डीगढीमा एमाले विजयी, ५ किल्ला ढल्दा नयाँ जन्म्यो

मेयर र उपमेयरको प्रमाणपत्र बितरणपछि निर्वाचन अधिकृतसँग तस्विर खिच्दै चौदण्डीगढीका प्रमुख लामा र उपप्रमुख दुलाल। तस्विरः महेश्वर

धेरैतिर किल्ला ढल्दै गएको एमालेले उदयपुको चौदण्डीगढी भने नयाँ किल्ला खडा गरेको छ। गएको चुनावमा काँग्रेसले बहुमत वडासहित मेयर उपमेयर जितेको चौदण्डीगढीमा एमालेले ठ्याक्कै घडीको उल्टो सुई घुमेसरह मेयर उपमेयरसहित बहुमत वडामा विजयी हासिल गरेको छ।  

सार्वजनिक परिणाम अनुसार मेयरमा कालुमान लामा काँग्रेसभन्दा ८ सय २७ मतान्तरले विजयी भएका छन्। त्यसैगरी उपमेयरमा एमालेकै मणिकादेवी दुलाल भारी मतान्तरले जितेकी छिन्। अन्य स्थानीयतहमा जस्तो गठबन्धन गर्न खोजे पनि नमानेको काँग्रेस चौदण्डीगढीमा एक्लै चुनाव लडेको थियो। काँग्रेसका मेयर उम्मेदवार खगेन्द्र राईले ८ हजार १२ मत पाउँदा लामाले ८ हजार ८ सय ६३ मत ल्याएर विजयी हुन सफल भएका छन्।  

उपमेयरमा पनि एमालेकी दुलालको भन्दा काँग्रेसकी रीताकुमारी चौधरीले धेरै कम मत पाएकी छिन्। चौधरीले ७ हजार ७ सय ६० मत पाउँदा दुलालले ९ हजार ५ सय ६६ मत पाएकी छिन्। काँग्रेसका उम्मेदवार राई र चौधरी निवर्तमान मेयर तथा उपमेयर हुन्।  

काँग्रेसबाहेकको गठबन्धनतर्फबाट मेयरमा उठेका एकीकृत समाजबादीका उम्मेदवार नरेन्द्र राउतले ४ हजार ३ सय ७५ मत पाएका छन् भने उपमेयरमा माओबादीकी हीरा थापा तिम्सीनाले ३ हजार ७ सय ११ मत ल्याएकी छिन्। माओबादीका स्वतन्त्र मेयर उम्मेदवार कमलध्जव राईले ६ सय २१ र राप्रपाका रामप्रसाद आचार्यले ४ सय ७९ मत ल्याएका छन्। उपमेयरमा राप्रपाकी रेखाकुमारी ठाकुरले ५ सय १३ मत पाएकी छिन्।  

१० वटा वडा रहेको चौदण्डीगढीमा एमालेकै वर्चश्व कायम भएको छ। ०७४ मा ९ नं. वडामा मात्र विरुवा रोपेको एमालेले यस पटक एउटाबाहेक सबै कब्जा जमाएको छ। यसअघि काँग्रेसबाट १, ३, ४, ७ र १० मा वडाध्यक्ष जितेको थियो भने माओवादीले २, ५ र ६ मा जितेको थियो। यो चुनावमा मेयर उपमयेरसहित ७ वडामध्ये ३ र ६ बाहेक सबै वडा काँग्रेसले गुमाउनु परेको छ।  

एमालेबाट वडाध्यक्ष जित्नेहरुमा १ नं. मा सीताराम राई, २ मा हरिबहादुर खड्का, ४ मा लुङ्गाराज राई, ५ मा तुलसीराम ढकाल, ७ मा केशव अधिकारी, ८ मा भवनाथकुमार मगर, ९ मा प्रकाश राउत र १० मा धर्मेन्द्र खड्का रहेका छन्। काँग्रेसबाट ३ नं. मा पर्शुराम राई र ६ मा अम्बरबहादुर खड्का वडाध्यक्ष जितेका छन्।  

जिल्लाका ८ मध्ये २ नगर र ४ गाउँपालिकाको नतिजा सार्वजनिक भईसक्दासम्म एमालेले ५ वटा किल्ला गुमाईसकेको छ। यसअघि नतिजा सार्वजनिक भएकाहरुमा बेलका नगरमा गठबन्धनबाट काँग्रेसले मेयर जित्दा उपमेयर एमालेले पाएको छ भने रौतामाई, लिम्चुङबुङ र ताप्लीमा गठबन्धनबाटै माओबादीले अध्यक्ष र काँग्रेसले उपाध्यक्ष जितेको छ। 

उदयपुरगढीमा गठबन्धनकै तर्फबाट एकीकृत समाजबादीले अध्यक्ष जित्दा काँग्रेसले उपाध्यक्ष हात पारेको छ। ६ स्थानीयतहमध्ये चौदण्डीगढीमा नयाँ किल्ला कायम गर्न सफल भएपछि निरासिएका एमाले कार्यकर्तामा उत्साह जागेको छ।  

उता कटारी नगरपालिकामा ४ वडाको गणना सकिदा मेयरमा गठबन्धनका काँग्रेस उम्मेदवार राजेशचन्द्र श्रेष्ठले १ सय ३४ मतले एमालेका ज्ञानेन्द्र श्रेष्ठभन्दा अग्रता लिईरहेका छन्। राजेशलाई १ हजार ५ सय ९ मत पर्दा ज्ञानेन्द्रलाई १ हजार ३ सय ७५ मत परिरहेको निर्वाचन अधिकृत राजकुमार राउतले बताएका छन्। घोषित भएका ४ वटा वडातर्फ एउटामा माओबादी र बाँकी ३ मा एमाले विजयी भएका छन्।  

वडा नं. ११ मा एमालेका अनन्त हायु माओबादीका दिपक बुढाक्षेत्रीलाई झिनो मतान्तरले पराजित गर्दै वडाध्यक्ष जितेका छन्। उनलाई ४ सय १५ मत पर्दा बुढाक्षेत्रीलाई ४ सय १२ मत परेको छ। त्यसैगरी १२ मा ४ सय ६७ मत ल्याएर माओबादीका यम्बरबहादुर कटुवाल वडाध्यक्ष जितेका छन्। उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका क्षेत्रबहादुर कार्कीले ३ सय ४१ मत पाउँदा एमालेका यमरबहादुर बस्नेले २ सय १४ मत पाएका छन्।  

१३ र १४ नं. वडामा एमालेकै शम्भु श्रेष्ठ र अम्बर मगर वडाध्यक्ष जितेका छन्। श्रेष्ठले ४ सय ८९ मत ल्याएर जित्दा माओबादीका बिबेक श्रेष्ठलाई ४ सय ५ मत परेको छ। १४ मा मगरले ७ सय ५३ मत ल्याएर विजयी हुँदा काँग्रेसका ढाकुरबहादुर मगरलाई ५ सय ५१ मत परेको छ।

प्रकाशित: ५ जेष्ठ २०७९ ०७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App