५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

ताप्लेजुङका सबै पालिकाको नतिजा सार्वजनिक

फुङलिङ नगरपालिकाको मेयरमा निर्वाचित अमिर मादेन विजयी र्‍यालीका क्रममा।

ताप्लेजुङका सबै नौ स्थानीय तह सबैको नतिजा आएको छ। जस अनुसार कांग्रेसले फुङ्लिङ नगरपालिकासहित चार स्थानका प्रमुख र दुई स्थानमा उपप्रमुख जितेको छ। एमालेले तीन पालिका प्रमुख र तीन पालिका उपप्रमुख पद जितेको छ।

माओवादी केन्द्रले तीन प्रमुख र तीन उपप्रमुख पद जितेको छ भने नेकपा एसले एक उपप्रमुख पद जितेको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले फुङलिङ नगरपालिकासहित पाँच प्रमुख र पाँच उपप्रमुख पद जितेको थियो।

त्यो बेलाको तुलनामा एमालेले दुई प्रमुख र दुई उपप्रमुख पद गुमाएको छ। उतिबेला चार प्रमुख र दुई उपप्रमुख जितेको कांग्रेस यो पटक त्यतिमै सिमित छ। उतिबेला कांग्रेसले नगरपालिका गुमाएको थियो, अहिले त्यहाँ विजयी भएको छ।

दुई उपप्रमुखमा मात्र सिमित भएको माओवादी केन्द्रलाई यसपटकको गठबन्धनले निकै लाभ दिएको छ। यो स्थानीय तहको निर्वाचनबाट माओवादी केन्द्रले २०७४ साल भन्दा दुई प्रमुख र एक उपप्रमुख पद थपेको छ। एमालेबाट छुट्टिएर जाँदा दुई पालिका उपप्रमुख लिएर गएको नेकपा एस अहिले पालिकाका एक उपप्रमुखमा सिमिति भएको छ।

गठबन्धले उसलाई एक पदाधिकारी मात्र दिएको थियो। फुङलिङ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अमिर मादेन निर्वाचित भएका छन्। उपप्रमुखमा एमालेकी भीमादेवी ओझा निर्वाचित भइन्। सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया (बन्दना) निर्वाचित भइन्।

फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बू (मुक्ति) निर्वाचित भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका रविन साम्रा लिम्बू निर्वाचित भएका छन्। यता मेरिङ्देन गाउँपालिकामा कांग्रेस विजयी भएको छ। कांग्रेसका युकहांवीर (डम्बर) हाङगाम र उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गाप्रसाद श्रेङचोङ्गवाङ निर्वाचित भए।

आठराइ त्रिबेणी गाउँपालिकाको अध्यक्षमा एमालेका दीपेन पोमू र उपाध्यक्षमा एमालेकै शान्ताकुमारी आङ्बुहाङ निर्वाचित भइन्। सिरिङजङ्गा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लालकृष्ण चौहान र उपाध्यक्षमा माओवादीका डाक्टर चित्र मावो निर्वाचित भए। मिक्वाखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भक्तबहादुर कार्की र उपाध्यक्षमा माओवादी केन्द्रका डण्डु शेर्पा निर्वाचित भए।

पाथीभरा याङ्वरक गाउँपालिकाको अध्यक्षमा एमालेका केशरकुमार सुब्बा र उपाध्यक्षमा रनमाया गुरुङ दोहोरिएका छन्। मैवाखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका बिजयप्रकाश वनेम र उपाध्यक्षमा कांग्रेसका कमलकुमारी लिम्बू निर्वाचित भइन्।  

वडाध्यक्षतर्फ एमाले पहिलो

एमालेले २०७४ सालको स्थानीय तहको निर्वाचन बराबर नै वडाध्यक्ष निर्वाचित गराउन सफल भएको छ। यहाँका ६१ वटा वडामध्ये एमालेले २९, कांग्रेसले १५, माओवादी केन्द्रले १०, स्वतन्त्रबाट चार, नेकपा एसबाट दुई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एकजना वडाध्यक्ष निर्वाचित भएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App