१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माधव नेपालको गृह वडामा एकीकृत समाजवादी विजयी

रौतहट सदरमुकाम गौरको मतगणना सुस्त गतिमा चलिरहँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ। शुक्रबार रातिदेखि नै मतगणना सुरु गरिए पनि आइतबार दिउँसोसम्म दुई वडाको मतगणना सकिएको छ।

दुवै वडामा नेकपा एसले वडाध्यक्षसहित सबै सदस्य पदमा जित हासिल गरेको छ। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको गृह पालिका गौरको गृह वडा नम्बर २ मा नेकपा एसको सम्पूर्ण प्यानल नै विजयी भएको छ। अध्यक्ष नेपाल खेले हुर्केको वडामा नेकपा एसका विनोदप्रसाद जयसवाल वडाध्यक्षमा निर्वाचित भएका हुन्।

नेकपा एस, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर रहेको भनिएको नेपालको गृह वडामा नेकपा एसका उम्मेदवारले सजिलो जित हासिल गरेका छन्। गत शुक्रबार नेपालले मतदान गरेको वडामा नेकपा एसले विजयी प्राप्त गरेपछि खुसियाली पनि मनाइएको छ।

वडामा खसेको कूल १६३४ मत मध्ये नेकपा एसका वडाध्यक्ष उम्मेदवार जयसवालले ५९३ मत पाएर विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसले ४३८ मतमा सीमित हुनु परेको छ। देशभरका प्रमुख वडाको मतगणना परिणामको विषयमा चासो भइरहँदा नेकपा एसका माधवकुमार नेपालको वडालाई निकै चासो साथ हेरिएको थियो। माधव नेपालको गृह वडामा नेकपा एसका मेयर उम्मेदवार शम्भु साह कानुले ७७८ मत प्राप्त गरेका छन्।

मेयर उम्मेदवार कानुले आफ्नो वडामा ११४७ मत प्राप्त गरेका थिए। गौर नगरपालिकामा वडा नम्बर १ र २ को मतगणना सकिएर मत परिणाम सार्वजनिक हुँदा मेयरमा नेकपा एसका शम्भु साह कानुले १९२५, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अजयकुमार गुप्ताले ६३२ तथा नेपाली कांग्रेसका मोहन यादवले ६०८ मत प्राप्त गरेका छन्। गौर नगरपालिका १ को वडाध्यक्षमा पनि सम्पूर्ण प्यानलसहित नेकपा एस विजय हासिल गरेको थियो।

प्रकाशित: १ जेष्ठ २०७९ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App