३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचनः कास्कीका ५० मतदान केन्द्र अति संवेदनशील

कास्कीका एक तिहाई मतदान स्थल अति संवेदनशील मतदान स्थलका रुपमा पहिचान गरिएको छ। निर्वाचन सुरक्षा समिति कास्कीले जिल्लाका १५० मतदान स्थल मध्ये ५० वटा मतदान स्थल अति संवेशनशील मतदान स्थलका रुपमा पहिचान गरेको हो।

अति संवेदनशील मतदान स्थलका रूपमा पहिचान भएका मतदान स्थल प्राय सबै ग्रामिण क्षेत्रका मतदान स्थल रहेको निर्वाचन सुरक्षा समिति श्रोतले जनाएको छ। त्यस्तै, बाँकी १ सय मतदान स्थलमध्ये आधा मतदान स्थल संवेदनशील र आधा सामान्य मतदान स्थलका रुपमा पहिचान गरिएको छ।

मतदान स्थल मध्ये पोखरा महानगरपालिकाका सुगम वडाहरुमा रहेका मतदान स्थलहरुलाई सामान्य मतदान स्थलका रुपमा राखिएको छ। सुगम वडाहरुसँग जोडिएका मतदान स्थलहरुलाई संवेदनशील र बाँकी वडामा रहेका मतदान स्थलहरुलाई अति संवेदनशील मतदान स्थलका रुपमा राखिएको श्रोतको भनाई छ । यद्वपी सुरक्षा समितिले यसबारे जानकारी दिन नमिल्ने बताएको छ।

निर्वाचन सुरक्षा समितिले बाटोको दुरी, भौगोलिक अवस्था, विगतको घटना, हालको सुरक्षा अवस्थालगायतलाई हेरेर मतदान स्थलहरुलाई अति संवेदनशील, संवेदनशील र सामान्य अवस्थाका मतदान स्थलका रुपमा वर्गिकरण गरेको कास्की प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए।

कास्कीमा एक तिहाई मतदान स्थल अति संवेदनशील मतदान स्थलका रुपमा भएपनि ति मतदान स्थलमा सुरक्षा थ्रेट भने नभएको डिएसपी तिवारीले बताए। उनले भने, 'कास्कीका कुनैपनि मतदान स्थलमा सुरक्षा थ्रेट छैन। तर सम्भावित थ्रेटलाई ख्याल गरेर सुरक्षा व्यवस्था मजबुत पारेका छौं।’ सम्भावित थ्रेटमा निर्वाचन बहिस्कार गरेका पार्टीदेखि निर्वाचनमा भाग लिएका तर बल प्रयोग गर्न खोज्नेसम्मका समूहलाई पहिचान गरेर निगरानी गरिरहेको उनको भनाई छ।

कास्कीमा मतदान स्थलको सुरक्षा घेरा तीन तहको बनाइएको छ। जसमा पहिलो घेरामा नेपाल प्रहरी हुनेछ। जसलाई म्यादी प्रहरीले सघाउने छ भने बिच घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने जनाइएको छ।

कास्कीमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण रहेको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले बताए। उनका अनुसार बुधबार दिउँसो २ः४५ बजेसम्ममा कास्कीका सबै मतदान स्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्। 'हाम्रो ध्यान भनेको शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्ने र मतपेटिका मतगणना स्थलसम्म ल्याउनमा केन्द्रीत छ। त्यसका लागि सबै व्यवस्था  मिलाइसकेका छौं’–उनले भने।

उनले मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गरेर मतगणना स्थलसम्म लैजान शुरु गरिने र राति १२ बजेभित्रै कास्कीका सबै मतदान स्थलबाट मतपेटिका मतगणना स्थलसम्म पुर्‍याईसकिने दाबी गरे। उनका अनुसार कास्कीका मादी गाउँपालिकाको गोर्जे तथा मादी र रुपा गाउँपालिकाको सीमा क्षेत्र रबैडाँडा मतदान स्थलबाट मतपेटिका मतगणना स्थल ल्याइपुर्‍याउन समय लाग्नसक्ने आँकलन गरिएको छ। मटपेटिका मतगणना स्थलसम्म ल्याउन सम्भावित खराब मौसमका कारण सडकमा आउने समस्यालाई ध्यानमा राखेर डोजरलगायत तैनाथमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

कास्कीमा १५० मतदान स्थलमा ३३६ वटा मतदान केन्द्र रहेका छन्। जस अनुसार पोखरा महानगरपालिकामा ९८ मतदान स्थलमा २४२ मतदान केन्द्र, अन्नपूर्ण गाउँपालिकामा १५ मतदान स्थल र २६ मतदान केन्द्र, माछापुच्छे गाउँपालिकामा १२ मतदान स्थलमा २५ मतदान केन्द्र, मादी गाउँपालिकामा १७ मतदान स्थलमा २५ मतदान केन्द्र र रुपा गाउँपालिकामा ८ मतदान स्थलमा १८ मतदान केन्द्र तोकिएको छ।

पोखरा महानगरपालिकाको मतगणना स्थल जिल्ला समन्वय समिति कास्कीको हल र पोखरा उपत्यका नगर विकास समितिको हललाई तोकिएको छ। त्यस्तै, अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थल कृषि अनुसन्धान केन्द्र लुम्ले तथा मादी र रुपा गाउँपालिकाको मतगणना स्थल सम्बन्धित गाउँपालिकाको प्रशासकीय भवनलाई तोकिएको छ।

प्रकाशित: २८ वैशाख २०७९ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App