३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

समयमै सूचना प्राप्त भए मात्रै समस्या समाधानको रणनीति बनाउन सकिन्छः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले सत्य, तथ्य, सूचना समयमै प्राप्त गरेमा मात्रै अकल्पनीय घटना घट्न नदिन र घटना घटिहालेमा पनि समस्या समाधानका लागि तत्काल रणनीति बनाउन सक्ने बताएका छन्।

राष्ट्रिय अनुसन्धान विभागको हिजाे निरीक्षणपछि गृहमन्त्री खाणले सत्यतथ्य सूचना जतिसक्यो छिटो सरकारसम्म पुर्‍याउन राष्ट्रिय अनुसन्धान विभाग प्रविधियुक्त, सक्षम र सवल हुनुपर्ने बताए। नेपालमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत घटनाक्रम र त्यसले पार्न सक्ने प्रभावबारे विश्लेषणसहितको सूचना बेलैमा पाएमा मात्रै त्यसलाई रोक्न सरकारले रणनीति बनाउन सक्ने उनको भनाइ थियाे।

अनुसन्धान विभागले राष्ट्रिय, अन्तर्राष्ट्रिय सूचना तथा त्यसले पार्ने प्रभावको विश्लेषण गरी सरकारलाई उपलब्ध गराउँदै आएको र आगामी दिनमा योभन्दा प्रभावकारी सूचना र विश्लेषण दिने विश्वासमा सरकार रहेको बताए।

'विश्वमा प्राकृतिक स्रोत साधनको उपयोग, राजनीतिक, सामाजिक, आर्थिक, आपराधिक र प्रविधिबारे के कस्ता नयाँ सूचना के आएका छन्, त्यसको प्रभाव के पर्छ यसबारे राष्ट्रलाई जानकारी हुनु आवश्यक छ,' गृहमन्त्री खाणले भने।

राज्यलाई तत्काल सथ्यतथ्य सूचना उपलब्ध गराउने अनुसन्धान विभाग अमूल्य अङ्ग भएको गृहमन्त्री खाणले बताए। अनुसन्धान विभाग कमजोर भएमा मुख्यगरी राज्यको सूचना प्रणाली कमजोर हुने र सूचना प्रणाली कमजोर भए समग्र राज्य प्रणाली कमजोर हुने गृहमन्त्री खाणले बताए। लोकतान्त्रिक शासन व्यवस्थामा आवधिक रूपमा सरकार परिवर्तन हुन स्वाभाविक भए पनि सरकार परिवर्तनले विभागलाई असर पार्न नहुँने उनले बताए।

मुलुक स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले निर्वाचनलाई स–साना घटनाले प्रभाव पार्ने बताए। घटना घट्न सक्ने पूर्वानुमान र घटना घटिहालेमा समयमै सूचना प्राप्त भएमा तत्काल समाधान खोज्ने रणनीति बनाउन सकिने भन्दै उनले त्यो काम अनुसन्धान विभागले गर्न सक्ने बताए।

गृहसचिव टेकनारायण पाण्डेले पछिल्लो समय प्रविधिको विकाससँगै सुरक्षा चुनौती बढेको भन्दै त्यो चुनौतीलाई तत्काल समाधान गर्न सत्य तथ्य सूचना बेलैमा आइपुग्न आवश्यक रहेको बताए। उनले राष्ट्रिय अनुसन्धान विभागलाई प्रविधिको प्रयोग गरी सबै स्थानका सूचना एकै स्थानमा बसेर सङ्कलन गर्ने संयन्त्रको विकास गर्नतर्फ लाग्न आग्रह गरे। अनुसन्धान विभागले उपलब्ध गराउने सूचना अझ परिस्कृत गर्न आवश्यक रहेको उनको भनाइ थियो।

गृहमन्त्री खाण, गृहसचिव पाण्डेसहितको टोलीलाई विभागका मुख्य अनुसन्धान अधिकृत यदुलाल खरेलले विभागको वर्तमान अवस्था र इतिहास, विभागका जिम्मेवारी, अहिलेका सुरक्षा चुनौति र सरकारले गर्नुपर्ने कामबारे अवगत गराएका थिए थिए।  रासस

प्रकाशित: २६ वैशाख २०७९ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App