१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कहाँकहाँ दोहोरियो उम्मेदवारी

प्रमुख राजनीतिक दलहरूले काठमाडौं उपत्यकामा झन्डै तीन दर्जन नेतालाई स्थानीय तहको निर्वाचनमा दोहोर्‍याएर उम्मेदवार बनाएका छन्। २०७४ को स्थानीय तहको निर्वाचनमै उम्मेदवार बनेका पार्टी नेताहरूले फेरि सोही पदमा दोहोर्‍याएका हुन्।

अघिल्लो निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने मात्र होइन, परिणाम आफ्नो पक्षमा ल्याउन नसकेका नेतालाई पनि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलबाट मेयर र उपमेयर पदमा उम्मेदवार बनाएका हुन्। त्यसरी उम्मेदवार बन्ने नेताको संख्या ३० भन्दा बढी छ। 

भक्तपुरको भक्तपुर नगरपालिकामा मेयर र उपमयेरका उम्मेदवार सुनिल प्रजापति र रजनी जोशीले फेरि उम्मेदवारी दिएका छन्। प्रजापति र जोशीले मेयर र उपमेयरबाट राजीनामा दिएर पुरानै पद मेयर र उपमेयरमा उम्मेदवारी दिएका हुन्। दोस्रो कार्यकालमा पनि पहिलकै पदमा निर्वाचित हुने उनीहरूको चाहना छ। नेपाल मजदुर किसान पार्टीबाट प्रजापति र जोशीले उम्मेदवारी दिएका हुन्।

मेयर र उपमेयर मात्र होइन, भक्तपुरका १० वटा वडामध्ये ७ वटामा नेमकिपाबाट दोहोरिएर उम्मेदवारी परेको छ। १ नम्बर वडाबाट श्यामकृष्ण खागी, २ बाट हरिप्रसाद बासुकला, ३ बाट राजकृष्ण बोहारा, ६ बाट हरिप्रसाद सुवाल तथा ९ बाट रवीन्द्र ज्याख्योले वडाध्यक्षमा फेरि उम्मेदवारी दिएका छन्। ‘पार्टीले गरेको निर्णय हामीले मानेका हौं’ मेयरका उम्मेदवार प्रजापतिले भने, ‘यो हाम्रो चाहनाभन्दा पनि पार्टीको निर्णय हो।’ यसपटक पनि आफूहरू विजयी हुनेमा उनीहरू ढुक्क छन्। ‘हामीले राम्रो काम गरेका छौं। दोहोरियौ भने हामीले गरेको कामले निरन्तरता पाउने छ’, उनले भने।

स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकामा मात्र यो अवस्था होइन, ठाउठाउँमा दोहोरिएर उम्मेदवारी दिएका छन्। अघिल्लो कार्यालयमा चुनाव हारेकाहरूले पनि दोहोरिएर उम्मेदवारी दिएको उदाहरण ठाउँठाउँमा छ। भक्तपुर नगरपालिकाकै प्रसंग कोट्याउँदा कांग्रेसबाट भक्तपुर नगरपालिकामा मेयरमा उम्मेदवारी दिएका रामप्रसाद कसुलाले पनि दोहोरिएर उम्मेदवारी दिएका छन्। ‘भक्तपुर जिल्लाभर दोहोरिएर उम्मेदवारी दिएका भक्तपुर नपामा मात्र हो। अरू सबै ठाउँमा नयाँ उम्मेदवारी दिएका छौं’, कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले भने।

भक्तपुरमा नेकपा (एमाले) ले पनि दोहोर्‍याएर उम्मेदवारी दिएको छ। मध्यपुर थिमीमा एमालेका उम्मेदवारी मदन सुन्दर श्रेष्ठले दोहोरिएर मेयर पदमा उम्मेदवारी दिएका छन्। २०७४ को चुनावमा यस नपामा मेयरमा श्रेष्ठ विजयी भएका थिए। पुरानै पदमा फेरि विजयी हुने उनको चाहना छ।

सूर्यविनायक नगरपालिकमा पनि एमालेले दोहोर्‍याएर उम्मेदवारी दिएको छ। यस नपामा बासुदेव थापालाई एमालेले दोहोर्‍याएर मेयरमा उम्मेदवारी दिएको छ। चाँगुनारायण नपामा भने अघिल्लोपटक उपमेयरमा चुनाव जितेकी बिना बास्तोलाले यसपटक मेयरमा उम्मेदवारी दिएकी छन्। उनले यसपटक एमालेबाट उम्मेदवारी दिएकी छन्। अघिल्लोपटक पनि उनले सोही पार्टीबाट उम्मेदवारी दिएकी थिइन्।

ललितपुर महानगरपालिकामा पनि कांग्रेस र एमालले दोहोर्‍याएर उम्मेदवारी दिएका छन्। यस महानगरमा कांग्रेसबाट चिरिबाबु महर्जन तथा एमालेबाट हरिकृष्ण व्यञ्जनकारले दोहोर्‍याएर मेयर पदमा उम्मेदवारी दिएका छन्। २०७४ को निर्वाचनमा पनि महर्जन र व्यञ्जनकारबीचमै प्रतिस्पर्धा भएको थियो। त्यसबेला महर्जनले चुनाव जितेका थिए।

ललितपुरको बागमती गोदावरी नगरपालिकामा कांग्रेसले मेयर र उपमेयर दुवै पदमा दोहोर्‍याएर उम्मेदवारी दिएको छ। मेयरमा गजेन्द्र महर्जन र उपमेयरमा मुना अधिकारीले दोहोर्‍याएर उम्मेदवारी दिएका छन्। २०७४ को निर्वाचनमा मेयर र उपमेयरमा महर्जन र अधिकारी विजयी भएका थिए। गोदावरी नपामा अघिल्लोपटक नेकपा (एमाले) बाट मेयर पदमा उम्मेदवारी दिएका श्यामकृष्ण सिलवालले यसपटक नेकपा (एकीकृत समाजवादी) बाट उपमेयरमा उम्मेदवारी दिएका छन्।

बागमती गाउँपलिकाको अध्यक्ष पदमा वीरबहादुर ल्याप्चोनले दोहोर्‍याएर उम्मेदवारी दिएका छन्। उनले कांग्रेसबाट उम्मेदवारी दिएका हुन्। २०७४ को चुनावमा ल्याप्चोन विजयी भएका थिए। यसैगरी ललितपुरको काञ्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रबाट गोपीलाल सिन्ताङले दोहोर्‍याएर उम्मेदवारी दिएका छन्। २०७४ को निर्वाचनमा उनी मेयरमा पराजित भएका थिए। पराजित भएको पुुरानै पदमा उनले दोहोर्‍याएर उम्मेदवारी दिएका छन्।

काठमाडौंको दक्षिणकाली, चन्द्रागिरि, नागार्जुन, कीर्तिपुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकामा कांग्रेसले दोहोर्‍याएर उम्मेदवारी दिएको छ। टोखामा अघिल्लोपटक उपमेयरमा उम्मेदवारी दिएकी रजनी थापाले यसपटक मेयर पदमा उम्मेदवारी दिएकी छन्। उनले कांग्रेसबाट मेयर पदमा उम्मेदवारी दिएकी हुन्।

कांग्रेसले दक्षिणकालीमा मेयरमा मोहन बस्नेत, चन्द्रागिरिमा घनश्याम गिरी, नागाजुर्नमा मोहनबहादुर बस्नेत, कीर्तिपुरमा राजकुमार नकर्मी, कागेश्वर मनोहरामा मेयरमा उपेन्द्र कार्की तथा गोकर्णेश्वरमा सन्तोष चालिसेलाई मेयरमा उम्मेदवार बनाएको छ। यी सबै उम्मेदवार दोहोरिएका हु्न्। एमालेले पनि ठाउँठाउँमा दोहोर्‍याएर उम्मेदवारी दिएको छ। काठमाडौंको तारकेश्वर नपामा मेयर र उपमेयर दुवै पदमा एमालेले दोहोर्‍याएर उम्मेदवारी दिएको छ। मेयरमा रामेश्वर बाहेरा र उपमेयरमा भगवती डोटेलले दोहोर्‍याएर उम्मेदवारी दिएका छन्। २०७४ को चुनावमा बोहरा र डोटेलले मेयर र उपमेयरमा उम्मेदवारी दिएका थिए।

यसैगरी टोखा नगरपालिकाको मेयरमा पनि एमालेले दोहो¥याएर उम्मेदवारी दिएको छ। टोखामा प्रकाश अधिकारीलाई एमालेले दोहोर्‍याएर मेयरमा उम्मेदवारी दिएको छ। यसैगरी जनता समाजवादी पार्टीले पनि दोहोर्‍याएर उम्मेदवारी दिएको छ। जसपाले कीर्तिपुर नपाको उपमेयरमा शुभलक्ष्मी शाक्यलाई दोहोर्‍याएर उम्मेदवारी दिएको छ। अघिल्लोपटक पनि शाक्यले उपमेयर पदमा उम्मेदवारी दिएकी थिइन्। ललितपुरमा भने जसपाले दोहोर्‍याएर कसैलाई उम्मेदवारी दिन नलगाएको जसपा ललितपुरका अध्यक्ष सुरेन्द्र महर्जनले बताए।

काठमाडौंमा मात्र होइन, बाहिर पनि ठाउँठाउँमा दोहोर्‍याएर उम्मेदवारी परेका छन्। भरतपुर महानगरमा मेयर पदमा माओवादी केन्द्रबाट रेणु दाहालले दोहोर्‍याएर उम्मेदवारी दिएकी छन्। वीरगन्जमा राजेशमान सिंह र विजयी सरावगीले दोहोर्‍याएर मेयर पदमा उम्मेदवारी दिएका छन्। यसपटक सिंहले जसपा र सरावगीले एमालेबाट उम्मेदवारी दिएका छन्। अघिल्लोपटक सरावगीले तत्कालीन समाजवादी र सिंहले तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। त्यतिखेर सरावगी विजयी भएका थिए।

प्रकाशित: २६ वैशाख २०७९ ००:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App