९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

लहान मेयरमा नयाँ र पुराना अनुहारबीच प्रतिस्पर्धा

नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा लहान नगरपालिकाको मेयरमा लड्ने तयारीमा थिए महेश चौधरी। उनी चुनाव जितेर नगरमा विकास र सवृद्धिको यात्रा चलाउन चाहन्थे। तर उनले त्यो निर्वाचनमा मेयरको टिकट पाएनन्। त्यो अवसर पाउन उनले पाँच वर्ष कुर्नुपर्‍यो।

यसपटकको स्थानीय निर्वाचनमा उनी कांग्रेसबाट लहानको मेयरका लागि उम्मेदवार छन्। सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका चौधरी पहिलो ‘इनिङ’ का लागि एमालेका उम्मेदवार मुनि साह सुडीसँग प्रतिस्पर्धा गर्दै छन्। साह तेस्रो ‘इनिङ’ का लागि प्रतिस्पर्धा गर्दैछन्।

मेयरका लागि नयाँ उम्मेदवार चौधरीले लहानको रुप फेर्न विभिन्न योजना अघि सारेका छन्। कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनका साझा उम्मेदवार चौधरीले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, कृषि, पर्यटन विकास लगायत योजनाको फेहरिस्त प्रस्तुत गरेका छन्।

गठबन्धनबाट उपमेयरका लागि जसपाका रामचलित्र महतो उम्मेदवार छन्। उनी पनि नयाँ अनुहार हुन्। गठबन्धनको घोषणापत्रमा लहानवासीको साझा समस्या बाल बिटौरी, गाउँ ब्लक र सहरी विकासका कुरा समाधान गर्ने उल्लेख छ।

व्यवसायिक करमा ५० प्रतिशत छुट दिने, सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने सरकारी नीति पूर्णरुपमा कार्यान्वयन गर्ने, सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पठनपाठनको व्यवस्था गर्ने, विद्यालयका कर्मचारी, बाल विकास शिक्षक र कार्यालय सहयोगीको तलब सरकारले घोषणा गरेबमोजिम बनाउने प्रतिबद्धता पनि गठबन्धनको घोषणापत्रमा गरिएको छ।

नगरमा एक प्राविधिक विश्वविद्यालय स्थापना गर्ने पनि घोषणापत्रमा लेखिएको छ। त्यस्तै दलित तथा विपन्न समुदायका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने, विपन्न नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, सार्वजनिक स्वास्थ्य संस्थाको भौतिक संरचना र सेवामा सुधार गर्ने, क्यान्सर, ब्रेन र मुटुको शल्यक्रिया गराउनुपर्ने अवस्थाका बिरामीलाई नगरका तर्फबाट एकएक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने, आङ खस्ने समस्या भएका महिलाको पहिचान गरी निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता पनि गठबन्धनले गरेको छ।

कृषिमा आत्मनिर्भरता बढाउन भूमि बैंक स्थापना गरी भूमिहीन, सुकुम्वासी एवं कृषि श्रमिकलाई जग्गा भाडामा लिएर खेती गर्ने व्यवस्था मिलाउने घोषणापत्रमा उल्लेख छ। खेतीयोग्य जमिन सिँचाइका लागि निःशुल्क बिजुली उपलब्ध गराउने, बाली, पशु, माछापालन, फलफूल खेतीको बिमा गर्न सरकारले अनुदान दिने ८० प्रतिशतमा नगरपालिकाले २० प्रतिशत थपेर सबै किसानलाई बिमाका लागि प्रोत्साहन गर्ने प्रतिबद्धता पनि गठबन्धनले गरेको छ।

सिँचाइ अभाव र विपद्का कारण उत्पादनमा कमी आएमा किसानलाई स्थानीय भूमिकर मिनाहा दिने, किसानलाई खेतीका लागि २५ हजारदेखि १ लाख रुपैयाँसम्म निव्र्याजी सापटीको व्यवस्था गर्ने प्रतिबद्धता पनि गठबन्धनका उम्मेदवारले गरेका छन्। आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन गर्दै उद्यमशीलता र उद्योग विकास गरी वार्षिक १ हजार जनालाई प्रत्यक्ष रोजगारी दिने घोषणापत्रमा उल्लेख छ।

ज्येष्ठ नागरिकलाई घरघरमै वृद्धभत्ता उपलब्ध गराउने बन्दोबस्त मिलाउने, विपन्न एवं अपांगता भएकालाई घरघरमा गएर नागरिकता वितरण गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा घुम्ती शिविर प्रत्येक वर्ष सञ्चालन गर्ने, गर्भवती पोषण भत्ता दस हजार र एकल महिलालाई वार्षिक पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउनेलगायतका विषयमा पनि गठबन्धनको प्रतिबद्धता छ।

यसअघि लहान नगरको दुई पटक नेतृत्व गरी फेरि तेस्रो पटकका लागि मेयरमा प्रतिस्पर्धा गरिरहेका एमालेका मुनि साह सुडीले पनि विगतमा आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त प्रस्तुत गर्दै मतदातालाई आफ्नो पक्षमा पार्ने कसरत गर्दै छन्। उनले लहान नगरपालिका–१ साबिकको तरकारी बजारमा सलहेश दिनाभर्दी सपिङ कम्प्लेक्स निर्माण गरेको, लहान नगरपालिका–७ मा विद्यापति भानुभक्त वाचनालय निर्माण गरेको घोषणापत्रमा उल्लेख गरेका छन्।

खुट्टी खोला सिँचाइ नहर निर्माण, लहान बजारमा घन्टाघर निर्माणलाई साहले आफ्नो कार्यकालको मुख्य कामका रुपमा प्रस्तुत गरेका छन्। नगर विकास सहरी योजना अन्तर्गत पहिलो फेजको काम सम्पन्न र दोस्रो फेजको कार्यको सुरुवात, नगरबस सञ्चालन, झन्डा पार्क निर्माणलाई पनि उनले मुख्य कामकै रुपमा व्याख्या गरेका छन्।

चक्रपथ निर्माण कार्यको शिलान्यास, लहान बजारमा मल्टिमिडिया सूचना पाटी जडान र किसानलाई विद्युत् महसुलमा सहुलियत दिएको कुरालाई लिएर उनी मतदाताको घरदैलामा पुगिरहेका छन्। लहान नगरपालिकाका २४ वटा वडामा ५६ हजार मतदाता छन्। जसमा करिब ८ हजार थारु समुदायको मत छ। एकल जातीय हिसाबले थारुको मत अरुको भन्दा बढी छ।

मधेसको चुनावी ‘फ्याक्टर’

मधेसमा चुनाव जित्न नातासम्बन्ध, धन र जातीय मतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विगतमा पैसाले पनि यहाँको चुनावी नतिजालार्य प्रभाव पारेको अवस्था छ। स्थानीय अगुवाले पैसा लिएपछि आफ्नो पकड क्षेत्रका मत चाहेको उम्मेदवारको पक्षमा हाल्न लगाउन सक्छन्।

यो मत हासिल गर्न उम्मेदवारले समाजका अगुवालाई पैसा दिन सक्छन्। कुन टोलमा कुन अगुवासँग कति मतमा पकड छ भन्ने आधारमा उम्मेदवारले एकमुष्ट रकम दिन सक्छन्। अहिले पनि उम्मेदवारले चुनाव खर्च भन्दै ‘धन’ जुटाउन थालिसकेका छन्। यसका लागि उम्मेदवारले आफ्ना पकडका व्यापारीसँग चुनावी सहयोग माग्न थालिसकेका छन्।

‘उम्मेदवार बनेको छु, सहयोग चाहिन्छ है’ भनेर उम्मेदवारले भन्न थालेको लहानका एक व्यापारीले बताए। मधेसमा पार्टीको सांगठनिक मतले त्यति ठूलो प्रभाव नपार्ने स्थानीयको भनाइ छ। स्थानीय चुनावमा जात र नातासम्बन्ध हेरेर मत खसाल्ने चलन छ मधेसमा। भोट जस्तो महत्त्वपूर्ण कुरा नाता सम्बन्धलाई नै दिनन रुचाउँछन् यहाँका मतदाता।

चुनावी परिणाममा उम्मेदवारको व्यक्तित्व पनि महत्त्वपूर्ण पक्ष मानिन्छ। स्थानीय चुनावका लागि पार्टीभन्दा स्थानीयस्तरमा भिजेका नेतालाई बढी रुचाइन्छ। अन्तिम समयमा मधेसको चुनावी नतिजा अनुमानबाहिर पनि जान सक्ने खतरा हुन्छ।

आफूले नजित्ने देखिए प्रतिस्पर्धामा दोस्रो नम्बरको उम्मेदवारलाई सघाएर पहिलो नम्बरलाई हराउने चलन पनि छ। एउटा पदमा सघाएर अर्को पदमा त्यो दल वा उम्मेदवारको समर्थन लिने चलन छ। यसलाई मत साटासाट भनिन्छ।

प्रकाशित: २५ वैशाख २०७९ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App