१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वतन्त्र उम्मेदवारीले गठबन्धन र एमालेलाई ‘टाउको दुखाइ’

आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरू गठबन्धन र एमालेका लागि ‘टाउको दुखाइ’ को विषय बनिरहेका छन्।

उदयपुरका ८ वटा पालिकामध्ये अधिकांशमा परेको स्वतन्त्र उम्मेदवारीले नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा र राजमोबीच भएको गठबन्धनलाई समस्यामा पारेको हो। सबभन्दा बढी सकस जिल्लाको कटारी नगरपालिकामा पर्ने देखिएको छ।

त्यहाँ नगर प्रमुखमा यसअघि एमालेबाट विजयी उपमेयर भीमकुमारी राउतले मेयरमा ‘बागी’ हालेकी छन्। उनको उम्मेदवारी एमालेबाट मेयरका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठलाई निकै पल्लाभारी हुने अनुमान छ। त्यस्तै गठबन्धनबाट कांग्रेसका राजेशचन्द्र श्रेष्ठ र उपप्रमुखमा माओवादीका विनोद कटुवाल उठेका छन्।

तर, गठबन्धनलाई माओवादीका प्रदेश सदस्य केपी बराल र उपमेयरमा एकीकृत समाजवादीका हृदय तामाङको उम्मेदवारीले निकै साह्रो पार्ने लगभग निश्चित छ। एमालेबाट उपमेयरमा गीता खड्काको उम्मेदवारी परेको छ भने कांग्रेसबाट कृष्ण थापाले पनि बागीमा उपमेयर मनोनयन गरेका छन्।

बराल उपमेयरमा एकीकृत समाजवादीका तामाङलाई साथ लिएर चुनावी अभियानमा होमिएका छन् भने थापा राउतसँग तालमेल गर्न नजिकिएको हल्ला बजारमा चलेको छ। समग्रमा गठबन्धन र एमाले दुवैलाई त्यहाँका स्वतन्त्र उम्मेदवारहरू टाउको दुखाइको विषय बनेको पार्टी नेताहरू नै स्वीकार्छन्।

उता पहाडी गाउँपालिका लिम गठबन्धनविरुद्ध माओवादी र कांग्रेस दुवैको बागी उम्मेदवारी परेको छ। माओवादी गाउँ पार्टी अध्यक्ष मेजरकुमार राईले जिल्ला पार्टीबाट एक्लौटी निर्णय गराएर आफैंले अध्यक्षको टिकट लिएको विद्रोहमा उनीभन्दा पुराना र इमानदार नेता होम किरातीले अध्यक्षमा बागी हालेका छन्।

जेब्रा चुनाव चिन्ह रोजेर चुनावी अभियानलाई तीव्र बनाएका उनी आफू जित नजिक पुगिसकेको दाबी गर्छन्। जनयुद्धकालदेखि माओवादी कार्यकर्ता रहेका उनी २५ बर्से योगदान मूल्यांकन नभएको र पार्टी भनेकै एकजना व्यक्ति भन्ने प्रमाणित गरेकोमा दुःख लागेको छ।

अध्यक्ष राईले गाउँ पार्टी बैठकमा छलफलै नगरी बैठक पुस्तिका लिएर भागेको बताउँदै उनले त्यसपछि एकचोटी भेटघाट र छलफल नगरी १२ गते बिहान आफैंलाई टिकट लिएर फर्केको गुनासो उनको छ।

‘वैशाख ५ गते उम्मेदवार तोक्न बसेको छलफलमा बैठक पुस्तिका खोसेर अध्यक्षज्यू भाग्नुभयो’ उनको गुनासो छ, ‘त्यसपछि कति प्रयास गर्दा बैठक बस्न सकेन। उहाँसँग फोन सम्पर्क र भेटघाट केही भएन। जिल्ला संयोजक विनोद कटुवाल र उहाँबीच केके छलफल भयो, एकैचोटी १२ गते आफैंलाई टिकट लिएर आउनुभएछ।’

आकांक्षीहरूलाई एक मिनट सँगै राखेर सामान्य छलफल गर्नसम्म गाउँ अध्यक्ष भएको नाताले मेजर र जिल्ला संयोजक कटुवालले प्रयाससम्म नगरेको र फोनसम्म नउठाएको राईको गुनासो छ। गाउँ कमिटी अध्यक्ष र जिल्ला संयोजकको यस्तो तानाशाही, एकतन्त्रीय, एकल र एकाधिकारवादी प्रवृत्तिप्रति असहमति जनाउन आफूले बागी उम्मेदवारी दिएको उनको भनाइ छ।

यसअघि पनि आफूले पाएको टिकट अर्को कार्यकालमा आफूलाई छाड्ने भद्र सहमतिमा मेजरलाई छाडिदिएको उनी बताउँछन्। यसअघिकै गाउँपालिका अध्यक्ष मेजरविरुद्ध प्रमुखमा स्वतन्त्र उम्मेदवारीले गम्भीर अप्ठेरो पारेजस्तै उपाध्यक्षमा पनि यसअघिकै उपाध्यक्ष रमिला राईको स्वतन्त्र उम्मेदवारी गठबन्धनमा कांग्रेसका उपाध्यक्ष उम्मेदवार पुष्पलाल राईलाई असहज परिस्थिति उत्पन्न भएको छ।

यद्यपि माओवादीले अध्यक्षका बागी होम र कांग्रेसले उपाध्यक्षकी बागी रमिलालाई कारबाही भने गरिसकेको छ। गत चुनावमा मेजर राई माओवादीबाट अध्यक्ष जित्दा रमिलाले कांग्रेसबाट उपाध्यक्ष जितेकी थिइन्। पुष्प अघिल्लो चुनावमा कांग्रेसका पराजित अध्यक्ष उम्मेदवार हुन् भने होम आफूलाई आएको टिकट मेजरलाई सुम्पेर हार्दिकता देखाएका फराकिलो सोचका नेता हुन्।

यी दुई स्थानीय तह विद्रोही उम्मेदवार उठेका प्रतिनिधि पालिका मात्र हुन्। अन्य ६ वटा स्थानीय तहमा पनि प्रशस्तै बागी उम्मेदवारी परेको छ। प्रमुख र उपप्रमुखबाहेक वडाध्यक्षदेखि सदस्यसम्ममा बागी उम्मेदवारी पर्नाले यसपटकको चुनावमा गठबन्धन र एमाले दुवै पक्षलाई हैरान बनाउने लक्षण देखिएको छ। 

प्रकाशित: २५ वैशाख २०७९ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App