७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

समाजवादीलाई गठबन्धनको भर, एमालेलाई गुटको डर

पोखरा महानगरपालिका प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार कृष्ण थापा (दायाँ)र गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य (बायाँ)।

सत्तारुढ गठबन्धनले कास्कीका बहुमत पालिका जित्ने दाबी गरेको छ। कास्कीका ५ पालिका मध्ये बहुमत पालिकामा गठबन्धन बिजयी हुने गठबन्धनको दावि छ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कास्कीका पाँचमध्ये बहुमत पालिकामा गठबन्धनका उम्मेदवार बिजयी हुने दावि गर्छन । यसअघिको स्थानीय तहको चुनावमा कास्कीका ५ पालिका मध्ये नेकपा एमालेले ४ र नेपाली कांग्रेसले १ मात्र पालिका जितेको थियो। एमालेले पोखरा महानगरपालिका सहित रुपा, मादी र माछापुच्छ«े गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेको थियो। नेपाली कांग्रेसले भने अन्नपूर्ण गाउँपालिकाको प्रमुख मात्र जितेको थियो।

तर,यसपटक गठबन्धन बनाएकाले आफूहरु बहुमत पालिकामा बिजयी हुने कांग्रेस कास्कीका सभापति बरालको जिकिर छ। ‘एमाले फुटेर कमजोर भएको छ, त्यसमापनि हामी पाँच पार्टी एक भएका छौं। यो हाम्रो जित्ने आधार हो,’ उनले भने।

गठबन्धनले पोखरा महानगरपालिका सहित अन्नपूर्ण र मादी गाउँपालिका सजिलै जित्ने आँकलन गरेको छ। माछापुच्छ«े र मादी गाउँपालिकामा पनि जोडबल गर्दा जित्न सकिने भन्नेमा उ आशावादी छ। तर सबै ठाउँमा गठबन्धन नहुँदा सोंचेजस्तो परिणाम आउनेमा शंका छ। अधिकांश पालिका स्तरमा गठबन्धन भएपनि वडा स्तरमा नहुँदा गठबन्धनमा माहोल नबनेको स्वयं गठबन्धनमा आबद्ध दलका नेताहरु स्वीकार्छन्।

कास्कीमा पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादी र उप–प्रमुखमा नेपाली कांग्रेस, रुपा गाउँपालिकामा प्रमुख र उपप्रमुख नेपाली कांग्रेस, मादी गाउँपालिकामा प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्रबीच गठबन्धन छ। तर माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिकामा दलहरुबीच गठबन्धन बनेको छैन। माछापुच्छ«े गाउँपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुबै पदमा उम्मेदवार उठाएको छ भने नेकपा माओवादी केन्द्रले प्रमुखमा कांग्रेसलाई समर्थन गरेपनि उप–प्रमुख आफूले पाउनुपर्ने भन्दै उम्मेदवार खडा गरेको छ। त्यस्तै अन्नपूर्ण गाउँपालिकामा भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तीनवटै पार्टीले प्रमुख, उप–उपप्रमुख दुबै पदमा उम्मेदवार उठाएको छ।

पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धन बनेपनि वडास्तरमा गठबन्धन बनेको छैन। पोखराका १६ वटा वडामा गठबन्धन बनेपनि बाँकी १७ वटा वडामा गठबन्धन नहुँदा चुनावी माहोल गठबन्धनको पक्षमा आउनेमा आशंका छ। वडास्तरमा गठबन्धन नबन्दा प्रमुख पदका उम्मेदवार धनराज आचार्य र उप–प्रमुख कोपिला रानाभाटलाई चुनावी घरदैलो गर्न सकस परेको छ। गठबन्धन नभएका वडामा कुन पार्टीसँग मिलेर घरदैलो गर्ने भन्ने अन्यौलता उनीहरुलाई परेको हो।

यद्दपी जितका लागि गठबन्धनको भर रहेको नेताहरु बताउँछन्। किनकी पोखरामा नेकपा एकीकृत समाजवादी कमजोर छ। त्यसैले अन्य दलको मत पाएको खण्डमा मात्रै जितिने भएकाले जितका लागि गठबन्धनको भर पर्नुपरेको हो। वडास्तरमा नभएपनि पालिका स्तरमा गठबन्धन भएकाले गठबन्धनको पक्षमा मत आउने नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङले बताए।

पोखरा महानगरमा नेकपा एमालेले अघिल्लो चुनावमा झण्डै १४ हजार मतान्तरले चुनाव जितेको थियो। अघिल्लो चुनावमा नेकपा एमालेका मानबहादुर जिसीले ६० हजार १ सय १८ मत ल्याएर चुनाव जित्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरेका थिए। पछिल्लो पटक ३९ हजार मत थपिएकाले यो मत निर्णायक मानिएको छ।

यसपटक एमाले आफ्नै पार्टीबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीसँग चुनावी प्रतिष्पर्धामा छ। एमालेसँग छुट्टिपछिएको एकीकृत समाजवादीले एमालेको भोट कति संख्यामा काट्छ भन्नेले एमालेको हार र जित के हुन्छ भन्ने निर्धारण गर्छ। त्यसमा सहायक कारण एमाले भित्रको गुटगत लडाईंपनि एक हुनसक्ने अनुमान गरिन्छ। कास्कीमा एमालेका उप–महासचिव पृथ्वी सुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीच चर्को लडाईं छ। शुरुमा गुरुङ निकट दीपक पौडेललाई पोखराको मेयरको टिकट दिइएको थियो।  

तर अधिकारी पक्षले ६ वर्ष अघिको सुन चोरी काण्डको भिडियो क्लिप्स सार्वजनिक गरेर टिकट खोसेको गुरुङ पक्षको आरोप छ। अहिले अधिकारी निकट कृष्ण थापालाई टिकट दिएका कारण गुरुङ पक्षको असहयोग रहने आशंका स्वयम् एमाले वृत्तमा चर्चा हुन्छ। तर कोहि पनि यसबारे खुलेर बोल्न चाहँदैनन्।  

एमालेका पोखरा महानगरका उम्मेदवार कृष्ण थापा नै महानगरमा एमाले पहिल्यैदेखि नै बलियो भएकोले यो पटक पनि जित सहज रहेको बताउँछन्। एकीकृत समाजवादीले खासै मत नकाट्ने र गठबन्धनबीचको किचलोका कारण कांग्रेसको मत विपक्षिले कम पाउँदा आफुलाई लाभ पुग्ने उनको अनुमान छ। एमाले फुटको असर आफुलाई नपर्ने उनको दावि छ।

प्रकाशित: २४ वैशाख २०७९ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App