१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

तिलाको खोप्रीबाट मतपेटिका ल्याउन हेलिकप्टर आवश्यक

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जुम्लाको तिला गाउँपालिका–९ खोप्री मतदानस्थलबाट मतपेटिका ल्याउन हेलिकप्टर आवश्यक देखिएको छ।

समुद्री सतहबाट तीन हजार मिटर उचाइमा रहेको उक्त मतदानस्थल सुरक्षाका दृष्टिले अतिसंवेदनशील मानिन्छ। उक्त मतदानस्थल गाउँपालिकाको कार्यालयबाट सात घण्टा टाढा रहेकाले मतदान कार्य सम्पन्नपश्चात् मतपेटिका ल्याउन हेलिकप्टर आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइँले जानकारी दिए।

'हामीले सडक डिभिजन कार्यालय जुम्लालाई उक्त मतदानस्थलको दूरी घटाउनका लागि सडक खोल्न आग्रह गरेका छौँ', उनले भने, 'हेरौँ सम्भव कति हुन्छ। मतदानस्थलबाट मतपेटिका सम्बन्धित पालिकामा पुर्‍याउन चार घण्टाभन्दा बढी लाग्ने ठाउँमा हेलिकप्टर प्रयोग गर्न सकिने सरकारको नीति भएकाले कर्णाली प्रदेश सरकार तथा गृह मन्त्रालयलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी प्रसाइँले बताए।

उनका अनुसार जुम्लामा ७९ मतदानस्थलमध्ये सुरक्षाका दृष्टिकोण ४१ वटा मतदानस्थल अतिसंवेदनशील, १५ संवेदनशील र २३ मतदानस्थल सामान्य रहेका छन्। त्यसमा तिला गाउँपालिकाको खोप्री तथा ढिपु मतदानस्थल भूगोल र दूरीका हिसाबले टाढा हुनुका साथै निकै चुनौतीपूर्ण भएकाले हेलिकप्टरको अपरिहार्यता खट्केको उनको भनाइ थियो। एक सय दुई मतदान केन्द्र रहेको जुम्लाका सबै मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको जुम्ला प्रशासनले जनाएको छ। रासस

प्रकाशित: २३ वैशाख २०७९ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App