४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

धनगढी उपमहानगरः भ्रष्टाचार रोक्ने उम्मेदवारको मुख्य अजेन्डा

मतदानको मिति नजिकिदै गर्दा सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू आफ्ना अजेन्डासहित मतदाताको मन जित्न घरदैलो तथा बिभिन्न गाउँ टोलमा चुनावी कार्यक्रम गरिरहेका छन्।

राजनीतिक दलका उम्मेदवारले यसपटक पनि अघि सारेका अजेन्डा सडक निर्माण, सडक चौडा, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, पर्यटन लगायत अधिकांस अजेण्डा अघिल्लो निर्वाचनका बेला जस्तै छन्। तर यसपटक मतदाताको मत तान्न सबै राजनीतिक दल र उम्मेदवारले विशेष जोड दिएको अजेन्डा भने भ्रष्टाचार रोक्ने रहेको छ। नेकपा एमाले र गठबन्धन दलहरुले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा भ्रष्टाचार रोक्ने कुरालाई जोड दिएका छन्।  

एमालेका मेयर पदका उम्मेदवार रणबहादुर चन्दले अघिल्लो पाँच वर्षमा महानगरपालिकामा अनियमितता भएको उल्लेख गर्दै आफू मेयर जितेमा भ्रष्टाचार हुन नदिने कुरा मतदाता समक्ष भनिरहेका छन्। ‘३० वर्षसम्म मैले कुनै दाग लाग्न दिएको छैन, मलाई जिताएमा भ्रष्टाचार हुन नदिई निष्कलंकित भएर देखाउने वाचा गर्छु,’ उनले भने। नेकपा एमालेले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पनि भ्रष्टाचार रोकेर सुशासन कायम गर्ने कुरा भनिएको छ।  

यसैगरि गठबन्धन दलहरुले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ‘हामी भ्रष्टाचार गर्ने छैनौ र गर्न पनि दिने छैनौं’ भनेर प्रण गरेका छन्।

गठबन्धनका तर्फवाट मेयर पदका उम्मेदवार नृपबहादुर वडले भ्रष्टाचार हुन नदिएर धनगढीको विकासलाई अघि बढाउने बताएका छन्।

धनगढी उपमहानगरपालिकामा प्रतिस्पर्धामा रहेको आंकलन गरिएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले पनि मतदाताको मन जित्न भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने अजेन्डालाई सवैभन्दा बढी महत्वका साथ उठाएका छन्। उनले घोषणा पत्रमा मात्र उल्लेख गरेनन् मतदातालाई विश्वास दिलाउन यहाँको महत्वपूर्ण धार्मिक स्थल बेहेडावा मन्दिरमा गएर नै भ्रष्टाचार नगर्ने कसम खाए। हमालले भ्रष्टाचार नगर्ने र हुन पनि नदिने भन्दै मेयर जितेमा उपमहानगरपालिकाको कुनै पनि सुविधा नलिएर धनगढीको विकासको लागि काम गर्ने बताएका छन्।

सबै मेयर, उपमेयर तथा वडाध्यक्ष पदका उम्मेदवारले समेत भ्रष्टाचार नगर्ने भनेर मतदातालाई विश्वस्त गराउन खोजेका छन्।

प्रत्येक चुनावी सभा, घरदैलो तथा अन्तर्वार्तामा उम्मेदवारले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने वाचा गरेर मतदातालाई विश्वस्त पार्ने प्रयास गरिरहेका छन्।

स्थानीय तहमा चरम भ्रष्टाचार भएको र जनताको अपेक्षा बमोजिम विकास हुन नसकेकोले आम मतदातामा निराशा छाएकोले उम्मेदवारले मत तान्न भ्रष्टाचारको अजेन्डालाई जोड दिएका हुन्।

नगारिक समाजका अगुवा प्रमोद पाठक स्थानीय तहमा अन्धाधुन्द व्यापक भ्रष्टाचार भएकाले मतदाताले भ्रष्टाचार नगर्ने नेता चाहेको बताए। महालेखा परीक्षणको प्रतिवेदनले पनि स्थानीय तहमा व्यापक भ्रष्टाचार भएको देखाएको छ। आफ्नै आँगनमा रहेको स्थानीय तहमा भ्रष्टाचार भएको जनताले थाहा पाएका छन्। आफूले तिरेको करको रकम भ्रष्टाचारमा सकिनु हुँदैन भन्ने जनताको चाहना भएको उनी बताउँछन्।

कालोपत्रे गरेका सडक ६, ७ महिनानै भत्किने, योजना पहुँच र कमिशनका आधारमा वितरण गरिने। गुणस्तरहिन काम गरिने, कार्यकर्ता लगायत सबैलाई सवारीसाधनको ईन्धन उपलब्ध गराएर ठूलो रकम तेलमा खर्च गर्ने लगायतको व्यापक भ्रष्टाचार स्थानीय तहमा हुने गरेको स्थानीय बताउँछन्।

‘भ्रष्टाचार नगर्ने नेता जनताले चाहेकाले उम्मेदवारहरु भ्रष्टाचार गर्दैन भनेर कसम खान लागेका हुन्,’ उनले भने,‘कोही जनताको अघि मात्र कसम खाईरहेका छन् भने कोही मन्दिरमा समेत गएर कसम खादैँछन्।’ चुनावका बेला भ्रष्टाचार गर्दैन भन्ने नेता नभएर भ्रष्टाचार नगर्ने र जनताको चाहना बमोजिम विकास गर्ने नेता जनताले चाहेको उनी बताउँछन्।

धनगढी उपमहानगरपालिकामा मेयर पदमा ९ जना र उपमेयरमा ६ जना उम्मेदवार चुनावी मैदानमा छन्।

जनता समाजवादी पार्टीका कविन्द्र ऐर, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीका भारती थापा, नागरिक उन्मुक्ति पार्टीका मीनकुमार चौधरी, मदनकृष्ण भट्ट र उद्धवराज पन्त समेतले भ्रष्टाचार नगर्ने वाचा गर्दै मत मागिरहेका छन्।  

उपमेयर पदमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शान्ति अधिकारी र नेकपा एमालेका तर्फबाट कन्दकला राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमला पन्त, नागरिक उन्मुक्ति पार्टीका सावित्रीदेवी चौधरी, स्वतन्त्रबाट नेपाली कांग्रेसका नेता प्रभाकर भण्डारी पनि मतदाता रिझाउन आफ्ना अजेन्डा लगेर घरदैलो गरिरहेका छन्।

प्रकाशित: २० वैशाख २०७९ १५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App