१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

उम्दा युवादेखि ७७ वर्षे ज्येष्ठ नागरिक चुनावी भिडन्तमा

इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका ७४ वर्षे तुलाराम गुरुङ चुनवी घरदैलो अभियानमा मतदातालाई सम्बोधन गर्दै। उनी जिल्लाका पालिका प्रमुख/अध्यक्षमध्ये सबैभन्दा बढी उमेरका उम्मेदवार हुन्।

२६ वर्षे कुन्धन पौडेल आउँदो स्थानीय तह निर्वाचनका लागि इलामको माइजोगमाई गाउँपालिका अध्यक्ष पदको उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका उनी जिल्लाका १० पालिकाका प्रमुख/अध्यक्षमध्ये उमेरले सबैभन्दा कान्छा हुन्।

सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार ७४ वर्षे तुलाराम गुरुङ जिल्लाका पालिकाको प्रमुख/अध्यक्ष पदका उम्मेदवारमध्ये सबैभन्दा उमेरदार (ज्येष्ठ नागरिक) हुन्। नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका उनी अहिले चुनावी अभियानमा गाउँ–गाउँ घुमिरहेका छन्।

२३ वर्षीया जुनु लिम्बू सूर्याेदय नगरपालिकाको उपमेयर पदमा उम्मेदवार छिन्। जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनकै दल भएपनि जिल्लामा भएको चुनावी तालमेलमा जसपा सामेल छैन। तालमेल नभएपछि जुनुले सूर्याेदय नगरमा उपमेयरमै उम्मेदवारी दिएकी हुन्। २१ वर्षे आशिष जबेगू माङ्सेबुङ गाउँपालिका १ को वडाध्यक्षका उम्मेदवार बनेका छन्। उनले वडामा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

यस्तै २२ वर्षीय बबिन राई पनि चुलाचुली गाउँपालिका ५ को वडाध्यक्षका उम्मेदवार छन्। उनलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ। आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनबाट स्थानीय तहको नेतृत्व लिन नागरिकमा उत्कट चाहना देखिएको छ।

जिल्लाका १० पालिकाबाट जम्मा ४ सय २५ जना विभिन्न पदमा निर्वाचित हुन्छन्। त्यसका लागि तेब्बरभन्दा बढीले उम्मेदवारी मनोनयन गरेका छन्। अझ रोचक चाहिँ के छ भने पालिकाका पदमा नेतृत्व लिन चाहनेमा क्षमताको हिसाबले उम्दा मानिने २१ वर्षे युवादेखि ७७ वर्षे ज्येष्ठ नागरिकसम्म छन्।

माइजोगमाई गाउँपालिकाको अध्यक्षका उम्मेदवार पौडेल युवालाई हरेक हिसाबले प्रयोग गर्ने तर उनीहरूको क्षमतालाई उपलब्धिमूलक बनाउने गरी कसैले योजना ल्याउन नसकेको प्रतिक्रिया दिन्छन्। ‘सार्वजनिक निकायलाई भ्रष्टाचारमुक्त, सुशासनको नमुना र सेवाग्राहीको काम छिटो–छरितो बनाउन युवा नेतृत्वको खाँचो रहेकाले उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘युवालाई लागुऔषधको कुलतबाट बचाउने, प्रविधिले पूर्ण विद्यालय, अनिवार्य कम्प्युटर शिक्षा, फरक शारीरिक क्षमता भएकाका लागि सिप र शिक्षालगायत मेरा एजेण्डा हुन्।’

उनले नागरिकको निःशुल्क स्वास्थ्य बिमा, निःशुल्क आधारभूत उपचार, कृषिको समुन्नति, रोजगारी, आधारभूत खानेपानी, करको दर घटाउनेलगायतका एजेण्डा आफूले ल्याएको बताए। त्यस्तै २१ वर्षीया रेखा विश्वकर्मा धमला चुलाचुली गाउँपालिकाको वडा १ मा दलित महिला सदस्यको उम्मेदवार छिन्। उनलाई नेकपा (माओवादी) केन्द्रले उम्मेदवार बनाएको हो।

देउमाई नगरपालिका–४ को दलित महिला सदस्यमा पनि नेकपा (एस)ले २१ वर्षीया मनिषा दियालीलाई उम्मेदवार बनाएको छ। यही नगरको वडा ८ मा नेकपा (एस)ले २२ वर्षे सुमन विकलाई उम्मेदवार बनाएको छ। २२ वर्षकै प्रसान मगर देउमाई ९ मा कांग्रेसबाट वडा सदस्यको उम्मेदवार छन्। २२ वर्षीया ममता बर्देवा चुलाचुुली गाउँपालिका ४ मा एमालेबाट दलित महिला सदस्यका लागि चुनाव लड्दै छिन्।

२२ वर्षीया डायना राईलाई नेपाली कांग्रेसले इलाम नगरपालिका १ को वडा सदस्यको उम्मेदवार बनाएको छ भने २३ वर्षे फुर्सत लिम्बू फाकफोकथुम ४ मा कांग्रेसबाट वडा सदस्यको उम्मेदवार छन्। सूर्याेदय नगरपालिका ९ का सोनाम तामाङ २३ वर्षका भए। उनी अहिले जसपाबाट वडाध्यक्षको उम्मेदवार छन्। रोङ गाउँपालिका ३ को सदस्यमा पनि कांग्रेसले २३ वर्षे अनिल ढकाललाई सदस्यको उम्मेदवार बनाएको छ।

माई नगरपालिका ६ को वडा सदस्यमा २३ वर्षे मनोजकुमार पोर्तेल नेकपा (एस)बाट प्रतिस्पर्धामा छन्। २८ वर्षीया सेरगेम तामाङ मंगोल नेसनल अर्गनाइजेसनबाट इलाम नगरपालिकाको उपमेयरकै उम्मेदवार छिन्। २८ वर्षकी शान्ता लिम्बू राप्रपाबाट देउमाई नगरपालिकाको उपमेयर प्रतिस्पर्धामा छिन्। नेपालको संविधान (२०७२) र स्थानीय निर्वाचन निर्देशिका २०७८ ले स्थानीय तहमा उम्मेदार हुने योग्यताको न्यूनतम् उमेर २१ वर्ष रहने व्यवस्था गरेका छन्।

बढीमा कति उमेरसम्मका व्यक्ति उम्मेदवार बन्न पाउने भन्नेबारे चाहिँ कानुनी व्यवस्था भएको देखिँदैन। यसलाई नै आधार मानेर २१ वर्षभन्दा माथिका नागरिक चुनावी मैदानमा होमिएका छन्। कलिलै उमेरमा नेतृत्व लिन युवाको जोस–जाँगर देखिएको दलका अगुवा नेता पनि बताउँछन्। युवाहरू शैक्षिक र अन्य हिसाबले पनि नेतृत्व लिन सक्षम भएको दलका युवा नेताहरूको भनाइ छ।

‘अहिले स्थानीय तहको नेतृत्व लिन धेरै युवाको आकर्षण देखिएको छ,’ नेकपा (एमाले) जिल्ला उपसचिव तथा युवानेता रवीन्द्र सुवेदी भन्छन्, ‘शैक्षिक योग्यता पूरा गरेपछि युवाहरू राजनीतिमा आउन चाहनु सकारात्मक पक्ष नै हो। सँगसँगै युवामात्र होइन, उमेर अलि बढी भएका अगुवाको अनुभवले पनि नेतृत्वमा राम्रो काम गरेको देखिन्छ र गर्छ।’

नेपाली कांग्रेस इलामका सचिव निरोज खड्गी आफू पनि युवक नै छन्। भन्छन्, ‘अब देशको राजनीति हाँक्ने जिम्मा बिस्तारै युवाको काँधमा आउँदै छ। अनुभवी ज्येष्ठ नागरिक पनि स्थानीय तहको नेतृत्वमा आकर्षित देखिन्छन्। युवा हरेक कामको नेतृत्व गर्न सक्षम छन् तर पाको उमेरका मानिस सक्षम छैनन् भन्ने होइन। उनीहरूको अनुभव र युवाको जोस–जाँगरले जुनसुकै कामको परिणाम राम्रो आउँछ।’

जिल्ला निर्वाचन कार्यालयको विवरणअनुसार जिल्लाका स्थानीय तहको नेतृत्व लिन चाहने उम्मेदवारमा अहिले सम्भवतः २५ देखि ५० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा धेरै छन्। नागरिकको काम गर्न रात–साँझ नभनि गाउँ–गाउँ र घर–घर पुग्नुपर्ने भएकाले पनि नेतृत्वमा युवा नै सुहाउँदिलो हुने चाहिँ मतदाताको तर्क पनि छ।

‘कुनै अपर्झट काम पर्दा मोटरसाइकलमै भए पनि तुरुन्त जनताको घर पुग्ने खालका जनप्रतिनिधि स्थानीय तहलाई चाहिनेरहेछ,’ देउमाई नगरपालिका २ का मतदाता सविन राई भन्छन्, ‘पाको उमेरका जनप्रतिनिधिले पनि काम नगर्ने त होइन तर युवामा आफ्नो भविष्यलाई सोचेर पनि राम्रैमात्र काम गर्ने ऊर्जा चाहिँ बढी हुन्छ।’ स्थानीय तहको नेतृत्व लिने चाहनेमा ज्येष्ठ नागरिकको संख्या पनि कम छैन।

इलामका पालिकामा सबैभन्दा बढी उमेरका उम्मेदवार चाहिँ फाकफोकथुम गाउँपालिका वडा ६ को सदस्यका आकाङ्क्षी ७७ वर्षे लीलानाथ श्रेष्ठ हुन्। उनलाई कांग्रेसले वडा सदस्यको टिकट दिएको हो। ‘म वडा सदस्य नभएकै बेला पनि सामाजिक सेवामा सक्रिय छु,’ उनले भने, ‘वडा सदस्य हुँदा अलि बढी जिम्मेवारी आउने हो, म त्यो जिम्मेवारी पूरा गर्न शारीरिक हिसाबले पनि सक्षम छु।’

यही गाउँपालिकाको उपाध्यक्ष पदमा चाहिँ २८ वर्षीया सोनिया लिम्बू चुनावी प्रतिस्पर्धा गर्दैछिन्। उनी मंगोल नेसनल अर्गनाइजेसनबाट उम्मेदवार बनेकी हुन्। ७६ वर्षे रघुरवीर खड्का माई नगरपालिका १ को वडाध्यक्ष पदका उम्मेदवार छन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन्। इलाम नगरपालिकाको उपमेयरकी उम्मेदवार विष्णुकुमारी लिम्बू ७४ वर्षकी भइन्। उनलाई कांग्रेसले उम्मेदवार बनाएको छ।

सूर्याेदय नगरपालिका ७ को अध्यक्षमा मंगोल नेसनल अर्गनाइजेसनबाट उम्मेदवारी दिएकी दुर्गाकुमार घलेको उमेर पनि ७४ वर्ष छ। देउमाई नगरपालिका ३ को सदस्यमा ७० वर्षे कृष्णबहादुर लामगाधे भिड्दै छन्। उनी राप्रपाका उम्मेदवार बनेका छन्। ६९ वर्षे छविलाल आचार्यले माई नगरपालिका ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दिनेमा ६० वर्षभन्दा माथिका नागरिकको संख्या पनि कम चाहिँ छैन।

सन्दकपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार ७४ वर्षे गुरुङ आफ्नो सामाजिक क्षेत्रको अनुभव अब गाउँपालिकामा प्रयोग गर्ने बताउँछन्। करिब २८ वर्ष विद्यालयको शिक्षक भएर अवकाश पाएका उनी गाउँकै भगवती आधारभूत विद्यालयको अध्यक्ष थिए।

‘अझै ५–१० वर्ष म सामाजिक काममा शारीरिक हिसाबले पनि युवाजत्तिकै सक्रिय हुनसक्छु भन्ने लाग्छ,’ उनले भने, ‘अहिले मेरो तन र मन दुवै सक्रिय छ, विजयी भएको खण्डमा गाउँबासीलाई सेवा–सुविधा दिनमा मेरो उमेर बाधक बन्ने छैन।’

उनले मुख्य आर्थिक उपार्जनको माध्यम कृषि भएकाले कृषिबाटै गाउँ समुन्नत बनाउने योजना ल्याएको सुनाए। यहाँको पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य दर्जनौं सम्भावनालाई उजागर गर्ने जाँगर छ उनमा। कतिपय उम्मेदवारका ‘वान टु वान’ प्रतिस्पर्धीबीचको उमेरमा ठूलो फरक छ।

माङ्सेबुङ गाउँपालिका ५ की दलित महिला सदस्यकी उम्मेदवार अमृता विकको उमेर ६० छ भने उनकी प्रतिस्पर्धी गंगामाया विश्वकर्मा २५ वर्षकी छिन्। माइजोगमाई गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी कांग्रेसकी प्रविना राई ३४ वर्षकी छिन्। उनीसँग प्रतिस्पर्धा गर्ने एमालेकी उम्मेदवार सावित्रा भट्टराईको उमेर ६२ छ।

वडा र पालिका तहमा समेत प्रतिस्पर्धा गर्ने कतिपय उम्मेदवारको उमेर आफ्नो प्रतिस्पर्धीसँग तेब्बरभन्दा धेरैले फरक परेको पनि देखिएको छ। गत ११ र १२ गते जिल्लाका सबै पालिकामा एक हजार ४ सय ५६ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराए। दाबी–विरोध, मनोनयन फिर्ता र रद्द गर्ने समय सकिँदा १ हजार ३ सय १९ उम्मेदवार प्रतिस्पर्धाको मैदानमा छन्। ६ जना निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: १८ वैशाख २०७९ ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App