४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाममा १२९ जनाको मनोनयन फिर्ता

आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका इलामका एक सय २९ जनाले मनोनयन फिर्ता लिएका छन्। फिर्ता लिनेमा जिल्लाका १० वटै पालिकाका मेयर/अध्यक्षदेखि वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदकै उम्मेदवार छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार माई नगरपालिकामा सबैभन्दा बढी ४५ जनाले आफ्नो मनोनयन फिर्ता लिएका छन्। फाकफोकथुम गाउँपालिकामा २०, इलाम नगरमा १९, चुलाचुली गाउँपालिमा १२, माइजोगमाई गाउँपालिकामा ११, सूर्याेदय नगरमा ८, देउमाई नगर र माङ्सेबुङ गाउँपालिकामा ४/४ तथा रोङ र सन्दकपुर गाउँपालिकामा ३/३ जनाले मनोनयन फिर्ता लिएका छन्।

माई नगरपालिकाको मेयर पदका ४ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। फिर्ता लिनेमा जनता समाजवादीका टुपेन्द्रकुमार एक्तेन, नेकपा (एकीकृत समाजवादी)का अनिलकुमार तामाङ तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका भक्तबहादुर लुंगेली र गंगाबहादुर काफ्ले छन्। टुपेन्द्र, अनिल र भक्तबहादुर गठबन्धन दलभित्रकै बागी उम्मेदवार थिए।

माई २ को वडाध्यक्षमा उम्मेदवारी दिएका हरिप्रसाद चौंलागाई र बुद्धिमान लिम्बू, वडा ३ को अध्यक्ष पदका तेजबहादुर घिमिरे र शेरबहादुर लिम्बू, वडा ४ का वडाध्यक्षबाट भूपाल सिञ्जाली मगरले उम्मेदवारी फिर्ता लिए। वडा ५ को वडाध्यक्ष पदका यदुनाथ दुलाल, शुक्रराज राई र केशरकुमार राई, वडा ६ को वडाध्यक्षका चक्रबहादुर कटवाल, वडा ८ को वडाध्यक्षका मदनकुमार लिम्बू लोक्तामले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

वडा ९ का वडाध्यक्ष उम्मेदवार सोमनाथ घिमिरे, दुर्गादेवी लिम्बू र जितबहादुर लाउती तथा वडा १० वडाध्यक्षका उम्मेदवार कमलबहादुर राई र मनबहादुर बस्नेतले उम्मेदवारी फिर्ता लिएका छन्। इलाम नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएका नेकपा (एस)का डिकबहादुर दाहालले उम्मेदवारी फिर्ता लिए।

दाहाललाई गठबन्धनभित्रैको नेकपा (एस)ले पार्टीको आधिकारिक उम्मेदवार बनाएको थियो। वडा १ अध्यक्षको उम्मेदवार टेकबहादुर कटवाल, वडा ५ अध्यक्षका उम्मेदवार पुण्यबहादुर भट्टराई र मनिषा राई, वडा १२ अध्यक्षका उम्मेदवार रामकुमार लिम्बू र चक्रबहादुर लिङ्दम लिम्बूले पनि उम्मेदवारी फिर्ता लिए।

सन्दकपुर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका एमाले इलामका सचिव उमेश गुरुङले पनि फिर्ता लिए। उनले एमालेबाट उदयबहादुर राईले टिकट पाएपछि बागी उम्मेदवारी हालेका थिए। सन्दकपुर वडा ३ अध्यक्षका उम्मेदवार निरबहादुर सुवेदी र चन्द्रबहादुर राई तथा रोङ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका एसका देवकुमार राईले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

सूर्याेदय नगरपालिका ५ का वडाध्यक्षका उम्मेदवार संजोग राई, वडा ७ वडाध्यक्षका उम्मेदवार लोकनाथ खड्का, वडा ८ अध्यक्षका उम्मेदवार रमेश प्रधान, वडा १३ अध्यक्षका उम्मेदवार दुर्गाबहादुर राई र प्रभुनाथ पौडेलले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ।

देउमाई नगर वडा ३ अध्यक्षका उम्मेदवार कुमार राई चाम्लिङ र विभिन्न वडाका सदस्यका आकाङ्क्षीले मनोनयन फिर्ता लिए। चुलाचुली गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारले पनि मनोनयन फिर्ता लिए। उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार थिए। एसबाट उपाध्यक्षको उम्मेदवार रहेकी गंगामाया राईले पनि मनोनयन फिर्ता गरिन्।

गंगामायालाई गठबन्धनकै एसले पार्टीको आधिकारिक उम्मेदवार बनाएको थियो। वडा १ को अध्यक्षका लागि उम्मेदवारी दिएका  निसान राई र मानबहादुर पौडेल, वडा २ को अध्यक्षका धनबहादुर राई, वडा ६ को अध्यक्षका गंगाबहादुर श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

फाकफोकथुमको अध्यक्षका लागि उम्मेदवारी दिएकी माओवादीकी बुद्धमाया तामाङ, काङ्ग्रेसबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी भद्रमाया खड्का र तेजप्रकाश पौडेलले पनि उम्मेदवारी फिर्ता लिए। गठबन्धनमै रहेपनि माओवादीले बुद्धमायालाई उम्मेदवार बनाएको थियो भने काङ्ग्रेसले भद्रमायालाई।

वडा १ को अध्यक्षको उम्मेदवारी बालकृष्ण भट्टराई र वडा २ का होमनाथ शर्माले पनि लिए। वडा ३ को अध्यक्षका लागि उम्मेदवार बनेका धनहाङ थेगिम, चूडामणि पौडेल, योगेन्द्रविक्रम पौडेल, प्रेमबहादुर खड्का, वडा ४ को त्यही पदका शशीधर मगर, वडा ५ का रामकृष्ण घिमिरे, टेकबहादुर खपाङ्गी र चन्द्रबहादुर लिम्बूले पनि वडाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिए।

माइजोगमाई गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्र्रेसबाट पार्टीकै उम्मेदवार बनेकी कमली लेप्चा, वडा १ अध्यक्षबाट पदमप्रसाद भण्डारी, वडा २ अध्यक्षबाट मोहनबहादुर बस्नेत र वडा ३ अध्यक्षबाट बसुधा मोक्तानले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

उम्मेदवारी फिर्ता लिनेमा माङ्सेबुङ गाउँपालिकाको अध्यक्ष पदमा एसबाट उम्मेदवार बनेका हर्कप्रसाद साम्बा, वडा २ वडाध्यक्षका टीकाराम खुलाल र वडा ३ को वडाध्यक्षबाट शिलास राई छन्। उम्मेदवारी फिर्ता लिनेमा सत्तारुढ गठबन्धनका उम्मेदवार बढी छन्।

सत्तारुढ गठबन्धनका दलले नै इलामका विभिन्न पालिकामा बागी उम्मेदवार उठाएका थिए। कतिपय उम्मेदवारले आफू सत्तारुढ दलको भएपनि स्वतन्त्र उम्मेदवारी दिएका थिए। गठबन्धनको केन्द्रीय तहले उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारको पार्टी सदस्यता स्वतः खारेज हुने निर्णय गरेपछि उम्मेदवारी फिर्ता लिनेको लर्काे लागेको हो।

प्रकाशित: १७ वैशाख २०७९ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App