३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नीति निर्माणमा अग्रसर बन्दै लोपोन्मुख लेप्चा

इलाममा वडा सदस्यदेखि उपाध्यक्षसम्म १२ उम्मेदवार

इलाम जिल्लामा लोपोन्मुख लेप्चा समुदायका मानिस पछिल्लो समय नीति निर्माण तहमा उपस्थिति जनाउँदैछन्। २०६२/०६३ सालको जनआन्दोलनपछि लेप्चा समुदायको सहभागिता स्थानीय तहदेखि संघीय संसद्सम्म देखिँदैछ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पनि जिल्लाका विभिन्न स्थानीय तहमा लोपोन्मुख लेप्चा समुदायका नागरिकले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा सदस्यदेखि गाउँपालिका उपाध्यक्षको पदसम्ममा लेप्चा समुदायका नागरिकले उम्मेदवारी दिएका छन्। इलाम लेप्चा समुदायको मुख्य बसोबासस्थल मानिन्छ।

माइजोगमाई गाउँपालिकाको उपाध्यक्षमा कमली लेप्चाले स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। माइजोगमाईकै वडा नम्बर २ मा हेमछिरिङ लेप्चाले सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। यसै पालिकाको वडा नम्बर ३ को महिला सदस्यमा सजना लेप्चाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएकी छिन्।

लेप्चा समुदायको मुख्य बसोबास रहेको सूूर्याेदय नगरपालिकामा पनि यो समुदायका नागरिकले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। सूर्याेदयको वडा नम्बर ४ को वडाध्यक्षमा उमेशकुमार लेप्चाले नेपाली कांग्रेसबाट, वडा नम्बर ५ को सदस्यमा आकाश लेप्चाले एमालेबाट, वडा नम्बर ७ को सदस्यमा मोहन लेप्चाले नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट र महिला सदस्यमा बुद्धिमाया लेप्चाले एमालेबाट मनोनयन दर्ता गराएका छन्।

नेकपा (एस) बाट सूर्याेदय वडा नम्बर ८ को सदस्यमा रितेश लेप्चा र वडा नम्बर १० को महिला सदस्यमा एमालेबाटै तीर्थकुमारी लेप्चा उम्मेदवार बनेका छन्। त्यस्तै रोङ गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्षमा राजकुमार लेप्चा एमालेबाट उम्मेदवार बनेका छन्। एमालेबाटै रोङ वडा नम्बर १ को सदस्यमा टिन्डु लेप्चा र वडा नम्बर ५ को सदस्यमा कर्णबहादुर लेप्चाले मनोनयनपत्र दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।

स्थानीय तह निर्वाचन–२०७४ मा लेप्चा समुदायबाट इलामका विभिन्न पालिकामा ५ जना वडा सदस्यमा निर्वाचित भएका थिए। लेप्चा समुदायका अगुवा वीरबहादुर लेप्चा सूर्याेदय नगरपालिकाको नगरसभा सदस्य निर्वाचित भएका थिए। त्यसबेला सूर्योदय वडा नम्बर ४ को महिला सदस्यमा शशीकला लेप्चा, वडा नम्बर ५ को महिला सदस्यमा धनमाया लेप्चा र वडा नम्बर ९ को सदस्यमा मनबहादुर लेप्चा विजयी थिए।

वीरबहादुर सहित चारै जना एमालेका तर्फबाट निर्वाचित भएका थिए। त्यस्तै २०७४ मा माइजोगमाई गाउँपालिका वडा नम्बर २ को सदस्यमा कांग्रेसका सुकबहादुर लेप्चा निर्वाचित भएका थिए। लेप्चा समुदायबाट अहिले उम्मेदवार बनेकाले निर्वाचित भएपछि संघीयता, संविधान कार्यान्वयनमा सहयोग पुर्‍याउने अठोट राखेका छन्।

संविधान निर्माणका बेला आफ्नो पहिचानसहितको राज्य माग गरेका लेप्चा समुदायका नागरिक अब संविधानकै कार्यान्वयनबाट आफ्नो समुदाय र देशको उत्थान हुने पक्षमा उभिएको वीरबहादुरले बताए। ‘स्थानीय सरकारमा हाम्रो प्रतिनिधित्वले आफ्नो समुदायसहित समग्र समाजको हितमा सकारात्मक प्रभाव पार्नेछ,’ उनले भने, ‘हामी पनि नीति निर्माणमा उत्तिकै सक्षम र आवश्यक छौं भन्ने प्रमाण मतदाताले यसअघिका निर्वाचनमा पनि दिइसक्नुभएकै छ।’

२०६४ सालमा कांग्रेसबाट टीकाराम लेप्चा र एमालेबाट शकुन्तला लेप्चा समानुपातिक कोटामा संविधानसभा सदस्य बनेका थिए। २०६२/०६३ सालको आन्दोलनपछि लोपोन्मुख लेप्चा समुदायले राज्य पुनर्संरचना गर्दा कोसी नदीपूर्वको भूभागलाई ‘रोङ (लेप्चा) राज्य’ नामाकरण गर्न माग गरेको थियो। उनीहरूले ‘रोङ राज्यको विधान’ नामक दस्तावेज नै सार्वजनिक गरेका थिए।

छुट्टै राज्यको माग पूरा नभए पनि स्थानीय तह पुनर्संरचना गर्दा जिल्लाको एउटा गाउँपालिकाको नाम रोङ राखिको हो। वीरबहादुरले रोङ शब्दको अर्थ ‘लेप्चा’ मात्र नभई ‘पवित्र भूमि’ पनि भएकाले सबैले त्यसमा अपनत्व अनुभूत गरेको बताए। इलाममा लेप्चा समुदायको मुख्य बसोबास सूर्याेदय र रोङमा छ। माइजोगमाईमा छिटफुट बसोबास छ।

पछिल्लो समय केही अस्थायी बसोबास र केही स्थायी बसाइँ सरेर अन्य जिल्लामा पनि गएका छन्। २०७८ सालको जनगणनामा जातजाति छुट्टिने गरी तथ्यांक सार्वजनिक भइसकेको छैन। जनगणना–२०६८ को तथ्यांकमा नेपालमा लेप्चाको जनसंख्या ३ हजार ४ सय ४५ भएको उल्लेख छ। जसमध्ये ३ हजार २ सय ६४ जना ग्रामीण र १ सय ८१ जना सहरी क्षेत्रमा बस्छन्।

साबिक पूर्वाञ्चलमा सबैभन्दा धेरै ३ हजार २ सय ३६ जना, मध्यमाञ्चलमा १ सय ६४, पश्चिमाञ्चलमा ३८, मध्यपश्चिमाञ्चलमा ५ र सुदूरपश्चिमाञ्चलमा २ जनाको बसोबास रहेको ०६८ को जनगणनामा उल्लेख छ। पहाडी क्षेत्रमा सबैभन्दा बढी २ हजार ९ सय ९६, तराईमा ४ सय ३१ र हिमाली क्षेत्रमा १८ जना लेप्चाको बसोबास रहेको जनगणना–२०६८ मा छ।

प्रकाशित: १५ वैशाख २०७९ ०४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App