१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

‘राजनीतिलाई मैले अल्पकालीन यात्राको रूपमा लिएकी छैन’

काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयर पदको उम्मेदवार बनेकी सुनिता डंगोलले आफ्नो उम्मेदवारीले युवा र महिलाको भावना प्रतिनिधित्व गर्ने बताएकी छन्। राजनीतिमा आफ्नो पहिलो खुड्किलो भएको बताउने डंगोलले उम्मेदवारी दर्ता गराउँदै गर्दा आफूसँग प्रष्ट भिजन भएको बताएकी छन्।

‘उपमेयर पदको उम्मेदवारी दावी गर्दै गर्दा मेरा प्रष्ट भिजन लिएर अघि बढ्ने मैले योजना बनाएकी छु। मसँग सुन्दर र समृद्ध काठमाडौं बनाउने भिजन छ। मैले विदेश भ्रमणका सिलसिलामा त्यहाँको विकास र समृद्धिलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकी छुँ,’ उनी भन्छिन्, ‘म त्यो अनुभव यहाँ पनि लागु गर्न चाहन्छु। त्यो भिजनलाई पूरा गर्न हरेक युवाको साथ लिएर अघि बढ्ने छुँ।’

विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएकी सुनिता आफूले काठमाडौंको विकासका लागि ८ खम्बे विकास मोडल तयार गरेको जनाइन्। जसमा फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, इन्जिनियरिङ, पूर्वाधार विकास, डिजिटल काठमाडौं, खोज विकास र युवा सशक्तीकरण र सांस्कृतिक सम्पदा रहेका छन्।

फोहाेरबाट ऊर्जा उत्पादन गर्ने प्रविधिबाट फोहोर मैलाको उचित व्यवस्थापन गर्न सकिने उनी बताउँछिन्। ‘मैले जापान, जर्मनी आदि देशको भ्रमण गर्दा यो देखेकी छुँ। उक्त प्रविधि नेपालमा ल्याएर फोहरलाई रुपैयाँमा ढाल्न सकिन्छ,’ अगाडि भन्छिन्, ‘अहिले काठमाडौंवासीले फोहाेर घरबाट निकालेबापत प्रतिघर चार सय रुपैयाँ मासिक बुझाउनु परेको यथार्थ हाम्रा सामू छन्। हामीले उक्त प्रविधि प्रयोग गर्न सक्यौं भने महानगर आफैंले बिजुली उत्पादन गरेर शहर झिलिमिली बनाउन सकिन्छ भने महानगरवासीबाट फोहाेर उठाउँदा उल्टै पैसा दिनसक्ने अवस्था सिर्जना हुन्छ।’

अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने रन्जना लिपीलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी सुनिता लिपी क्वीनको उपनामले समेत चिनिन्छिन्। संस्कृति र सम्पदाको शहर भनी चिनिने काठमाडाैं महानगरपालिका क्षेत्रभित्र रहेका मूर्त–अमूर्त संस्कृतिक सम्पदा, मौलिक भाषा, लिपि, कला तथा ऐतिहासिक संस्कृतिक सम्पदाहरूलाई नविन सोच र रणनीतिबाट युवाहरूमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संरक्षण सम्वर्द्धन र प्रवर्द्धन गर्ने आफ्नो योजना रहेको उनको भनाइ छ।

अनुभवी र विज्ञहरूको टीम बनाएर काठमाडौंलाई पर्यटकीय र सांस्कृतिक सहरको रूपमा विकास गर्ने उनी बताउँछिन्। ‘काठमाडौ महानगर भनेको मुलुकको राजधानी रहेको नगर हो। यहाँको पूर्वाधार विकाससँगै सुन्दर शहर मुलुकका लागि नमूना हो। त्यसैले यो नगरलाई मुलुककै नमूना शहरका रूपमा विकास गर्न पनि मेयर पदको उम्मेदवारी दिने सोच बनाएकी हुँ,’ सुनिताले भनिन्।

सन् २०११ मा मिस नेवाःको ताज पहिरिन सफल सुनिता डंगोलको परिचय त्यतिमा मात्रै सीमित छैन। बहुआयामिक प्रतिभा भएकी सुनिता अहिले विभिन्न कार्यक्रमको संचालन, मोडरेट गर्दै नेपाल टेलिभिजनमा बालबालिका सम्बन्धी कार्यक्रम समेत सञ्चालन गर्दै आएकी थिइन्। उम्मेदवारी घोषणासँगै राजीनामा दिएको उनले बताइन्।

सांस्कृतिक शहर काठमाडौं महानगरपालिकामा जन्मे हुर्केकी सुनिता आफ्नो ज्ञान, सीप र क्षमताको प्रयोग आफ्नै ठाउँमा गर्न चाहेको बताउँछिन्। ‘काठमाडौं म जन्मिएको शहर हो। म यहींको माटो जन्मिएँ, हुर्किएँ र धेरै कुरा सिक्ने अवसर पनि यहींको माटो र परिवेशबाट प्राप्त गरेँ। त्यसैले मेरो ज्ञान, सीप र क्षमताको उच्चतम् उपयोग गर्दै म जन्मेको शहरलाई सुन्दर र समृद्ध बनाउने सपनालाई मूर्त रूप दिन मैले काठमाडौँको मेयर बन्ने सोच राखेकी हुँ,’ उनले भनिन्।

उनले उपमेयर पदमा आफ्नो उम्मेद्वारीले युवा, महिला र सामाजिक–सांस्कृतिक अभियन्ता लगायत काठमाडौंबासीको भावना सम्बोधन भएको उल्लेख गरेकी छन्। एमालेले आफूलाई दिएको टिकट युवाहरूलाई उपहार प्रदान गरेको अवसरका रूपमा लिएको उल्लेख गरेकी छन्।

राजनीतिलाई अल्पकालीन यात्राको रूपमा नलिएको उनी बताउँछिन्। काठमाडौं महानगरपालिकाको उपमेयरमा पराजित भए पनि आफूले गर्नुपर्ने योगदान र कर्तव्यबाट विमुख नहुने उनको भनाइ छ। ‘राजनीतिलाई मैले अल्पकालीन यात्राको रूपमा लिएको छैन। राजनीतिलाई मैले अब दीर्घकालीन यात्राको रूपमा लिएको छुँ। कुनै पनि खेल मैदानमा गइसकेपछि हार अथवा जित त्यो निश्चित नै हो,’ उनी भन्छिन्, ‘मैले जितेँ काठमाडौं महानगरपालिकालाई प्रणालीमै बसेर विकास गर्नेछु। यदि जितिएन भनिए पनि आफूले गर्नुपर्ने योगदान, आफूले गर्नुपर्ने काम कर्तव्यबाट एक इञ्च पनि म तलमाथि हुने छैन। दीर्घकालीन यात्रा भनिरहँदा राजनीतिबाट विदाई हुने होइन। अझ सशक्त रूपमा म अघि बढ्ने छु।’

प्रकाशित: १४ वैशाख २०७९ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App