३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन: नीति निर्माणमा अग्रसर बन्दै लोपोन्मुख लेप्चा

इलाममा वडा सदस्यदेखि गाउँपालिका उपाध्यक्षसम्म १२ उम्मेदवार

देशकै लोपोन्मुख लेप्चा समुदायका अगुवा इलामको सूर्याेदय नगरपालिका–१०, फिक्कलका प्रेम लेप्चा आफ्नो समुदायको सांस्कृतिक सामग्री देखाउँदै। तस्बिर: भीम/नागरिक

इलाममा मुख्य बसोबास रहेको देशकै लोपोन्मुख लेप्चा समुदायका नागरिक पछिल्लो समय नीति निर्माण तहमा उपस्थिति जनाउँदैछन्। २०६२/०६३ सालको जनआन्दोलनपछि लेप्चा समुदायको सहभागिता स्थानीय तहदेखि संघीय संसद्सम्म देखिँदैछ।

आउँदो स्थानीय तह निर्वाचनमा जिल्लाका विभिन्न स्थानीय तहबाट लोपोन्मुख लेप्चा समुदायका नागरिकले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार वडा सदस्यदेखि गाउँपालिका उपाध्यक्षको पदसम्ममा लेप्चा समुदायका नागरिकले उम्मेदवारी दिएका छन्।  

माइजोगमाई गाउँपालिकाको उपाध्यक्षमा कमली लेप्चाले स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। माइजोगमाईकै वडा २ को सदस्यमा हेमछिरिङ लेप्चाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। वडा ३ को महिला सदस्यमा सजना लेप्चाले स्वतन्त्र मनोनयन दर्ता गराएकी छिन्।  

लेप्चा समुदायको मुख्य बसोबास रहेको सूर्याेदय नगरपालिकाको वडा तहमा लेप्चा समुदायका नागरिकको उम्मेदवारी सबैभन्दा धेरै छ। सूर्याेदयको वडा ४ को वडाध्यक्षमा उमेशकुमार लेप्चाले नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएका छन्। वडा ५ को सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट आकाश लेप्चा उम्मेदवार छन्।  वडा ७ को सदस्यमा नेकपा (एकीकृत समाजवादी)बाट मोहन लेप्चा उम्मेदवार बनेका छन् भने यही वडाको महिला सदस्यमा एमालेबाट बुद्धिमाया लेप्चाले मनोनयन दर्ता गराएकी छिन्। नेकपा (एस)बाटै सूर्याेदय वडा ८ को सदस्यमा रितेश लेप्चा र वडा १० को महिला सदस्यमा एमालेबाट तीर्थकुमारी लेप्चा उम्मेदवार बनेका छन्।  

रोङ गाउँपालिका वडा ४ को वडाध्यक्षमा राजकुमार लेप्चा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को उम्मेदवार छन्। वडा १ को सदस्यमा एमालेबाट टिन्डु लेप्चा, वडा ५ सदस्यमा एमालेबाटै कर्णबहादुर लेप्चा पनि उम्मेदवार रहेको निर्वाचन कार्यालयले जनाएको छ।    

स्थानीय तह निर्वाचन २०७४ इलामका विभिन्न पालिकामा ५ जनप्रतिनिधि चुनिएका थिए। उनीहरू वडा सदस्य र महिला वडासदस्यमा चुनिएका थिए। लेप्चा समुदायका अगुवा वीरबहादुर लेप्चा सूर्याेदय नगरपालिकाको नगरसभा सदस्य निर्वाचित भएका थिए। सूर्योदय नपा ४ को महिला वडा सदस्यमा शशीकला लेप्चा, वडा ५ को महिला वडासदस्यमा धनमाया लेप्चा, वडा ९ को वडासदस्यमा मनबहादुर लेप्चा विजयी थिए। वीरबहादुरसहित चारैजना त्यतिबेला नेकपा (एमाले)बाट निर्वाचित भएका थिए। माइजोगमाई गाउँपालिका २ को वडासदस्यमा नेपाली कांग्रेसको तर्फबाट सुकबहादुर लेप्चा विजयी बनेका थिए।  

जनप्र्रतिनिधि निर्वाचित भएर संघीयता, नयाँ संविधान कार्यान्वयनमा लाग्ने अहिलेका उम्मेदवारको अठोट छ। संविधान निर्माणको चरणमा लेप्चा समुदायले आफ्नो पहिचानसहितको राज्य नै माग गरेपनि अब भने नयाँ संविधानकै कार्यान्वयनबाट समुदाय र देशको उत्थान हुने वीरबहादुरको भनाइ छ। ‘हाम्रो प्रतिनिधित्वले आफ्नो समुदायसहित समग्र समाजको हितमा काम गर्नेछ,’ उनले भने, ‘हामी पनि नीति निर्माणमा उत्तिकै सक्षम र आवश्यक छौं भन्ने प्रमाण मतदाताले यसअघिका निर्वाचनमा पनि दिइसक्नुभएकै छ।’

२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा कांग्रेसको तर्फबाट टीकाराम लेप्चा र एमालेको तर्फबाट शकुन्तला लेप्चा समानुपातिक सूचीबाट संविधानसभा सदस्य बनेका थिए। २०६२÷०६३ सालको आन्दोलनपछि लोपोन्मुख लेप्चा समुदायले राज्य पुनर्संरचना गर्दा कोसी नदीपूर्वको भूभागलाई ‘रोङ (लेप्चा) राज्य’ नामाकरण गर्न माग गरेको थियो। यो मागमा लाप्चाहरूले निकैपटक आन्दोलनमात्रै गरेनन्, ‘रोङ राज्यको विधान’ नामक दस्तावेज नै सार्वजनिक गरेका थिए। स्थानीय तहको पुनर्संरचना गर्दा भने जिल्लाको एउटा गाउँपालिकाको नाम ‘रोङ’ राखिको छ। उनले ‘रोङ’ शब्दको अर्थ ‘लेप्चा’ मात्र नभई ‘पवित्र भूमि’ पनि भएकाले सबैले त्यसमा अपनत्व अनुभूत गरेको बताए।

लेप्चा समुदायको मुख्य बसोबास सूर्याेदय र रोङमा छ। माइजोगमाईमा छिटफुट बसोबास छ। पछिल्लो समय उनीहरूमध्ये केही अस्थायी बसोबासका लागि र कतिपय चाहिँ बसाइँ नै सरेर अन्य जिल्लासम्म पनि गइरहेका छन्।  

२०७८ सालमा भएको जनगणनाको जातजाति छुट्टिनेगरीको तथ्यांक सार्वजनिक भइसकेको छैन। जनगणना २०६८ अनुसार देशमा लेप्चाको कुल जनसंख्या ३ हजार ४ सय ४५ छ। उनीहरूमध्ये ३ हजार २ सय ६४ जना ग्रामीण अनि १ सय ८१ जना सहरी क्षेत्रमा बस्छन्। साविक पूर्वाञ्चलमा सबैभन्दा धेरै ३ हजार २ सय ३६ जना, मध्यमाञ्चलमा १ सय ६४, पश्चिमाञ्चलमा ३८, मध्यपश्चिमाञ्चलमा ५ र सुदूरपश्चिमाञ्चलमा २ जनाको बसोबास छ। उनीहरू पहाडी क्षेत्रमा सबैभन्दा बढी (२ हजार ९ सय ९६) जना बसोबास गर्छन्। तराईमा ४ सय ३१ र हिमाली क्षेत्रमा १८ जनाको बसोबास रहेको जनगणना–२०६८ को तथ्यांकले देखाउँछ।

प्रकाशित: १४ वैशाख २०७९ ०५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App