१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

महानगरकै वडाहरूमा परेन दलित महिलाको उम्मेदवारी

ललितपुर महानगरपालिकाका नौवटा वडामा दलित महिला सदस्य पदमा एउटा पनि उम्मेदवारी परेको छैन।

मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीका अनुसार नौवटा वडामा दलित महिला सदस्यको उम्मेदवारी नै परेको छैन। ‘हामी रुजु गरेर हेर्दैछौं। नौवटा वडाहरूमा एउटा पनि दलित महिला उम्मेदवारको मनोनयन परेको छैन,’ उनले भने, ‘प्रमुख दलहरूले नै मनोनयन हालेका छैनन्।’ आफूहरू एकदमै व्यस्त रहेकाले कुनकुन वडा भनेर भन्न नसकिने उनले बताए।

यस्तै प्रमुख पदमा १४ र उपप्रमुख पदमा १३ जनाको मनोनयन परेको छ। प्रमुखमा सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राप्रपाबाट अष्ट महर्जन र विवेकशील साझा पार्टीबाट उज्ज्वलकृष्ण श्रेष्ठलगायतले मनोनयन दर्ता गराएका छन्।

यस्तै उपप्रमुखमा सत्ता गठन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य, एमालेबाट मञ्जली शाक्य बज्राचार्य, राप्रपाबाट स्वर्णिमा शाक्यलगायत छन्।

यस्तै महानगरका २९ वडाहरूको वडाध्यक्षमा १ सय ६९ जनाको उम्मेदवारी परेको छ भने खुला सदस्यमा २ सय ६६ जना, महिला सदस्यमा १ सय २६ जना र दलित महिला सदस्यमा ५७ जनाको मनोनयन परेको छ।

मध्यरातसम्मै मनोनयन दर्ता, ढिलो आउँदा समस्या

मनोनयन गर्न ढिलो गरी आइदिँदा समस्या भएको मुख्य निर्वाचन अधिकृत शिवाकोटीले बताए। ‘महानगरमै ५ बज्न आँटेपछि धेरैजसो उम्मेदवार आउनुभयो,’ महानगरपालिकाको निर्वाचन अधिकृतसमेत रहेका उनले भने, ‘अन्य पालिकाहरूको हविगत त झन् निकै कठिन रहेको मैले खबर पाएको छु।’ उनका अनुसार यो समाचार तयार पार्दासम्म महानगरको मनोनयन दर्ताका सम्पूर्ण प्रक्रिया पूरा भइसकेका थिएनन्।

यस्तै ललितपुरका महालक्ष्मी नगरपालिकामा यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसको सिंगो टिमकै मनोनयन दर्ता गर्न बाँकी थियो। ‘भर्खर एमालेको सकेर कांग्रेसको सुरु गर्न आँट्यौं,’ निर्वाचन अधिकृत शारदा फुँयालले भनिन्, ‘सबैजसो पार्टी ४ बजेपछि मात्रै पुग्नुभयो। त्यसपछि ५ बजेसम्म खाली फाइल लिएर राख्यौं। अनि दर्ता गर्न थाल्दा ढिलो हुन गयो।’ यो समाचार तयार पार्दासम्म ९८ जनाको मात्रै मनोनयन दर्ता भएको थियो।

यस्तै अवस्था जिल्लाका अन्य गोदावरी नगरपालिका, कोन्ज्योस्योम गाउँपालिका, महाकाल गाउँपालिका र वाग्मती गाउँपालिकाको पनि थियो।

‘ठुला पार्टीको त फाइल नै हेर्न भ्याएका छैनौं। सबै काम गरेर टुंग्याउन अझै डेढदुई घन्टा लाग्न सक्छ,’ निर्वाचन अधिकृत सुशीला ज्ञवालीले भनिन्, ‘आजै मनोनयनमा परेकाहरूको नामावली पनि सार्वजनिक गर्ने कार्यक्रम छ। त्यो गर्न त रातिको दुई बज्न सक्छ।’

प्रकाशित: १३ वैशाख २०७९ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App