१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बैतडीमा दलहरुले गरे उम्मेदवारी दर्ता

बैतडीमा मुख्य राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन्। स्थानीय तहको निर्वाचनको लागि सत्तासाझेदार दलबीच र एमालेले राप्रपासँग केही स्थानीय तहमा गठबन्धन गरेका छन्।

बाजागाजा र र्‍यालीका साथ निर्वाचन अधिकृतका कार्यालयमा पुगेर उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेस बैतडीले जिल्लाका १० वटै पालिकामा मनोनयन दर्ता गरेको छ।

दशरथचन्द नगरपालिकामा मेयरमा गजेन्द्रसिंह रावल र उपमेयरमा कौशिला चन्द, पाटन नगरपालिकामा मेयरमा गौरीसिंह रावल, पुर्चौडी नगरपालिकामा मेयरमा दिपकबहादुर बम, उपमेयरमा मीना धानुकले मनोनय दर्ता गराएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए।

मेलौली नगरपालिकाको मेयरमा प्रेमबहादुर चन्द र उपमेयरमा पार्वती बिष्टको मनोनयन दर्ता भएको छ। सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहरा, सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐर, शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउँदले मनोनयन दर्ता गरेको कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए।

सिगासका धामी र शिवनाथका साउँद यस अघि पनि अध्यक्षमा निर्वाचित भएका थिए। यसैगरी पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारी र दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीले मनोनयन दर्ता गराएका छन्। ती दुबै पालिकामा उपाध्यक्ष पद भने गठबन्धन दललाई दिइएको कांग्रेस बैतडीले जनाएको छ।

डिलासैनी गाउँपालिकामा उपाध्यक्ष पदमा भगीरथ बोहराले मनोनयन दर्ता गरेका छन्। बैतडीमा सत्ता साझेदारदलहरुले तीन पालिकामा चुनावी  गठबन्धन गरेका छन्। डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर  गाउँपालिकामा चुनावी तालमेल गरेका हुन्।

जिल्लाका १० वटै स्थानीय तहमा नेकपा एमालेले पनि उम्मेदवारी दर्ता गराएको छ। पालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतका कार्यालयमा पुगेर एमालेले उम्मेदवारी दर्ता गराएको हो। दशरथचन्द नगरपालिकाको मेयरमा पुस्करराज जोशी (लख्खाभाइं) र उपमेयर सरस्वती नेपालीको उम्मेदवारी दर्ता गरेका छन्।

डिलासैनी गाउँपालिकाको अध्यक्ष पदका लागि अक्कल राना र उपाध्यक्ष पदका लागि लीला जोशीको उम्मेदवारी आइतबार नै दर्ता भएको छ। पाटन नगरपालिकाको मेयरमा नारायण भण्डारी र उपमेयरमा हरि भट्टको उम्मेदवारी दर्ता भएको छ।

मेलौली नगरपालिकाको मेयरमा जगदीश नायक र उपमेयरमा चन्द्रकला साउँदको उम्मेदवारी दर्ता भएको छ। यस्तै पुरचौंडी नगरपालिकाको मेयरमा कर्णबहादुर कुवँर र उपमेयरमा जानकी साउँदले मनोनयन दर्ता गराएका छन्।

सिगास गाउपालिकाको अध्यक्षमा जस्वीर बोहरा र उपाध्यक्षमा धाना धामीले उम्मेदवारी दर्ता गराएका छन्। शिवनाथ गाउँपालिकाको अध्यक्षमा हजारी साउँद र उपाध्यक्षमा शकुन्तला साउँदले एमालेबाट उम्मेदवारी दर्ता गराएका एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए।

सुर्नया गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका लागि अम्मरबहादुर कुवँरले उम्मेदवारी दर्ता गराएका छन्। सुर्नयामा एमालेले राप्रपासँग तालमेल गरेको छ। उसलाई उपाध्यक्ष पद दिइएको छ। दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पदमा चक्रबहादुर कार्की र उपाध्यक्षमा पार्वती कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

दुबै जना अघिल्लो निर्वाचनमा निर्वाचित भएका थिए। पञ्चेश्वर गाउँपालिकामा गोरखबहादुर चन्द र बीना भट्टले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरुले पनि गएको स्थानीय तहको चुनावमा जित हासिल गरेका थिए। यस्तै माओवादीले पनि स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ।

जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकामा आइतबार उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रले अन्य स्थानीय तहमा सोमबार उम्मेदवारको मनोनयन दर्ता गराएको छ। पुर्चौडी र मेलौली नगरपालिकामा माओवादी एक्लै चुनावी मैदानमा उत्रेको छ।

पुर्चौडीको मेयरमा विक्रम कुँवर (प्रतीक) र उपमेयरमा नन्दा शाहको उम्मेदवारी दर्ता भएको छ। यस्तै मेलौलीको मेयरमा भीमबहादुर चन्द (भुकम्प) र उपमेयरमा मनिषा दयालको उम्मेदवारी दर्ता भएको माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए।

सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको माओवादीले मेयरमा प्रेमसिंह थापाको मनोनयन दर्ता गराएको छ। यस्तै पाटनमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले उपमेयरमा कमलसिंह बोहराको मनोनयन दर्ता गराएको छ।

यस्तै शिवनाथको उपाध्यक्षमा नरेन्द्र साउँद, दोगडाकेदारको उपाध्यक्षमा नवराज भट्ट (कुसुम) र सुर्नयाको उपाध्यक्षमा दिलाराम भट्ट उम्मेदवारी दर्ता गराएको छ। यस्तै डिलाशैनीको अध्यक्षमा लोकेन्द्र राना (शितल)ले उम्मेदवारी दर्ता गराएका छन्। सिगास गाउँपालिकाको अध्यक्ष राजेन्द्र साउँद र उपाध्यक्षमा लक्ष्मी चन्दले उम्मेदवारी दर्ता  गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिकामा साधुले दर्ता गराए मेयरमा उम्मेदवारी दार्चुलाको शैल्यशिखर नगरपालिकाको मेयष्रमा एक जना साधुले उम्मेदवारी दिएका छन्। शैल्यशिखर नगरपालिका–९ स्थित जगतपुरी मन्दिरको आश्रममा बस्दै आएका स्वामी रामानन्द सरस्वतीले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्।

उनले गोकुलेश्वर बहुमुखी क्याम्पसमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउदै शैल्यशिखर नगरपालिकामा भइरहेको भ्रष्टाचार अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध उनलाई पार्टीले शैल्यशिखर नगरपालिकाको प्रमुखको उम्मेदवारमा सिफारिस गरेको थियो।

प्रकाशित: १२ वैशाख २०७९ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App