३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

गठबन्धनबाट मेयरमा वड र उपमेयरमा अधिकारीको उम्मेदवारी

गठबन्धन समर्थकका साथ उम्मेदवारी दर्ता गराउन जाँदै कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार नृपबहादुर वड र नेकपा माओवादी केन्द्रका तर्फबाट उपमेयर पदका उम्मेदवार शान्ति अधिकारी। तस्बिरः पुष्पराज /नागरिक

सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा गठबन्धनकातर्फबाट मेयर पदमा नृपबहादुर वड र उपमेयर पदमा शान्ति अधिकारीले उम्मेदवारी दिएका छन्। धनगढीको ट्राफिक चौराहबाट बाजागाजासहित निस्केको र्‍याली धनगढी बजारहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन्।

गठबन्धनमा मेयर पदमा नेपाली कांग्रेसका वडले र उपमेयर पदमा नेकपा माओवादी केन्द्रका अधिकारीले मनोनयन दर्ता गराएका हुन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका वडले मेयरमा दोहोरिनका लागि मनोनयन दर्ता गराएका हुन्।  

२०७४ सालको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयर पदमा वड निर्वाचित भएका थिए। अधिकारी नेकपा माओवादी केन्द्रबाट अघिल्लो निर्वाचनमा धनगढीमा उपमेयर पदमा चुनाव लडेकी थिइन्। उपमेयरमा कांग्रेसकै सुशीला मिश्र भट्टले निर्वाचन जितेकी थिइन्। 

कैलालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच गठबन्धन भएको छ। तीन दलीय गठबन्धनका तर्फबाट वड र अधिकारीको उम्मेदवारी दर्ता भएको हो। उम्मेदवारी दिएपछि मेयर पदका उम्मेदवार वडले उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग कुरा गर्दै अबको सुन्दर सहर धनगढी, स्वास्थ्य क्षेत्र धनगढी, खेलकुदको सहर धनगढीलगायतका कामको प्रतिवद्धता गर्ने बताए।  

यसअघि नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार रणबहादुर चन्द र उपमेयर पदमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएका थिए। एमाले पार्टी कार्यालयबाट बाजागाजासहित र्‍यालीका साथ मुख्य निर्वाचन अधिृकतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए। 

यस्तै आइतबार स्वतन्त्र उम्मेदवार गोपाल हमाल, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा र अर्का स्वतन्त्र उम्मेदवार मदनकृष्ण भट्टले उम्मेदवारी दर्ता गराएका थिए। २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडले १४ हजार ३ सय २४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए।

प्रकाशित: १२ वैशाख २०७९ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App