१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जालको ‘जञ्जाल’: पोखरामा उम्मेदवार नै बदलिए

एमालेले रातारात फेर्‍यो पोखराको मेयरका उम्मेदवार

एमालेले पोखरा महानगरपालिकामा मेयरको उम्मेद्वार हुन चाहेका १२ जना आकांक्षीको नाम केन्द्रमा पठाएको थियो। ती मध्ये एउटा नाम थियो दीपक पौडेल। उम्मेदवारीमा सबैको दावा रहिरहँदा गण्डकी प्रदेशका दुई जना सांसद सहितको आकांक्षीको लिष्टमा अटेका उम्मेदवारमध्ये पौडेलको नाम एकाएक बाहिरियो। एमाले सचिवालय बैठकले मेयरको उम्मेदवारको रुपमा पौडेलको नाम सार्वजनिक गर्‍यो।

पार्टीले पौडेललाई उम्मेद्वार बनाउने निर्णय बाहिरिएको घण्टा बित्न नपाउँदै एउटा भिडियो पनि भाइरल बन्यो जुन भिडियो उनै उम्मेदवार पौडेलसँग सम्बन्धित रहेको भन्दै सामाजिक सञ्जालमा दावि गरिएको छ। मेयरका उम्मेदवार बनेका पौडेल दशकअघि पोखरामा सुनचोरीमा संलग्न भएको भन्दै भिडियो पोष्ट गरियो, जसको आधिकारिक पुष्टि अझैसम्म कतै भएको छैन। भिडियो भाइरल भएसँगै सामाजिक सञ्जालमा ब्यापक टिकाटिप्पणी हुन थाल्यो। आइतबार बेलुकीसम्म पौडेल नै मेयरका उम्मेदवारका रुपमा रहे। उनलाई लागेको आरोपको चर्चा पनि ब्यापक भइरह्यो।  

पौडेलबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी चलिरहँदा उम्मेदवार फेरिनसक्ने सम्भावना रहेको भन्दै पनि हल्ला चलाइयो। आइतबार बेलुकीसम्मको उम्मेदवार फेरिनसक्ने हल्लाा सोमबार बिहान भइसक्दा आधिकारिकतामा बदलियो। सोमबार बिहान भइसक्दा पौडेलको उम्मेदवारी खोसिएको थियो। पौडेलको उम्मेदवारी खोसेर गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई मेयरको उम्मेदवारी बनाइयो। पौडेलको टिकट खोसेर थापालाई दिइयो, मध्यान्ह थापाले नै उम्मेद्वारी दर्ता गराए।  

एकाएक उम्मेदवार् नै फेर्नुपर्ने कस्तो संकट आइपर्‍यो त एमालेलाई? एमाले पोखरा महानगर कमिटि अध्यक्ष दिलीप न्यौपाने भन्छन, ‘पौडेलमाथि आरोप लगाउँदै जुनखालको भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइयो, त्यसले व्यक्तिलाई मात्र नभई सिंगो एमालेलाई नै अप्ठेरो परेको थियो।’ उनका अनुसार पोखरा महानगरको उम्मेदवार टुंग्याउनेबारे पार्टीको सूचना प्राप्त भएअनुसार सुरुमा पौडेलको नाम थियो। तर, नाम सार्वजनिक भएलगत्तै उहाँ (दीपक) सँग सम्बन्धि दावी गरिएको भिडियो पनि सार्वजनिक भयो, जसले सबैलाई अप्ठेरो पार्‍यो।’

उम्मेदवारसँग सम्बन्धित दावी गर्र्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको त्यो भिडियोले समग्र समाजमा नकारात्मक हल्ला फैलाएको उनले बताए। ‘उम्मेद्वारी दर्ता गर्ने समय आइसक्दा पौडेलमाथि लागेको आरोपसहितको भिडियोको आधिकारिकता छानविन गरेर स्पष्ट पार्ने समय हमीसँग भएन। घटनाले चुनाव प्रभावित हुन सक्ने आशंका भएपछि पार्टीको केन्द्रले उम्मेदवार फेरेको हुनसक्छ,’ उनले भने, ‘सामाजिक सञ्जालको त्यो भिडियोले चुनावलाई नै प्रभावित पार्छ की भन्ने त्रास भयो। तर, केन्द्रीय कमिटिले गरेको निर्णय अनुसार फरक उम्मेदवार तय हुनुभएको छ।’

पहिला तय भएका उम्मेदवार पौडेलमाथि लागेको आरोपबारे छानविन हुन बाँकी रहेको उनले बताए। ‘व्यक्तिगत रुपमा परेको असरबारे प्रस्ट पार्न बाँकी नै छ। निर्वाचनको छोटो समयमा थप क्षति नहोस भनेर बरु उम्मेदवार नै फेर्न केन्द्रले उपयुक्त ठानेको हुनसक्छ,’ उनले भने। पौडेललाई मात्र नभई अर्का उम्मेद्वार थापामाथि पनि उत्तिकै आरोप छ। थापा उम्मेदवार बन्ने निश्चित भएपछि उनीबारे पनि सामाजिक सञ्जालमा बहस सुरु भएको छ। थापालाई छुवाछुतलाई प्रोत्साहन गरेको आरोप छ। सार्वजनिक जग्गामा सरकारी लगानीमा बनेको किरियापुत्री भवन प्रयोग गर्न दलित समूहलाई नदिएको भन्दै थापामाथि आरोप लागेको छ।  

एमाले महानगर कमिटि अध्यक्ष न्यौपाने भन्छन्, ‘सार्वजनिक हिसाबले कुनै न कुनै रुपमा विवाद हुनसक्छ। पछिल्लो पटक समाज अलि संवेदनशील पनि बनेको छ। सामाजिक सञ्जालले त्यसमा चुनौती पनि थपेको छ।’ सामाजिक सञ्जालले मान्छेको सामान्य विषयलाई पनि बाहिर उठान गर्ने गरेको उनले बताए। ‘विषय उठान हुँदैमा आकाश नै खसेको भन्नु त भएन। तर, चुनावको मुखमा आएर जुनसुकै आरोप लाग्दा त्यसले अप्ठेरो पार्छ,’ उनले भने, ‘जो सुकैलाई पनि कुनै न कुनै रुपमा आरोप लाग्न सक्छ।’  

राजनीतिक विश्लेषक सुरेन्द्र थापामगर पनि सामाजिक सञ्जाल साह्रै नै क्रियाशिल बन्दै जाँदा यस्तो अवस्था आएको बताउँछन्। ‘सबैका आ–आफ्ना रुची छन्। सामाजिक सञ्जालको प्रयोग कि दूरुपयोग भन्ने भएको छ,’ उनले भने, ‘आफ्नो अनुकुलमा सामाजिक सञ्जाल प्रयोग गर्न थालिएको छ। त्यसको दवाव राजनीतिक दलमा पर्न थाल्यो।’  

उनको विश्लेषणमा अहिले कुनै पनि व्यक्ति गोप्य छैन र उसको कार्य पनि गोप्य छैन। त्यसैले राजनीतिक दलले उम्मेदवार चयन गर्दा उसको आन्तरिक कुरा वा विगत बेठिक छ वा छैन भने हेक्का राख्नुपर्ने उनी बताएँछन्। ‘सामाजिक सञ्जालको दवावका कारण स्वच्छ छविका व्यक्ति ल्याउनुपर्छ भन्ने हो। तर, पछिल्लो समय सामाजिक सञ्जाल हुनुपर्ने भन्दा बढि क्रियाशिल भएको छ। सक्रिय हुनु राम्रो हो, तर अलि बढि क्रियाशिल हुँदा यस्तो अवस्था आएको हो,’ उनले भने।  

समाजशास्त्री दिनेश प्रसाँइ पनि सामाजिक सञ्जालले शक्तिशालि नेतासँग सम्बन्धलाई पनि फरक पार्न सक्ने प्रमाणित पोखराले गरेको बताउँछन्। ‘शक्तिशालि व्यक्तिसँग व्यक्तिको सम्बन्ध थियो। तर, सामाजिक सञ्जालमा आएको एउटा भिडियोका कारण पार्टीभित्र र बाहिरबाट विरोध सुरु भयो,’ प्रसाँइले भने, ‘त्यही सामाजिक सञ्जालका कारण फरक पर्दाे रहेछ भन्ने देखायो।’ सामाजिक सञ्जालमा आएको भिडियोकै कारण उम्मेदवार परिवर्तन गर्न पार्टी बाध्य भएको उनले बताए।  

‘जनतालाई यसको जवाफ पार्टीले दिनुपर्छ। अब जनभावनाको कदर गर्दिन भन्न सक्ने आँट रहन्न भन्ने यसले पुष्टि गर्‍यो,’ उनले भने, ‘यसको असर पोखरामा मात्र नभई अन्यत्र पनि पर्ने पक्का छ।’ सामाजिक सञ्जाल दोहोरो धार भएको हतियारजस्तै भएकोले बिचार गर्नुपर्ने उनले बताए। ‘सदूपयोग गर्न जाने राम्रो पनि छ। तर, गलत सूचना दिँदा दूरुपयोग पनि हुनुसक्छ। त्यसैले अब सोच्नुपर्ने बेला भएको छ,’ उनले भने।  

प्रकाशित: १२ वैशाख २०७९ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App