८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय तहमा उम्मेदवारी: गठबन्धनबीच बनेन बलियो तालमेल

जिल्लाका सबै स्थानीय तहहरुमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णय गरेको भएपनि गठबन्धनको तालमेल फितलो देखिएको छ। सोमबार उम्मेदवारी दर्ताका क्रममा गठबन्धनमा आवद्ध सबै दलहरु एक भएर सामुहिक रुपमा उम्मेदवारी दिन सकेनन्।

घोराही उपमहानगरपालिकाबाट नेकपा एकीकृत समाजवादी बाहिरियो। यो उपमहानगरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र माओवादीले मात्रै सामुहिक उम्मेदवारी दर्ता गरे। गठबन्धनमै रहेको समाजवादीले भने मेयर-उपमेयरमा  छुट्टै उम्मेदवारी दर्ता गर्यो। यो उपमहानगरमा गठबन्धनको सहमती बमोजिम मेयरमा माओवादी केन्द्रका हेमराज शर्माले उम्मेदवारी दिए भने उपमेयरमा कांग्रेसका भुपबहादुर डाँगीले उम्मेदवारी दिएका छन्। मेयर उपमेयर सहित कांग्रेस र माओवादी बीच भने वडा तह सम्मै तालमेल बनेको छ।    

मेयर उपमेयर दुबै पदबाट बञ्चित गरिएको समाजवादीले भने वडामा आफ्नो बलियो प्रतिनिधित्व खोजेपछि गठबन्धनका अन्य दल कांग्रेस र माओवादीका बीचमा सहमती भएन। ‘हामीहरुलाई कांग्रेस र माओवादीले पेलेरै जान खोजे, वडामा हामीहरुले सम्मानजनक उपस्थिती खोजेका थियौँ,’ समाजवादीका जिल्ला अध्यक्ष सुरामणी बेलबासेले भने ‘तर हाम्रो पार्टीको अस्तित्व नै मेटाउन खोजिएपछि हामीहरु अलग उम्मेदवारी दिने निर्णयमा पुगेका हौँ।’ यो उपमहानगरमा एमालेका तर्फबाट प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डिसीले उम्मेदवारी दिएका छन्।  

यस्तै तुलसीपुर उपमहानगरपालिकामा तालमेल भएको छ। यो उपमहानगरमा समाजवादीले उपमेयर पाएको छ भने कांग्रेसले मेयर पाएको छ। कांग्रेसका तर्फबाट यो उपमहानगरको मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा समाजवादीबाट जोगबहादुर रानाले उम्मेदवारी दिएका छन्। यो उपमहानगरमा एमालेका तर्फबाट टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले उम्मेदवारी दिएका छन्।  

उता अर्को प्रमुख स्थानीय तह मध्यको लमहप् नगरपालिकामा भने गठबन्धनमा आवद्ध भएका दलहरु एक्ला एक्लै भिड्ने देखिएको छ। सोमबार कांग्रेस, माओवादी लगाएत गठबन्धनमा आवद्ध दलहरुले आआफ्नै उम्मेदवार खडा गरेका छन्। कांग्रेसले यो नगरपालिकाका प्रमुखमा जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीलाई उम्मेदवार बनाएको छ। यसैगरि गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रमुखमा बसन्त राज शर्मा र उपप्रमुखमा गंगा पाण्डेलाई उम्मेदवार बनाएको छ। यसैगरि एमालेबाट प्रमुखमा डण्डिराम चौधरी र उपप्रमुखमा सुशीला शर्माको उम्मेदवारी परेको छ।  

यो नगर रहेको क्षेत्र नम्बर १ मा रहेका सबै स्थानीय तहमा गठबन्धनकाबीच सहमती नजुटेपछि लमही सहित यहाँका ४ वटै स्थानीय तहमा मित्रवत् प्रतिष्पर्धा हुने भएको छ। कांग्रेस क्षेत्रका एक नेताका अनुसार यो क्षेत्रमा रहेका चार वटै स्थानीय तहमा नेतृत्व कसले पाउने भन्ने बिषयमा सहमती नजुटेपछि गठबन्धनमा आवद्ध दलहरु एक्ला एक्लै भिड्ने भएका हुन्।  

जिल्लाका ७ गाउँपालिका मध्य २ पालिकामा मात्रै कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको छ। ७ गाउँपालिका मध्य बंगलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिकामा मात्रै माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको छ। यि गाउँपालिकामा पनि नेकपा एकीकृत समाजवादी सहभागी छैन। जिल्लाका बबई, दंगीशरण, राप्ती ,राजपुर, गढवा गाउँपालिकामा भने गठबन्धनका सबै दलहरु एक्ला एक्लै भिड्ने तयारी अनुरुप उम्मेदवारी दिएका छन्। ‘घोराही,तुलसीपुर,शान्तिनगर र बंगलाचुली गाउँपालिकामा तालमेल भयो, तर गठबन्धनमा आवद्ध भएका सबै दलहरु तालमेलमा सहभागी हुने परिस्थती बनेन,’ कांग्रेस दाङका उपसभापति गिरीराज सुवेदीले भने ‘अन्य ६ स्थानीय तहमा त झन गठबन्धनमा रहेका सबै दलहरु मित्रवत् प्रतिष्पर्धा गरेर जाने भन्ने भएको छ, यी स्थानीय तहमा तालमेलको सम्भावना नै रहेन।’  

पूर्वसांसददेखि केन्द्रीय सदस्य उम्मेदवार

जिल्लाका घोराही र तुलसीपुर उपमहानगरपालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरु पूर्वसांसददेखि पार्टीका केन्द्रीय सदस्यसम्म छन्। तुलसीपुर उपमहानगरपालिकामा मेयरमा उम्मेदवारी दिएका गेहेन्द्र गिरी पूर्व सांसद तथा अहिलेका कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी २०७४ को स्थानीय तहको निर्वाचनमा पनि यो उपमहानगरमा मेयरमा लडेका थिए। उनी त्यो बेला एमालेका घनश्याम पाण्डेसंग पराजित बनेका थिए। यसैगरि उनीसंग अहिले प्रतिष्पर्धा गरेका एमालेका टिकाराम खड्का भने एमालेका पूर्व जिल्ला अध्यक्ष हुन्।  

यसैगरि घोराहीको मेयरमा लडेका माओवादी केन्द्रका हेमराज शर्मा माओवादीका केन्द्रीय सदस्य हुन्। उनीसंगै प्रतिष्पर्धा गर्न थालेका एमालेका नरुलाल चौधरी यही उपमहानगरमा २०७४ मा निर्वाचित मेयर हुन्। उनी पुनः मेयरमा दोहोरिने योजनामा छन्।

यसैअघि अघिल्लो निर्वाचनमा मेयरमा प्रतिष्पर्धा गरेका कांग्रेसका भुपबहादुर डाँगी अहिले भने उपमेयरका उम्मेदवार बनेका छन्। उनी अहिले पनि मेयरको आकांक्षी थिए। तर गठबन्धनमा यहाँको नेतृत्व माओवादीलाई दिने निर्णय भएपछि डाँगी मेयरको रेसबाट बाहिरिएका थिए। मेयरको सम्भावना टरेपछि डाँगी उपमेयरमा भिड्ने निर्णयमा पुगेका हुन्।

प्रकाशित: १२ वैशाख २०७९ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App