२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिन्धुलीमा गठबन्धनबीच सहमति: पाँच कांग्रेस र चार पालिकामा माओवादीको प्रमुख

गठबन्धन दलबीच सहमति भएपछि ऐक्यवद्धता जनाउँदै दलका प्रमुख तथा प्रतिनिधिहरु।

सिन्धुलीमा गठबन्धन दलबीच सहमति भएको छ। झण्डै एक सातादेखि निरन्तर सहमतिको प्रयास भइरहेका बेला बिहीबार सहमति भएको हो।

दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा एक नगरपालिकासहित पाँच ओटा पालिका प्रमुखमा नेपाली कांग्रेस र एक नगरपालिकासहित चारओटा पालिकामा माओवादी प्रमुख रहनेगरी सहमति भएको नेपाली कांग्रेसका सभापति उपेन्द्रकुमार पोखरेलले बताए।

उनका अनुसार दुधौली नगरपालिका, मरिण गाउँपालिका हरिहरपुरगढी गाउँपालिका र सुनकोसी गाउँपालिकामा माओवादी केन्द्र प्रमुख रहनेगरी सहमति भएको छ। यस्तै कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, घ्यालेख गाउँपालिका र गोलञ्जोर गाउँपालिकामा नेपाली कांग्रेसको प्रमुख रहनेगरी सहमति भएको छ।

कांग्रेस प्रमुख रहेको स्थानमा उपप्रमुख माओवादी र माओवादी प्रमुख रहेको स्थानमा नेपाली कांग्रेस उपप्रमुख रहनेगरी सहमति भएको छ। त्यस्तै जिल्ला समन्वय समिति प्रमुखमा नेकपा एकीकृत समाजवादी र उपप्रमुखमा जनता समाजवादी पार्टीलाई दिनेगरी सहमति भएको माओवादी केन्द्रका अध्यक्ष लेखनाथ दाहाल (राजन) ले जानकारी दिए।

वडातहमा गठबन्धनमा आवद्ध दललेनै जित्ने अवस्था रहेको स्थानमा गठबन्धन दलभित्र स्वच्छ प्रतिस्पर्धा गर्ने र नेकपा एमालले जित्ने ठाँउमा गठबन्धन गरेर जान स्थानीय संयन्त्रलाई नै जिम्मा दिएको छ।

'वडा तहमा हामीले हस्तक्षेप गरेका छैनौ, स्थानीय संयन्त्रले नै छलफल गरेर १० गतेसम्म जिल्ला तहलाई जानकारी गराउन भनेका छौ, नेपाली कांग्रेसका सभापति पोखरेलले भने, समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा सत्ता गठबन्धनमा आवद्ध दलहरुले सहमति गरेको छ।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखनाथ दाहाल (राजन) ले गठबन्धन दल भन्दा बाहेक अन्य दलले वडामा पनि नजित्ने गरी सहमति भएको बताए। स्थानीय तहको वडा तहमा स्वच्छ प्रतिस्पर्धा हुने र प्रतिस्पर्धा गर्दा गठबन्धन दल बाहेकका दलले जित्ने अवस्था देखिए अन्तिममा एक अर्कामा सहमति गरी जाने बताए।

'हामी जसरी पनि गठबन्धन दलभन्दा बाहेक अन्य दललाई जित्न दिदैनौ, उनले भने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा संविधानको कार्यन्वयनका लागि गठबन्धन दलभित्रका उम्मेदवारहरुलाई विजयी बनाउन मतदातालाई अनुरोध गर्छु।'

जिल्लाको ७९ ओटै वडामा र सबै पालिकामा गठबन्धन दलभित्र आवद्ध पार्टीलाई जिताउनु नै अहिलेको मुख्य उदेश्य रहेको दाहालले बताए। 'निर्वाचन परिचालसँग जोडिएका औपचारिक कार्यक्रम अब संयुक्त हुन्छ, वडामा छुट्टाछुट्टै उम्मेदवार भएपनि एउटै कार्यक्रममा एकले अर्कालाई गाली गर्ने होच्याउने गर्न पाउने छैन, स्वाच्छ प्रतिस्पर्धा हुन्छ, उनले भने।'                                   

प्रकाशित: ८ वैशाख २०७९ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App