४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

कास्कीमा विप्लव नेतृत्वको नेकपामा विवाद चर्कियो

कास्कीका ईञ्चार्ज शिलुलाई कारबाही गर्न पराजुली समूहको माग

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कास्की ईञ्चार्ज उमा भुजेल (शिलु)लाई कारवाही गर्न माग गरिएको छ। काजी गुरुङलाई सेक्रेटरी बनाएको विषयमा असन्तुष्ट समूहले गोकुल पराजुलीको नेतृत्वमा बनेको नेकपा कास्की जिल्ला कमिटीले ईञ्चार्ज शिलुमाथि विभिन्न आरोप लगाउँदै कारवाही गर्न माग गरेको हो। 

यसअघि ईञ्चार्ज शिलुले गोकुल पराजुलीलाई सेक्रेटरीबाट हटाएर काजी गुरुङलाई सेक्रेटरी बनाएपछि पराजुली समूह असन्तुष्ट बनेको थियो। सोहि असन्तुष्ट समूहले जिल्ला समानान्तर कमिटी बनाएको एक हप्ता नपुग्दै ईञ्चार्ज शिलुलाई पार्टी विरोधी, संगठन विरोधी एवम् एकीकृत जनक्रान्तिको पद्धति र मान्यता विरोधी गतिविधि गरेको आरोप लगाउँदै कारवाही गर्न केन्द्रीय समिति समक्ष माग गरेको हो।

उक्त समूहले कास्की जिल्ला सदस्य काजी गुरुङलाई पनि कारवाही गरेर जिल्ला सदस्यबाट हटाएको जनाएको छ। यसअघी ईञ्चार्ज शिलुले तत्कालीन सेक्रेटरी पराजुलीसहित सदस्यद्वय बद्री अधिकारी र रमाकान्त बास्तोलालाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारवाही गरेको थियो। त्यसलगत्तै समानान्तर समिति बनाएको सो समूहका जिल्ला सेक्रेटरी गोकुल पराजुलीसहित १७ जनाको हस्ताक्षरसहितको विज्ञप्ती जारी गरेर अब आईन्दा शिलुद्वारा हस्ताक्षरित विज्ञप्तीको भ्रममा नपर्न जनसमुदायलाई अपिल गरेको छ।

सो समूहको आइतबार पोखरामा बसेको बैठकले ईञ्चार्ज शिलुले हिटलरी शैली तथा निषेधात्मक र नोकरशाही प्रवृत्ति देखाएको ठहर गर्दै कारवाहीका लागि केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ। आफ्नो असक्षमतालाई ढाकछोप गर्न उमा भुजेल (शिलु)ले कास्की जिल्ला सेक्रेटरी क.गोकुल पराजुली, जिल्ला सदस्य बद्री अधिकारी र रमाकान्त बास्तोलालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गरिएको कथित कारवाही सरासर पार्टी विरोधी, संगठन विरोधि एवम् एकीकृत जनक्रान्तिको पद्धती र मान्यता विरोधी छ’–विज्ञप्तीमा भनिएको छ। विज्ञप्तीमा ईञ्चार्ज शिलु हदैसम्मको गुटवादी, फुटवादी, निरंकुश र संगठनात्मक रुपले घोर स्वच्छाचारी भएका कारण जिल्ला इन्चार्जबाट बहिस्कार गरिएको उल्लेख छ।

पराजुली समूहले ईञ्चार्ज शिलुले संगठनलाई क्षतविक्षत पारेको, गुटबन्दी गरेको, वर्षौंसम्म आर्थिक हिसाब किताब नदेखाएको, दलाल–माफियाहरुसँग आर्थिक सम्बन्ध राखेको, जथाभावी संगठनात्मक निर्णय गरी ईमानदार कार्यकर्तालाई बाईपास गर्ने, भ्रम छर्ने, धम्काउने गरेको, पार्टी निति, विधि, अनुशासन र मर्यादा विपरित हर्कत गरेको आरोप लगाएको छ। 

त्यस्तै, ईञ्चार्जले गुटवादी स्वार्थ पुरा गर्न तलदेखी माथिसम्मका कार्यकर्तालाई पैसाको भरमा सम्बन्ध बढाउने, डर, धम्की र पैसाकै बलमा कार्यकर्तालाई किनबेच गर्ने जस्ता सर्वाहारावादी मुल्यमान्यताविरुद्द गम्भिर प्रकृतिका गल्तिहरु गरेकाले कारवाही गर्न माग गरिएको उक्त समूहको जिकीर छ।

यसैगरी, जिल्ला सदस्य काजी गुरुङले कार्यकर्तामा निराश पैदा गर्ने, समाजवाद र साम्यवाद सम्भव छैन भन्ने, पार्टीभित्र गुटवादी तथा फुटवादी क्रियाकलाप गरेको, जिल्लाको आर्थिक बिभागमा रही ईञ्चार्ज शिलुको संरक्षणमा आर्थिक अनियमितता गरेको, ईलाका र जबस मोर्चाबाट उत्पादनका लागि भनेर बुझाइएको रकम मनोगत रुपमा खर्च गरी पुरै पार्टीलाई गुमराहमा राखेकाले पदबाट हटाइएको पराजुली समूहले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

प्रकाशित: ५ वैशाख २०७९ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App