४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेबाट पोखरामा मेयरका लागि १२ र उपमेयरका लागि ११ जनाको दाबेदारी

पोखरा महानगरपालिकाको मेयरका लागि एमालेबाट १२ जनाले दाबेदारी प्रस्तुत गरेका छन्। नेकपा एमाले पोखरा महानगर कमिटीले मंगलबार मेयर र उपमेयरका आकांक्षीहरूलाई बोलाएर उम्मेदवार हुन चाहनेहरूको नाम मागेको थियो। दुवै पदका लागि तीन/तीन हजार रूपैयाँको रसिद काटेर आकांक्षीको नाम संकलन गर्दा मेयरमा १२ जनाले दाबेदारी प्रस्तुत गरेका छन्। त्यस्तै, उपमेयरमा ११ जनाले नाम दर्ता गराएको नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए।

आगामी वैशाख ३० गते हुने चुनावमा पोखरा महानगरपालिकाको मेयरका लागि एमालेबाट प्रदेश सांसद कृष्णबहादुर थापा र राजिव पहारी, मीनाकुमारी गुरुङ, रश्मी आचार्य, भीम कार्की, दीपक पौडेल, पुष्पज्योति ढुंगाना, दर्शन लामा, बालासिंह काउछा मगर, प्राडा विश्वकल्याण पराजुली, पुष्पराज अधिकारी र सावित्री भण्डारीले नाम दर्ता गराएका छन्। मेयरका लागि आकांक्षा राख्ने थापा गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। पहारी प्रदेशसभा सदस्य तथा एमाले कास्कीका सहईञ्चार्ज हुन्।

त्यस्तै, गुरुङ एमालेका केन्द्रीय सदस्य तथा कास्की सहइञ्चार्ज हुन् भने आचार्य अनेरास्ववियुका पूर्वउपाध्यक्ष तथा एमाले गण्डकी प्रदेशका उपसचिव हुन्। यसैगरी, कार्की एमालेका केन्द्रीय सदस्य, पौडेल एमाले गण्डकीका सचिवालय सदस्य, ढुंगाना हाइड्रो व्यवसायी, लामा पोखरा–१३ का वडाध्यक्ष, काउछा मगर एमाले केन्द्रीय सदस्य तथा कास्की सहईञ्चार्ज हुन्। त्यस्तै, प्रा.डा.पराजुली समाजशास्त्री हुन् भने अधिकारी पर्यटन व्यवसायी हुन्। मेयरका लागि आकांक्षा देखाउने अर्की महिला भण्डारी जिल्ला समन्वय समिति (जिसस) कास्कीका उपप्रमुख हुन्।

एमालेबाट उपमेयरका लागि ३ महिलासहित ११ जनाले नाम दर्ता गराएका छन्। यसरी नाम दर्ता गराउनेमा शोभामोहन पौडेल, जीवनप्रसाद आचार्य, शुष्मा पौडेल, तेजनारायण अधिकारी, टीकाराम पंगेनी, देवका पहारी त्रिपाठी, हरिमाया गुरुङ, बैनबहादुर अधिकारी क्षेत्री, सञ्जीवबहादुर कोइराला, वामदेव ढुंगाना र बलराम गायक छन्। 

उपमेयरका लागि नाम दर्ता गराउने पौडेल पोखरा–१९ का वडाध्यक्ष, आचार्य पोखरा–१६ का वडाध्यक्ष हुन्। त्यस्तै उपमेयरका लागि नाम दर्ता गराएकी शुष्मा पौडेल पत्रकार तथा अधिवक्ता हुन् भने अधिकारी एमाले पोखरा महानगर कमिटीका उपाध्यक्ष, पंगेनी लेखनाथ क्षेत्रमा प्रभाव राख्ने नेता हुन्। त्यस्तै, पहारी र गुरुङ पुराना कम्युनिस्ट नेतृहरू हुन् भने अधिकारी जिसस कास्कीका प्रमुख हुन्। कोइराला नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी प्रदेश अध्यक्ष तथा एमालेनिकट नेपाल राष्ट्रिय उद्योग महासंघका स्थायी कमिटी सदस्य हुन्। यसैगरी, ढुंगाना रेडक्रस कास्कीका निवर्तमान अध्यक्ष हुन् भने गायक पिछडा वर्गको उत्थानमा खटिएका युवा नेता हुन्।

एमालेबाट मेयर र उपमेयरका लागि जिसस कास्कीका हालका पदाधिकारी दुबैले दाबी गरेका छन्। तर ताजुबलाग्दो कुरा के छ भने जिसस कास्कीका उपप्रमुख सावित्री भण्डारीले मेयरका लागि दाबी गरेकी छन् भने जिसस कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले उपमेयरमा दाबी गरेका छन्।

मेयरका लागि हालका मेयर तथा उपमेयर दुबैले दाबी गरेनन्। मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङ दुबैले आगामी कार्यकालका लागि कुनैपनि पदमा दाबी नगरेका हुन्। मेयर जिसी विरामी छन् भने उपमेयर गुरुङले मेयरमा आकांक्षा राख्दै आएकी थिईन्। तर मंगलबार पार्टीमा उनले मेयरको दाबेदारी प्रस्तुत गर्दै नाम दर्ता भने गरिनन्।

एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दीलिप न्यौपानेले मंगलबार आकांक्षीहरूको नाम मात्र लिइएको बताए। उनले अन्य आकांक्षीहरू भए भनेपनि उनीहरूले नाम दर्ता गराउन नपाउने बताए। ‘आकांक्षीहरूको नाम लिइएको छ। नाम दर्ता गराएकाहरूबीच अब सहमतिको प्रयास हुन्छ। अरूको नाममा छलफल हुँदैन’–उनले भने। उनका अनुसार बुधबार सहमतिको अधिकतम प्रयास हुनेछ। सहमति नभए विहीबार लोकतान्त्रिक प्रक्रियाबाट ३÷३ जनाको नाम सिफारिस गरिने उनले बताए।

महानगरले सिफारिस गरेको नामको आधारमा जिल्ला, प्रदेशहुँदै केन्द्रसम्म पुगेर निर्णय हुने एमाले पोखरा महानगर कमिटीका उपाध्यक्ष तथा उपमेयरका आकांक्षी तेजनारायण अधिकारीले जानकारी दिए।

प्रकाशित: ३० चैत्र २०७८ ००:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App