१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

आकांक्षी धेरै, तनावमा शीर्ष नेता

स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा विभिन्न दलका शीर्ष नेता महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा उम्मेदवार छनोटको विषयलाई लिएर तनावमा छन्।

उम्मेदवार बन्न हानथाप देखिएपछि कसरी सहमति जुटाएर टुंगो लगाउने भन्ने विषयमा दलका शीर्ष नेताहरू अलमलमा परेका हुन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सबैले मेयर पदमा दाबी गरेपछि कसरी भागबन्डा गर्ने भन्ने समस्या देखिएको छ। प्रमुख प्रतिपक्षी दल एमालेमा पनि आकांक्षी धेरै भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको छ।

सत्ता गठबन्धन बनाउन मुख्य भूमिका निर्वाह गरेका नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कम्तीमा एउटा महानगरपालिका र एउटा उपमहानगरपालिकाको मेयर आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरिरहेका छन्। माओवादी केन्द्रले भरतपुरसहित कम्तीमा दुईवटा महानगरपालिकामा मेयर दाबी गरिरहेको छ। कांग्रेसले पनि भरतपुरको मेयरमा दाबी गरेपछि समस्या देखिएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा पनि गठबन्धनबीच कसरी तालमेल गर्ने भन्ने समस्या देखिएको छ।

कांग्रेसले सकेसम्म सबै महानगरपालिकामा उम्मेदवारी दिने बताए पनि आकांक्षी धेरै भएको बहानामा माओवादी, जनता समाजवादी पार्टी र नेकपा एसलाई एकएकवटा महानगरपालिका दिएर आफूले तीनवटा लिने तयारी गरेको छ। भरतपुरमा माओवादी केन्द्र, विराटनगरमा कांग्रेस, वीरगन्जमा जसपा, ललितपुर र काठमाडौं महानगरपालिकामा कांग्रेस र पोखरामा नेकपा एसले पाउनेगरी भागबन्डा गर्ने तयारी शीर्ष नेताहरूको छ।

महानगरपालिकाहरूमा एमालेसँग कडा टक्कर हुने आकलनसहित सकेसम्म सर्वसम्मत उम्मेदवार चयन गर्ने तयारीमा सत्ता गठबन्धनका शीर्ष नेता छन्। तर कांग्रेसका स्थानीय नेता र कार्यकर्ताले केन्द्रबाट हुने निर्णय मान्ने अवस्था छैन। भरतपुर महानगरपालिकाको मेयर आफूले नपाए मेयर र सबै वडामा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी त्यहाँका नेता–कार्यकर्ताले दिएका छन्।

पोखरा महानगरपालिकाको मेयर पनि आफूले पाउनुपर्ने दाबी गर्दै त्यहाँका कांग्रेस नेता कार्यकर्ता प्रधानमन्त्री एवं सभापति देउवालाई भेट्न काठमाडौं आएका छन्। पोखरा महानगरपालिकामा गठबन्धन गर्नुभन्दा एकल उम्मेदवार दिए कांग्रेसले जित्ने दाबी उनीहरूको छ।

नेकपा एसले दाबी गरेको काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पनि समस्या देखिएको छ। त्यहाँ कांग्रेसका जिल्ला नेता उपेन्द्र कार्कीलगायतको टिमले मेयर नछाड्ने जनाएको छ। नेकपा एसले आफ्नो पक्षमा रहेका वर्तमान मेयर कृष्णहरि थापालाई गठबन्धनबाट जसरी पनि टिकट दिनुपर्ने अडान लिएपछि विवाद उत्पन्न भएको हो। अघिल्लोपटक कार्की थापासँग थोरै मत अन्तरले पराजित भएका थिए। थापा र कार्कीबीचको सम्बन्ध पनि राम्रो नभएपछि गठबन्धन दलबीच तालमेल गर्न समस्या देखिएको छ। काठमाडौं महानगरपालिकामा पनि नेकपा एसले उपमेयर पाउनुपर्ने दाबी गरेको छ।

काठमाडौं महानगरपालिका आफूले लिने कांग्रेसको तयारी छ। काठमाडाैँ महानगपालिकामा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा कांग्रेसले कुनै निर्णय गरेको छैन। अहिले काठमाडौं महानगरपालिकामा एमालेका मेयर र कांग्रेसका उपमेयर छन्। त्यस्तै भरतपुरमा माओवादीका मेयर र कांग्रेसका उपमेयर छन्। 

अहिले चितवन कांग्रेसले भरतपुरको मेयर नछाड्ने बताइरहेको छ। वीरगन्ज महानगरपालिकाको नेतृत्व लिन भने गठबन्धनका कुनै पनि पार्टीले अहिलेसम्म दाबी गरेका छैनन्। अघिल्लो निर्वाचनमा वीरगन्जमा जसपाले मेयर र कांग्रेसले उपमेयर जितेका थिए।

कांग्रेस सभापति देउवाकै गृहजिल्ला डडेलधुरामा पनि गठबन्धनमा समस्या देखिएको छ। कांग्रेस डडेलधुराको असन्तुष्ट समूहले छुट्टै उम्मेदवार उठाउने बताएको छ। अघिल्लो निर्वाचनमा नेकपा एमालेले जितेका स्थानीय तहमा माओवादी केन्द्र र नेकपा एसले भागबन्डा गरेर लिने तयारी गरेपछि कांग्रेसका स्थानीय नेताहरूले आपत्ति जनाएका छन्। गठबन्धनका शीर्ष नेताहरूले केन्द्रबाट भागबन्डा गर्ने भनेपछि खासगरी कांग्रेसमा असन्तुष्टि बढेको छ।

एमालेमा पनि उम्मेदवार छनोटको विषयले शीर्ष नेतालाई पिरलेको छ। पछिल्लोपटक विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकाले नै मेयरको टिकट दाबी गरिरहेका छन्। एमाले प्रवेश गरेका दुई नेता मेयरका लागि सर्वसम्मत सिफारिसमा परेपछि पुराना नेता–कार्यकर्ता रुष्ट बनेका छन्। एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका लागि पशुपतिदयाल मिश्र र रंगेली नगरपालिकाको मेयरका लागि दिलीप बगडिया सर्वसम्मत सिफारिसमा परेका छन्।

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र नागरिक अभियान परित्याग गरी मिश्र मंसिर १ गते एमाले प्रवेश गरेका थिए। बगडिया २५ फागुनमा नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका थिए। बगडिया अघिल्लो चुनावमा माओवादीका तर्फबाट उक्त नगरपालिकाको मेयरमा विजयी भएका हुन्।

एमाले नेपालगन्ज नगर कमिटी बैठकले मिश्रलाई सर्वसम्मत रूपमा मेयरको उम्मेदवार बनाउन सिफारिस गरेको छ। नेपालगन्जको उपमेयरका लागि उम्मेदवार बनाउन केन्द्रीय सदस्य शान्ति ढकाललाई सिफारिस गरिएको छ। केन्द्रीय सदस्यलाई उपमेयर र भर्खर पार्टीमा आएकालाई मेयरको उम्मेदवार बनाउन सिफारिस भएपछि असन्तुष्टि उत्पन्न भएको छ।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार रंगेलीमा बगडियासँगै धनपालथान गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि मुसहरू मण्डल सिफारिस भएका छन्। एमालेले वीरगन्ज महानगरपालिकामा जसपा छाडेर आएका विजय सरावगीलाई उम्मेदवार बनाउने सम्भावना छ। अघिल्लो चुनावमा जसपाबाट वीरगन्ज महानगरपालिकाको मेयरमा विजयी सरावगी अहिले चुनावको मुखमा एमालेमा प्रवेश गरेका हुन्।

झापाको मेची नगरपालिकामा उम्मेदवार सिफारिस गर्दा समस्या देखिएका कारण त्यहाँका पुराना एमाले नेता डिल्लीराम घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन्। बुटवल उपमहानगरपालिकामा एमालेबाट ८ जनाले मेयर दाबी गरेका छन्। त्यसैगरी विराटनगर महानगरपालिकाको मेयरका लागि एमालेबाट ६ जनाको नाम सिफारिस भएको छ। एमालेबाट काठमाडौं र पोखरा महानगरपालिकाको मेयरमा दाबी गर्ने पनि धेरै छन्। जति धेरै आकांक्षी भए पनि एमालेले सर्वसम्मतरूपमा उम्मेदवार चयन गर्ने जनाएको छ।

प्रकाशित: ३० चैत्र २०७८ ००:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App