२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तनहुँमा नेपाली कांग्रेस ठुलो दल बनेको थियो। पाँच स्थानीय तहमा प्रमुख/उपप्रमुख दुवै पदमा जित हासिल गरेको कांग्रेसले एकएक स्थानीय तहमा प्रमुख/उपप्रमुखमा जित हासिल गरेको थियो।
व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा कांग्रेसले प्रमुख/उपप्रमुख दुवै पदमा जितेको थियो। शुक्लागण्डकी नगरपालिकामा प्रमुख र देवघाट गाउँपालिकामा उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए। ८५ मध्ये ५० वडाध्यक्षमा पनि कांग्रेसका उम्मेदवारको पल्ला भारी भएको थियो।
एमालेले भिमाद र घिरिङ गाउँपालिकामा प्रमुख÷उपप्रमुख दुवै जित्यो। देवघाटमा प्रमुख र शुक्लागण्डकीमा उपप्रमुख मात्र जित्न सफल भयो। ३० वडामा वडाध्यक्ष एमालेले जितेकामा तीन वडाध्यक्षले पार्टी विभाजनसँगै नेकपा एकीकृत समाजवादी रोजेका छन्। माओवादी केन्द्रले बन्दीपुर गाउँपालिकाको प्रमुख/उपप्रमुखसहित जिल्लाका पाँच वडाध्यक्ष जितेको थियो।
आसन्न स्थानीय निर्वाचनमा सत्ता साझेदार पाँच दलले गठबन्धन गरेर स्थानीय निर्वाचनमा होमिने निर्णय गरेका छन्। तनहुँमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गरेर निर्वाचनमा होमिने भएका छन्। गठबन्धनका लागि कार्यदल बनाउने निर्णयसमेत गरेका छन् सत्ता साझेदार यी दलले।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला भएकाले यहाँ स्थानीय तहको निर्वाचनमा प्राप्त हुने परिणाम निकै अर्थपूर्ण तरिकाले हेरिन्छ। गठबन्धन गरेर विगतमा भन्दा अझ धेरै स्थानमा जित हासिल गर्न चाहन्छ नेपाली कांग्रेस। तर गठबन्धन गरे पनि कांग्रेसले कारबाही गरेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूह भारी बन्न सक्ने आँकलन छ।
१० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि जोशीलाई कारबाही गरेको थियो। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा कारबाही भोगेका जोशीको समूह तनहुँ कांग्रेसका लागि चुनौती बन्ने कांग्रेस नेताहरू नै स्विकार्छन्।
पटकपटक मन्त्री हुँदा विकास निर्माणमा जोशीले खेलेको भूमिकाका कारण उनको जनाधार गाउँगाउँमा समेत भएको पाइन्छ। जोशी पक्षका कार्यकर्तालाई आसन्न स्थानीय तहको निर्वाचनमा सम्मानजनक भूमिका नदिएको खण्डमा कांग्रेसको पकड भएको स्थानीय तहमै जित हासिल गर्न मुस्किल हुन सक्छ।
उनका छोरा दीपकराज जोशीले कांग्रेसको पकड मानिएको व्यास नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। बुधबार उनले दमौलीमा सम्पर्क कार्यालय नै स्थापना गरे। उनलाई कांग्रेसले समर्थन गर्ने सम्भावना ज्यादै न्यून छ। कांग्रेसको समर्थन नभए पनि स्वतन्त्र तवरले निर्वाचन लड्ने उनी बताउँछन्। बार्गेनिङका लागि उम्मेदवारी दिए चर्चा हुँदा उनी कुनै हालतमा पछाडि नहट्ने बताउँछन्।
उनी भन्छन्, ‘मैले कांग्रेसमा मेयरको आकांक्षीको सूचीमा पनि नाम हालेको छु। कांग्रेसले चाहे टिकट दिन्छ। नदिए पनि स्वतन्त्र तरिकाले लड्छु।’ कांग्रेसले आफूलाई समर्थन नगरे पनि अन्य पार्टीसँग गठबन्धन हुन सक्ने उनले जनाए। उनले थपे, ‘एमालेसँग पनि गठबन्धन हुन सक्छ। कांग्रेसमै टिकट नपाएर अनसन्तुष्टहरूसँग पनि नहोला भन्न सकिँदैन। वडामा जित्नका लागि कोही मैले जित्नैपर्छ मलाई सहयोग गर्नुस् मेयर तपाईलाई बनाउँछु भन्न पनि आउन सक्छन्। कांग्रेसबाट उठाएको मेयर उसलाई मन नपर्ला। बाहिरी रूपमा नभए पनि भित्री सहयोग त गर्न सक्छ नि त।’
कांग्रेसले एक्लौटी गरे व्यासमा मात्रै नभएर सबै स्थानीय तहमा आफू उम्मेदवारले निर्वाचन लड्ने स्वयं गोविन्दराज बताउँछन्। जिल्लाभर आफू पक्षधरका उम्मेदवारको नामावली संकलन भइरहेको उनले जानकारी दिए। उनले वार्ता गर्नका लागि समितिसमेत बनाएका छन्। ‘समितिको पहिलो प्राथमिकता नेपाली कांग्रेससँग वार्ता गर्ने हो। यदि भएन भने अरू पार्टीहरूसँग पनि कुरा मिल्यो भने सहकार्य गरेर जान सकिन्छ,’ उनले भने। नेपाली कांग्रेस वार्ता गर्ने पक्षमा नरहेको उनले सुनाए।
‘नेपाली कांग्रेससँग वार्ता हुने सम्भावना छैन। नेपाली कांग्रेसले उम्मेदवारको नामावली संकलन गरिरहेको छ। ‘हाम्रा साथीले क्रियाशील सदस्यता नवीकरण गर्नुभएको छैन। उम्मेदवारको नामावली संकलन गर्दा कांग्रेसले अनिवार्य क्रियाशील सदस्य नम्बर राख्या छ। हाम्रा साथीहरू चुनावमा सहभागी हुनसक्ने सम्भावना छैन, कांग्रेसको तर्फबाट। त्यसकारण नेपाली कांग्रेससँग वार्ताको सम्भावना विस्तारै टुंगिँदै गएको छ,’ उनले भने। एमालेलगायत अन्य दलसँग पनि मिलेर जान सकिने उनले संकेत गरे।
एमालेले पनि छलफल भएको खण्डमा जोशी समूहसँग सहकार्य गर्न सक्ने उल्लेख गरेको छ। एकीकृत समाजवादीबाहेक जुनै पार्टीसँग पनि सहकार्य हुनसक्ने नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘नेकपा एमालेको नीति एक्लै लड्ने, आफैंभित्र भर पर्ने भन्ने छ। तालमेलको कुरा परिस्थितीजन्य हिसाबले छलफल गर्न पर्ने भए यो पक्ष भन्ने हुँदैन। एकीकृत समाजवादीबाहेक अरू सबै दलसँग छलफल हुन सक्छ।’
चार दलसँग गठबन्धन गर्न लागेको कांग्रेसलाई भने जोशी पक्षकै डर छ। कांग्रेससँग समझदारी हुन नसकेर अन्य दलसँग जोशी पक्षको सहकार्य भएमा धक्का पुग्ने जिल्लाका नेताहरू स्विकार्छन् पनि। ‘पार्टी विग्रह भएपछि धक्का पुग्ने त स्वाभाविक हुन्छ। २०७४ सालमा भएको क्षतिलाई रिकभर गर्ने प्रयासमा हामी छौं,’ जिल्ला सभापति जितप्रकाश आलेले भने। जोशी पक्षलाई मिलाएर लैजान जिल्लास्तरमा कुनै समस्या नरहेको उनको भनाइ छ। उनले अगाडि भने, ‘कारबाही केन्द्रले गरेको हो। जिल्लाले खासै केही गर्न सकिँदैन। जिल्लाबाट मिलेर जानुपर्छ। सबैलाई लानुपर्छ भन्ने प्रयत्नमा हामी छौँ। त्यो कुरा केन्द्रलाई झकझक्याउने काम गर्दै छौँ।’
प्रकाशित: २७ चैत्र २०७८ ०६:२१ आइतबार