८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेसँग नजिकिँदै थापा

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचन प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेर जाने संकेत गरेका छन्।

एमालेले स्थानीय तहको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जनाउँदै आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएर नयाँ दल गठन गरेका थापाले एमालेसँग तालमेल गरेर सूर्य चिह्नबाट चुनावी प्रतिस्पर्धा गर्न पनि तयार रहेको बताएका हुन्।

वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि शुक्रबार पार्टी घोषणपत्र सार्वजनिक गर्दै थापाले निर्वाचन तालमेलका लागि एमालेसँग प्रारम्भिक छलफल भएको पनि बताए। एमालेसँग सहकार्य र तालमेल गरेर जाने कुरा केन्द्रीय कार्यसमितिको बैठकले आफूलगायत पदाधिकारीलाई जिम्मा दिएको उनले बताए

‘साझा चुनाव चिह्नबाट मैदानमा जाने कुरा भएको छ,’ थापाले भने। राजतन्त्र र हिन्दु राज्यको पक्षमा ओकाल गर्दै आएका थापा पार्टी अध्यक्षमा पराजित भएपछि राजतन्त्रको विपक्षमा उभिएका छन्। सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको वकालत गर्दै थापाले सहमतिका आधारमा वर्तमान संविधानमा संशोधन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले अति विपन्न परिवारलाई पानी र बिजुली बत्तीको महसुलमा ५० प्रतिशत छुट, आमा र नाबालकलाई संयुक्त रूपमा शिक्षा, स्वास्थ्य र पोषणको ग्यारेन्टीका लागि मासिक रकम अनुदानसहित जनता केन्द्रित विशेष कार्यक्रम घोषणापत्रमा समेटेका छन्।

निजी क्षेत्रलाई प्रोत्साहन गर्दै स्थानीय तहमा कृषि, पूर्वाधार विकास, उद्योग, वाणिज्य, सञ्चार, पर्यटन एवं ऊर्जा प्रवद्र्धनजस्ता क्षेत्रमा निजी क्षेत्रको भूमिकामा उनले जोड दिएका छन्। महिला सशक्तीकरण, तराई–मधेसको समुत्थान, आदिवासी जनजाति, उत्पीडित, मुस्लिम समुदाय तथा दुर्गम क्षेत्रको उत्थान, बालबालिका तथा युवा लक्षित विकाससहितका क्षेत्रलाई थापा नेतृत्वको पार्टीले जोड दिएको छ।

प्रकाशित: २६ चैत्र २०७८ ००:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App