२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्री मनाङेद्वारा कर्मचारीमाथि हातपात

कर्मचारीलाई कुटपिट गर्ने युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे।

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आफ्नै मन्त्रालयका कर्मचारीलाई हातपात गरेका छन्। उनले गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत अधिकृत (आठौं तहका कर्मचारी) प्रकाश ओझालाई कुटपिट गरेका हुन्। मंगलबार योजना कार्यान्वयनका विषयमा छलफल भइरहँदा मन्त्री र कर्मचारीबीच विवाद भएपछि मन्त्री मनाङेले कुटपिट गरेको स्रोतको भनाइ छ।

कुटपिट भएलगत्तै ओझाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीलाई जानकारी गराएको बताइएको छ। कुटपिटबाट त्रसित उनी स्थानीय मेट्रोसिटी अस्पताल भर्ना भएका थिए। अस्पताल स्रोतले उनी डिस्चार्ज भइसकेको बताएको छ। उनी आफू भने मोबाइल स्विच अफ गरेर बसेका छन्।

घटनाबारे कास्की प्रहरी मौन छ। कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले घटना भएको समाचारबाट थाहा भए पनि उजुरी नपरेको बताए। ‘हामीले पनि समाचार हेरेर थाहा पाएका हौं। अहिलेसम्म कसैले उजुरी गरेको छैन। घटनाबारे थप जानकारी भएन’, उनले भने।

मन्त्री मनाङेले भने आफूले कर्मचारीलाई सम्झाएको बताएका छन्। योजना कार्यान्वयन छिटो गर्न निर्देशन दिँदा पनि ढिलासुस्ती भएपछि आफूले सामान्य रुपमा सम्झाएको उनको भनाइ छ। मन्त्रीका निजी सचिव राजेन्द्र आचार्यले पनि कर्मचारीमाथि कुटपिट भएको कुरा सत्य नभएको बताए। ‘मन्त्रीज्यूबाट हप्कीदप्की भएको साँचो हो। तर कुटपिट नै भएकोचाहिं सत्य होइन’, उनले भने। घटना हुँदा आफू मन्त्रालयबाहिर रहेकाले थप जानकारी नभएको उनले थपे।

मन्त्रालय स्रोतका अनुसार मन्त्री मनाङेले योजनाहरू कार्यान्वयन छिटो गराउन निर्देशन दिएका थिए। योजनाहरूकै बारेमा ब्रिफिङ गर्ने क्रममा मन्त्रीलाई चित्त नबुझेपछि उनले दुव्र्यवहारसहित हातपात गरेका थिए। उनले कर्मचारीलाई कुटपिट गरेको यो पहिलोपटक भने होइन। 

मन्त्री मनाङेले यसअघि युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुखलाई पेपर वेट (कागजातको बन्डल) ले प्रहार गरेका थिए। त्यस बेला मन्त्री मनाङेको पुरानो छविका कारण उनीसँग बोल्न डराएपछि त्यो कुरा गुपचुप राखिएको थियो। तर मंगलबारको घटना सार्वजनिक भएलगत्तै पहिलेको घटना पनि सार्वजनिक भएको छ।

मंगलबार मन्त्री मनाङेले कर्मचारीको व्यवहार मन नपरेपछि कुटपिट गरेको स्रोत बताउँछ। स्थानीय तह निर्वाचनको आचारसंहिताअघि नै योजनाहरू कार्यान्वयनमा लैजानुपर्ने निर्देशन मन्त्री गुरुङले कर्मचारीलाई दिएका थिए। ‘योजनाहरू धेरै छन्। मन्त्रीको निर्देशन र बजेटमा तालमेल भएन अर्थात् बजेटमा फेरबदल देखियो। बजेटमा देखिएको फरकले गल्ती कसरी भयो भन्ने प्रश्न मन्त्रीले गरे। त्यसपछि कर्मचारी र मन्त्रीबीच विवाद भयो’, मन्त्रालय स्रोतले भन्यो।

युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले घटनाबारे पूर्ण जानकारी लिइनसकेको बताए। ‘मुख्यमन्त्री, आन्तरिक मामिला मन्त्री, सचिवहरू बाग्लुङ बैठकमा थियौं। घटनाको विस्तृत बुझ्न पाइएको छैन्। प्रकाश ओझाजीको मोबाइल स्विचअफ छ’, अधिकारीले भने, ‘पोखरा आएपछि प्रकाशजीसँग बुझेपछि मात्रै घटनाको वास्तविकता बाहिर आउँछ।’ उनका अनुसार मंगलबार नै ओझाले घटनाबारे जानकारी गराउँदै आफू बिदा बस्ने बताएका थिए।

मंगलबारको घटना सार्वजनिक भएलगत्तै सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर कर्मचारीमाथि बारम्बार कुटपीट भएको उल्लेख गरेकी छन्। उनले आफूमाथि पनि यस्तै घटना भएको संकेत गरेकी छन्। उनले कार्यस्थल अति अत्याचार हिंसा स्थलको रुपमा स्थापित भएको भन्दै भनेकी छन्, ‘पहिले पनि महाशाखा प्रमुख (आफैं) लाई पेपर वेट (कागजात) ले हानेर झन्डै अकालमा ज्यान गएको थियो, त्यति खेर सबै कर्मचारी मिलेर विरोध गरेको भए आज फेरि यो घटना दोहोरिने थिएन।’ उनले मन्त्रीको व्यवहारका कारण काम गर्न असजिलो भएको उल्लेख गर्दै तलब खाए पनि ‘न हेरी छोड्नु न गरी छोड्नु’ भएको उल्लेख गरेकी छन्।

काम गर्ने वातावरण नभएको भन्दै उनले लेखेकी छन्, ‘जताततै राक्षसको बिगबिगी छ। ग्याङ हिंसा चरमचुली छ। न ज्यानको ग्यारेन्टी छ न इज्जतको। सिस्टल नै फेल छ। नो वर्किङ इन्भायरोमेन्ट।’ उनले मन्त्रालयको कार्यस्थलमा जेलमा बस्नेसँग अपराधबारे सिक्न गएजस्तै महसुस हुने गरेको उल्लेख गरेकी छन्।

मन्त्री मनाङेले दुई वर्षअघि पनि कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेका थिए। तत्कालीन समयमा उनी प्रदेशसभा सदस्य थिए। प्रदेशसभा सदस्य मनाङेले लेखनाथस्थित भण्डारढिक खेल मैदानमा आयोजित मुख्यमन्त्री कपको उद्घाटन समारोहमै संघका अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए।

प्रकाशित: २४ चैत्र २०७८ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App