६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली–नेपाल भनावैरी ठाकुर–यादव शान्त

एमालेबाट अलग भएर अलगै पार्टी बनाएका माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भनाबैरी र आरोपप्रत्यारोप भइरहेको छ भने जनता समाजवादी पार्टी (जसपा) बाट अलग्गिएका महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादव भने शान्त देखिएका छन्। एमालेबाट नेपाल र जसपाबाट ठाकुर एकैदिन अलग भएका थिए।

गत भदौ १ गते जसपा विभाजन गरी ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतका नेताहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यसैदिन एमाले विभाजन गरी नेपाल, झलनाथ खनाललगायतका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ता गर्न आयोगमा निवेदन दिएका थिए। भदौ ९ गते आयोगले लोसपा र नेकपा (एस) लाई दलको रूपमा मान्यता दिएको थियो।

एमाले अध्यक्ष ओली र नेकपा (एस) का अध्यक्ष नेपालले सार्वजनिक रूपमा एकअर्कोलाई गाली गर्दै आएका छन्। व्यक्तिगत रूपमै आरोपप्रत्यारोपमा दुई नेताहरू उत्रेका छन्। सार्वजनिक कार्यक्रमहरूमा ओलीले नेपालमाथि र नेपालले ओलीमाथि व्यंग्य गर्दै आएका छन्। तर यस्तो अवस्था जसपा र लोसपाका अध्यक्षहरूबीच छैन।

जसपा विभाजनपछि ठाकुर र यादव शान्त र संयम देखिएका छन्। विभाजनयता उनीहरूले सार्वजनिक रूपमा एकले अर्काको आलोचना गरेका छैनन्। दुवैले व्यक्तिगत तहमा ओर्लेर एकअर्काको आलोचना गरेका छैनन।मधेस विश्लेषक तथा बुद्धिजीवी डा. विजयकान्त कर्णले राजनीतिक संस्कार कम्युनिस्ट नेताहरूको भन्दा तराई मधेसकेन्द्रित दलका नेताहरूमा देखिएको बताए।

‘त्यो तहमा गाली र आलोचना जसपा र लोसपाका नेताहरूबीच भएको देखिएन,’ कर्णले भने, ‘त्यहाँ पनि नेताहरूले आलोचना गरेका छन। तर त्यो तहसम्म हुने गरेको छैन।’ ओली आत्तिएकाले व्यक्तिगत रूपमा गालीगलोजमा उत्रेको कर्णको विश्लेषण छ। ‘जो मान्छे आत्तिन्छ। उसले तत्कालै आफ्नो प्रतिक्रिया दिन्छ। अहिले ओलीमा त्यही प्रवृत्ति देखिएको छ,’ उनले भने।

त्यसो त पार्टी विभाजनपछि ठाकुर र यादवले पनि औपचारिक भेटघाट र बैठक गरेका छैनन्। गत मंसिरमा नेपाली कांग्रेस र एमालेको महाधिवेशनमा यी दुई नेता एकै मञ्चमा बसे। एमालेको महाधिवेशनमा ठाकुर र यादव मञ्चमा सँगै बसेका थिए। यसैगरी प्रतिनिधिसभा बैठकमा पनि यी दुई नेताहरूबीच भेटघाट हुन्थ्यो। पार्टी विभाजनपछि ठाकुर र यादव मधेसका दर्जनौं कार्यक्रममा सहभागी भइसकेका छन्। छुट्टाछुट्टै आयोजना गरिएका पार्टी प्रवेश कार्यक्रममा पनि यी दुई नेता सहभागी हुने गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा पनि यी दुइ नेताले एकअर्काको आलोचना गरेका छैनन्।

यति हुँदाहुँदै पनि आगामी स्थानीय तहको निर्वाचनमा जसपा र लोसपाबीच सहकार्य हुने सम्भावना निकै कम छ। चुनावी सहकार्यका लागि अहिलेसम्म यी दुई पार्टीका नेताहरूबीच औपचारिक अनौपचारिक तहमा कुराकानी नभएको लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले बताए। ‘स्थानीय तहको निर्वाचनमा जसपा र लोसपाबीच सहकार्य हुने सम्भावना निकै कम छ,’ झाले भने, ‘तर पनि राजनीतिमा असम्भव भन्ने हुँदैन।’

जसपा र लोसपाका शीर्ष नेताहरूले एकअर्काको आलोचना नगरेर राजनीतिक संस्कार देखाएको उनले बताए। ‘जसपा र लोसपाका अध्यक्षमात्र नभई शीर्ष नेताहरूले समेत एकअर्काको सार्वजनिक रूपमा आलोचना गरेको पाइएको छैन,’ झाले भने। भविष्यमा कुनै पनि बेला जसपा र लोसाबीच एकीकरण हुने सम्भावना रहेको बताउँदै झाले भने, ‘कुनै पनि बेला यी दुई पार्टीबीच एकीकरण हुने अवस्था छ। त्यसैले किन एकअर्कालाई गाली गर्ने?’

प्रकाशित: १० चैत्र २०७८ ०१:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App