२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमसिसीले अन्तर्राष्ट्रिय सम्बन्ध थप प्रगाढ:गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस नेतृत्वको सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई थप मजबुत बनाउन सफल भएको बताएका छन्।

शनिबार लुम्बिनीमा १५ शड्ढयाको अस्पताल शिलान्यास गर्दै गृहमन्त्री खाँणले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसिसी पारित गरेर नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थप सुद्धृढ र प्रगाढ बनाएको बताएका हुन्।

अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि बिग्रनुका साथै अन्य विदेशी सहयोगसमेत रोकिने खतरा बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय सम्बन्धलाई विश्वसनीय बनाउन प्रधानमन्त्री पद छोड्न तयार रहेर एमसिसीमा दृढ अडान लिएको गृहमन्त्री खाँणले दाबी गरे।

सगरमाथा र लुम्बिनीले परिचित नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई अमेरिकी परियोजना एमसिसीले थप मजबुत बनाएको दाबी गरे। एमसिसी पास भएसँगै अन्य दातृ निकायबाट समेत नेपालको सडक, स्वास्थ्य र विद्युतका क्षेत्रमा थप लगानीका लागि आश्वासन आउन थालेको उनले बताए। नेपाल र नेपाली जनताको हितमा रहेको एससिसी परियोजनाले सडक विद्युत् विकासमा फड्को मार्ने उनको दाबी छ।

लुम्बिनीको विकास समग्र देशको विकाससँग जोडिएको भन्दै उनले लुम्बिनीमा शिक्षा, स्वास्थ्य र पर्यटन विकासका लागि सरकारले बजेटको अभाव हुन नदिने बताए। शिलान्यास गरीएको अस्पताल तोकिएकै समयमा निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै गृहमन्त्री खाँणले समग्र लुम्बिनीको विकासका लागि आफू सधैं लागिपर्ने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दिन खाँ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी नेपाल प्रेस युनियनका केन्द्रीय सभापति बद्री सिग्देल, लुम्बिनी गार्डेन फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीलगायतले बोल्दै नेपाल बुद्ध र शान्तिको देश भएकाले यसलाई सदुपयोग गर्दै अन्तर्राष्ट्रिय सहयोग भित्र्याउनुपर्नेमा जोड दिए।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका इन्जिनियर आशिष यादवले २०८० माघभित्र अस्पताल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको जानकारी गराए। यसैबीच नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. १ ले धकधहीमा आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई पनि शनिबारै गृहमन्त्री बालकृष्ण खाँणले सम्बोधन गरेका छन्।

सो कर्याक्रममा बिभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकाहरूलाई गृहमन्त्री खाँणले टीका माला लगाएर पार्टीमा स्वागत गरेका थिए। सो क्रममा गृहमन्त्री खाँणले लोकतन्त्रको रक्षा र विकासका लागि कांग्रेसको जित आवश्यक भएको बताए।

सरकारको ध्यान वैशाख ३० गते हुने निर्वाचनमा केन्द्रित भएको बताउँदै उनले तोकिएको समयमा निर्वाचन सम्पन्न हुने र त्यसमा कांग्रेसले विजय हासिल गर्ने बताए। उनले एमसिसी सम्झौता पास गर्दा सुझबुझका साथ गरिएको दोहोर्‍याए। बिजुलीको तारबाट अमेरिकी सेना र गोलाबारुद नआउने भन्दै बजारमा ल्याइएका हल्ला भोटको राजनीति मात्रै भएको उनको भनाइ थियो।

सो अवसरमा एमाले रोहिणी गाउँपालिका कमिटीका सचिव, सहसचिवसहित विभिन्न वडाका सचिवसहित ५ सय नेताकार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणले बताए। कार्यक्रममा केन्द्रीय सदस्य अब्दुल रज्जाकलगायत नेताहरूले सम्बोधन गरेका थिए। 

प्रकाशित: २९ फाल्गुन २०७८ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App