६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘निर्वाचन चुनौतीपूर्ण’

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले देशभर आफ्नो संगठन कमजोर रहेको स्वीकार गरेको छ। अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा देशभर संगठन निर्माणको चरण कायमै रहेकाले तत्काल संगठन बलियो हुन नसकेको उल्लेख गरिएको छ। ‘अहिले हाम्रो पार्टीमाथि चुनौती खडा भएको छ। जहाँ निर्वाचन हुन्छ त्यहाँ पार्टीको उपस्थिति भएन भने समस्या उत्पन्न हुन्छ। त्यसकारण अहिलेको आवश्यकता संगठन निर्माण नै हो’, प्रतिवेदनमा भनिएको छ।  

गत भदौ ९ मा एमालेबाट विभाजित भएर बनेको नेकपा एसको केन्द्रीय कमिटीको बैठक बुधबार काठमाडौंमा सुरु हुँदैछ। सो बैठकमा प्रस्तुत गर्न अध्यक्ष नेपालले तयार पारेको राजनीतिक प्रतिवेदनमा स्थानीय तहको निर्वाचन घोषणा भैसकेको र त्यसका लागि सबै स्थानीय तह र जिल्लामा संगठन विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। अध्यक्ष नेपालले प्रतिवेदनमा राष्ट्रिय राजनीतिक परिस्थिति अझै पनि तरल अवस्थामै रहेको उल्लेख गरेका छन्।

‘मुलुक संविधानले निर्देश गरेको दिशामा स्थिर ढङ्गले अगाडि बढ्न सकेको छैन, नेपाली राजनीतिक आकाशमा अस्थिरताका काला बादल अझै पनि मडारिरहेका छन्,’ उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्। प्रतिगमनकारी षड्यन्त्रका तानाबाना अझै पनि बुनिँदै गरेको र जनप्रतिनिधिहरूले जनताका आवाज मुखरित गर्नुपर्ने थलो संसद् अलोकतान्त्रिक एवं प्रतिगमनकारी चिन्तन र व्यवहारको सिकार बनिरहेको भन्दै त्यसलाई चिर्नुपर्ने उल्लेख गरेका छन्।

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका दौरान आफ्ना विचार र योजनाहरू लिएर जनतामाझ जाने र उनीहरूको मत लिएर जनसमर्थन प्राप्त सुदृढ राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गर्नुपर्ने चुनौती खडा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। ‘जहाँ निर्वाचन हुने हो त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन, हामीले सवै वडामा त के सबै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं, कतिपय कमिटीहरूलाई, यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं, यस्तो स्थिति अब रहिरहनु हुँदैन।

गठन भइसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने गरी जानुपर्छ,’ नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्। आगामी निर्वाचनको तयारी मुख्य काम भएको भन्दै अध्यक्ष नेपालले पार्टीले प्राप्त गर्ने सफलताले राजनीतिक हैसियत र भावी राजनीतिक यात्राको आधार पनि निर्माण गर्ने हुँदा पार्टीको ध्यान त्यता आकर्षित गर्न सबै नेताहरूलाई आग्रह गरेका छन्। ‘आफ्नो सम्पूर्ण शक्तिका साथ यस निर्वाचनको तयारीमा लाग्नु आजको हाम्रो केन्द्रीय कार्य हो।

यस केन्द्रीय कार्यमा पार्टी र जनसङ्गठनका सबै कमिटी तथा पार्टी सम्बद्ध सबैलाई सम्पूर्ण रूपले परिचालित गरौं,’ उनले प्रतिवेदनमा उल्लेख गरेका छन्। साथै सो प्रतिवेदनमा राजनीतिक रूपमा गठबन्धनबाटै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको वर्चश्व कायम हुने समेत उल्लेख गरेको स्रोतले जनाएको छ। सो प्रतिवेदन सोमबार बसेको पोलिटब्युरो बैठकमा पेस गरिएको थियो। सो प्रतिवेदनमा एमाले अध्यक्ष केपी ओली र एमालेलाई गाली गरिएको छ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा एमाले अध्यक्षले जस्ताको तस्तै अनुमोदन गराउन खोजेको तर नेकपा एस पार्टीकै बलमा व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको समेत उल्लेख गरेका छन्। एमाले अध्यक्ष ओलीले गठबन्धन टुटाउन हरप्रयास गरेको, त्यसलाई आफूहरूले असफल बनाएको समेत आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेको स्रोतले जनाएको छ।

नेकपा एसले सबै स्थानमा संगठन नभएको स्वीकार गरेको भए पनि गठबन्धनलाई बलियो बनाएर लैजाने विषयमा जोड दिएको छ। अध्यक्ष नेपालले प्रतिवेदनमा अहिलेको गठबन्धन तीन तहको निर्वाचनसम्म कायमै रहने उल्लेख गरेका छन्। उनले विचार मिल्ने समूहसँग पार्टी एकता र सहकार्य गर्नेसमेत उल्लेख गर्दै निर्वाचनमा जान पार्टीपंक्तिलाई आग्रह गरेका छन्। तर एमसीसी प्रकरणमा नेता झलनाथ खनालले आलोचना गरेकोमा त्यसलाई तल्लो तहमासम्म लैजान जरुरी नभएको पनि अध्यक्ष नेपालले पेश गर्ने प्रतिवेदनमा उल्लेख गरेका छन्।

साथै अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा नेकपा एस पार्टीलाई निकै चुनौती रहेको र यसको सामना गर्न सबै पार्टी पंक्ति तयार हुनुपर्ने समेत प्रतिवेदनमा उल्लेख भएको नेकपा एसका एक पोलिटब्युरो सदस्यले बताए। उक्त पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बुधबार केन्द्रीय कमिटीको बैठक सुरु हुने भएकाले त्यसका समग्र राजनीतिक परिस्थितिको बारेमा छलफल हुने बताएका छन्। उनले यो बैठक दुई दिनसम्म चल्ने र स्थानीय तहको निर्वाचन तथा संगठन निर्माणमा केन्द्रित हुनेसमेत बताए।

प्रकाशित: २५ फाल्गुन २०७८ ००:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App