१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको संस्थापनभित्र उम्मेदवारको आधिकारिकता विवाद

कांग्रेसको संस्थापन पक्षबाट उम्मेदवार बनेका सुरेन्द्र हमाल र बादशाह कुर्मी।

नेपाली कांग्रेसको १४औं अधिवेशन अन्तरगत बाँकेमा हुन लागेको निर्वाचनमा संस्थापन (शेरबहादुर देउवा) पक्षभित्र सभापतिको आधिकारिक उम्मेदवारका विषयमा विवाद उत्पन्न भएको छ। पटक–पटक स्थगित हुदै आएको कांग्रेस बाँकेको निर्वाचन यही फागुन १९ गते नेपालगन्जमा हुदैछ।  

उक्त निर्वाचनका लागि संस्थापन पक्षबाट पुर्वसभासद बादशाह कुर्मी र लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्रबहादुर हमाल तथा संस्थापन इतर(डा. शेखर कोइराला) पक्षबाट जिल्ला सदस्य नारायणप्रसाद गौडेल सभापतिका उम्मेदवार रहेका छन्।  

निर्वाचनको पुर्वसन्ध्यामा संस्थापन पक्षभित्र सभापतिको आधिकारिक उम्मेदवारबारे विवाद उत्पन्न भएको हो। उम्मेदवारको आधिकारिकतबारे संस्थापन निकट दुई जना केन्द्रीय नेताका फरक–फरक धारणा बाहिर आएका छन्। देउवा निकट नेता, कार्यकर्ताको एक भेलाबाट सोमबार हमाललाई आधिकारिक उम्मेदवार घोषणा गरिएको छ।  

पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले नेपालगन्जमा नेता, कार्यकर्ता र सञ्चारकर्मीका बीचमा हमाल नै संस्थापन पक्षबाट सभापतिको आधिकारीक उम्मेदवार भएको घोषणा गरे। आफुलाई कांग्रेसका केन्द्रीय पार्टी प्रवक्ता एवम् देउवा प्यानलका नेता डा. प्रकाश शरण महतले सोमबार बिहान ११ बजेतिर फोन गरेर हमाल नै देउवा प्यानलको उम्मेदवार रहेको कुरा बताएको केन्द्रीय सदस्य बाल्मिकीले सुनाए।  

‘मलाई पार्टी प्रवक्ता ज्युको फोन आयो, उहाँले सिधैं भन्नुभयो, बालुवाटारबाट बोल्दैछु, अहिले शेरबहादुर दाई यही म सँगै हुनुहुन्छ, भर्खरै मलाई भन्नु भएको छ, सुरेन्द्रलाई आधिकारीक उम्मेदवार भन्दिनुपर्यो र बादशाह जीलाई बोलाएर तपाईले सम्झाउनु होला, उहाँलाई पछि संसदीय निर्वाचनमा हेरौंला भनेर तपाईले भन्दिनुपर्यो भनेर भन्नुभयो,’ बाल्मिकीले भने।  

पार्टी सभापतिको धारणालाई प्रवक्ताबाट आधिकारीक रुपमा आइसकेपछि अब देउवा प्यानलको उम्मेदवार हमाल नै भएको उनले बताए। हमालको नाम घोषणा भएपछि आसन्न पार्टीको निर्वाचनका लागि संस्थापन पक्षको आधिकारीक उम्मेदवार को हो ? भन्नेमा देउवा निकट नेता, कार्यकर्तामा थप अन्यौलता छाएको छ।  

तर, कांग्रेसका सह–महामन्त्री एवम् देउवा निकट नेता किशोरसिंह राठौंरले बाँकेमा हुन लागेको पार्टी निर्वाचनमा संस्थापन पक्षबाट बादशाह कुर्मी र सुरेन्द्र हमालले उम्मेदवारी दिएको र उनीहरु दुबै जना संस्थापन पक्षका उम्मेदवार रहेको बताएका छन्। ‘बादशाह कुर्मी र सुरेन्द्र हमाल दुबै जना हाम्रो टिमका उम्मेदवार हुन, पहिलो चरणको निर्वाचनमा दुई मध्ये जसले बढी मत ल्याउँछ, उसलाई अर्को उम्मेदवारले सहयोग गर्नेछ,’ नेता राठौंरले नागरिकसँग टेलिफोनमा भने।

नेता राठौंरले नै केहीदिन अघि बाँकेको निर्वाचनका लागि देउवा प्यानलका पदाधिकारी उम्मेदवारको नाम टुंगो लगाएका थिए। निर्वाचनमा सभापति बाहेक अन्य पदाधिकारीमा भने संस्थापनले एउटै प्यानल बनाएको छ। सभापतिको आधिकारिक उम्मेदवारबारे औपचारिक रुपमा बताइएको थिएन।  

हमाललाई संस्थापन पक्षको आधिकारीक उम्मेदवार घोषणा गरिएपछि कांग्रेसको जिल्ला निर्वाचनमा ठुलै तरंग आएको छ। संस्थापन पक्षबाट सभापतिका दुई उम्मेदवार मध्ये को आधिकारिक हो ? भन्नेमा केन्द्रीय नेतृत्वले समयमै प्रष्ट्याउनुपर्ने आम कार्यकर्ताको सुझाव छ। दुबै उम्मेदवारले चुनाव प्रचार प्रसार गरिरहेका छन्।

प्रकाशित: १६ फाल्गुन २०७८ १४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App