१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी

निर्वाचन आयोगले मोरङमा स्थानीय तहको निर्वाचनको तयारी सुरु गरेको छ। निर्वाचन आयोगले स्थानीय निर्वाचनको सम्बन्धमा सरोकारवाला पक्षहरुसँग छलफल तथा अन्तरक्रिया गरी सुझाव संकलन गर्न थालेको हो।

जिल्ला प्रशासन कार्यालय मोरङमा बिहीबार प्रदेश १ निर्वाचन कार्यालयले आयोजना गरेको अन्तरक्रियामा सहभागीहरुले स्थानीय तह निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउनु पर्ने सुझाव दिए।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतदान सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक पर्ने बताए। ‘मतदाताले मताधिकार प्रयोग गरेर आफ्ना जनप्रतिनिधि छनोट गर्ने अवसरबाट कुनै पनि मतदाता वञ्चित नहुन भनेर राजनैतिक दल र सरोकारवालाले ध्यान दिनुपर्छ,’ प्रजिअ दाहालले भने, ‘भयरहित, निष्पक्ष र सुरक्षित तरिकाले मतदान गर्न पाउने वातावारण बनाउन सबै पक्ष संवेदनशील भएर लाग्नु पर्छ।’

निर्वाचन लक्षित सुरक्षा योजना बनाउने कार्य तीव्र पारिएको र भारतसँगको खुला सीमा तथा यहाँ हुने सक्ने गैह्रकानुनी गतिविधि चुनौती रहेको बताउँदै, प्रजिअ दाहालले भने, ‘त्यस्ता गतिविधिलाई ध्यानमा राख्दै सुरक्षा योजना बनाउने काम भइरहेको छ। भारतबाट हातहतियार भित्र्याउने र निर्वाचन बिथोल्ने समूह सक्रिय हुनसक्ने कुरालाई विशेष ध्यानमा राख्दै निगरानी बढाउन थालिसकेका छौं।’  

मोरङमा ३ सय मतदाना स्थल हुनेछ। प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यव अधिकारीले वैशाखमा हुन लागेको निर्वाचनलाई लक्षित गरेर आयोगले तयारी तीव्र थालेको बताए। अधिकारीका अनुसार आयोगले निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली फागुन १९ गते पुनः प्रकाशनको तयारी गरेको छ। आयोगले प्रकाशन गरेको पुस ५ गतेसम्मको नामावली अनुसार मोरङमा ६ लाख ६९ हजार ४ सय ९० मतदाता छन्। 

प्रकाशित: १२ फाल्गुन २०७८ १४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App