२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रचण्ड र माधव नेपालको पार्टीमा गएकाहरु एमालेमै आउनुस, देश बनाउने अभियानमा लागौं: केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयू बढिमा एक वर्षमात्रै रहेको दावी गरेका छन्। अध्यक्ष ओलीले अब एक वर्ष भित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हटने बताएका हुन्।

शनिबार भक्तपुरको सुर्य विनायकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्वार्थी भन्दै उनीहरुलाई आगामी निर्वाचनमा पानीमा गएपनि आफ्नो पार्टीले नछाडने चेतावनी दिए।

अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान समेत गरेका छन्। प्रचण्ड र नेपालले झुक्याएर पार्टीको सदस्यता दिएकाहरुलाई पार्टीमा आउन र राष्ट्र निर्माणको अभियानमा सहभागी हुन ओलीको आग्रह छ।

उनले भने, ‘अब एक वर्ष भित्र चुनाव हुनै पर्छ। बच्ला कहाँ पानीमुनि गएपनि यो स्वार्थी गठबन्धन। यो कहाँ बच्छ? बच्न सक्दैन। त्यसकारण अब त बढिमा एक वर्ष हो यिनको आयू। संसारभरीका जोतिषीलाई एकैठाउँमा राखेर सोध्यो भने पनि त्यही भन्छ –बढिमा एक वर्ष हो, आयू। यो सरकारको आयू। त्यसो भएर अहिले म धेरै समय नलिऊ। अहिले पूर्वतिर मेला लाग्थ्यो। एक थरी उरन्डेउलाहरु हुल बाँधेर जान्थे। अनि लुकाएर सिन्दुरचाँही खल्तीमा हालेर जुम्सो जस्तो भएर जाने। अनि राम्री केटी देखेपछि छ्वास्स टाउँकोमा सिन्दुर र्‍याँकि दिएर गुटुट भाग्ने। के भो, के भो भन्दाभन्दै उहाँ पुगिसक्यो। माईतीहरु सिन्दुर हालीहाल्यो खोजेर सिन्दुर लाउने कहिले माकुनले सिन्धुर हालि दिएको छ झुक्याएर,। कहिले प्रचण्डले झुक्याएर छ्वास्स हालिदिएको छ, सिन्दुर। कहिले कांग्रेसले हालि दिएको छ। आजको जवानामा पनि त्यस्तो कुरामा भर परेर हुन्छ? हामी माईतीहरु सिन्दुर कसले हाल्यो भनेर खोजेर चेलीलाई जिम्मा लगाउने होईन। आउनुस, तिनीहरुले झुक्याएर हालिदिएका सिन्दुरहरु छोडिदिनुस। यहाँ आउनुस लक सावनले नुहाउनुस। नेकपा एमालेका आउनुस, देश बनाउने अभियानमा लागौं।’

अध्यक्ष ओलीले निर्वाचनमा प्रशासनको दूरुपयोग गरे त्यसको प्रतिवाद गरेर अघि बढन आफ्नो पार्टी सक्षम रहेको दावी समेत गरे। उनले निर्वाचनमा जनताको मतलाई खोस्न नदिने गरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए। अध्यक्ष ओलीले वर्तमान सरकारले जनतालाई झुक्याउने काम मात्रै गरिरहेको आरोप पनि लगाए। 

प्रकाशित: ७ फाल्गुन २०७८ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App