coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सहयोग गर्ने देशहरूलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ: प्रवक्ता डा.महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताएका छन्।

आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताए। अन्य देशको सहयोग र  एमसिसीप्रतिको दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उनको भनाइ छ।

उनले भने, ‘देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ।’ एमसिसीका विषयमा अन्योल खडा नगरी संसद्बाट पास गर्नुपर्ने उनको तर्क छ। उनले थपे,‘एमसिसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता छ। नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो।’

नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताए। उनले भने, ‘सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन।’ संसद्मा छलफल भए यस विषयमा निकाश निस्कने उनको भनाइ छ।

फरक प्रसंगमा बोल्दै उनले कांग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने बताए। पहिला कोभिडका कारण रोकिएका अधिवेशन अब भने तोकिएको मितिमै हुने उनले बताए। स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उनले यस विषयमा अहिले बहस गर्ने समय नभएको बताए।

उनले भने,‘गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ।’दलहरुले आआफ्नो आवश्यकतानुसार छलफल गरेर मात्रै गठबन्धनका विषयमा टुंगो लाग्ने उनले बताए। फाइदाका आधारमा गठबन्धनको निर्णय हुने उनको भनाइ थियो। रासस

प्रकाशित: २९ माघ २०७८ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App