२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कोरियासँग सम्झौता गरी भरतपुरको फोहोर व्यवस्थापनको काम अघि बढ्छ: रेणु दाहाल

कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा भरतपुर महानगरको फोहोर व्यवस्थापन गरिने भएको छ। दुई देशबीच सम्झौता गरी एक अर्ब २५ करोड (११.१४ मिलियन अमेरिकी डलर) को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो।

महानगरपालिकामा जनप्रतिनिधि आएसँगै फोहोर व्यवस्थापनका  अध्ययन थालिएको थियो। महानगर प्रमुख रेणु दाहालका अनुसार कोरियाली सरकारको सहयोगमा पहिलो चरणमा महानगरको फोहोर व्यवस्थापनको गुरुयोजना तयार गरिएको छ। महानगरको फोहोर व्यवस्थापनका बारेमा विस्तृत अध्ययनपछि प्रतिवेदन तयार गरिएको हो। दुई सरकारबीच ‘जीटुजी’ माध्यमबाट सम्झौता गरी काम अघि बढाउन लागिएको उनले जानकारी दिइन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण प्रक्रिया पूरा गरी सम्झौताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ। मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख सहसचिव विष्णुदत्त गौतमले सम्पूर्ण प्रक्रिया पूरा गरी अर्थ मन्त्रालयमा फाइल पठाइएको बताए। कोरियाली सरकारले ल्याण्डफिल्ड साइड निर्माण गरी नेपाली कर्मचारीलाई तालिमसमेत दिएर परियोजना हस्तान्तरण गर्ने सहसचिव गौतमले जानकारी दिए।

यसले महानगरभित्रको सबै फोहोरको व्यवस्थापन गर्छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले वडा नं ११ को आँपटारीस्थित जलदेवी सामुदायिक वनभित्रको नौ दशमलव नौ हेक्टर जमिनमा आधुनिक ल्याडफिल्डसाइड बन्ने बताए। सो ठाउँमा ल्याण्डफिल्ड साइड बनाउन सोधभर्ना जग्गा महानगरपालिकाले माडी नगरपालिका–१ मा खरिद गरिसकेको छ। यहाँ उपयोग गर्ने जग्गाभन्दा केही बढी जग्गा खरिद गरिएको हो।

सुवेदीको भनाइमा ल्याण्डफिल्डसाइड सम्पन्न भएसँगै समग्र महानगरको फोहोर व्यवस्थापन सहज हुनेछ। अधिकांश फोहोरलाई पुनः प्रयोग गरी व्यवस्थापन गर्नैपर्ने फोहोरलाई मात्रै व्यवस्थापन गरिने छ। महानगरमा अहिले दैनिक ७० टन फोहोर संकलन हुने गर्दछ। अत्याधुनिक उपकरणको प्रयोग गरी ल्याण्डफिल्डसाइड व्यवस्थित गर्न लागिएको उनले जानकारी दिए। महानगरपालिकाको वातावरण शाखा प्रमुख ई विराट घिमिरेका अनुसार सात ठाउँमा फोहोर सङ्कलन स्टेशन खडा गरिने छ।

ती ठाउँबाट फोहोर ओसार्नका लागि साधनको व्यवस्थापन यही परियोजनाअन्तर्गत गरिने छ। कूल सङ्कलन हुने फोहोरको १० प्रतिशतबाहेक अरु फोहोर पुनः प्रयोगमा आउने उनको भनाइ थियो। दैनिक १०० टनसम्म फोहोरलाई व्यवस्थापन गर्नसक्ने गरी ल्याण्डफिल्डसाइड बनाउन लागिएको हो। जनप्रतिनिधि आएसँगै भएको प्रयासबाट महत्वपूर्ण आयोजना सुरु गर्न लागिएको उनको भनाइ थियो।

 हाल महानगरपालिकामा वडा नं १ देखि ५ सम्म वेस्ट म्यानेजमेन्ट प्रालि र ७ देखि १२ सम्म वातावरणीय सुन्दर नेपाल प्रालिसँगको सहकार्यमा फोहोर व्यवस्थापन गरिँदै आएको छ। बाँकी वडामा महानगरपालिकाले फोहोर व्यवस्थापन गरिरहेको छ।

आयोजना सम्पन्न नभएसम्म निजी क्षेत्र र महानगर आफैँले फोहोरको व्यवस्थापन गर्ने शाखा प्रमुख घिमिरेको भनाइ थियो।  कोरियाली सरकारको यो परियोजना सम्पन्न गर्न करिब तीन वर्ष लाग्ने अनुमान छ। हाल महानगरपालिकामा सङ्कलित फोहोरलाई भरतपुर महानगरपालिका–३ मा व्यवस्थापन हुदै आएको छ। रासस

प्रकाशित: २८ माघ २०७८ ०७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App