१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद्लाई जीवन्त र जनमुखी बनाउने काम भइरहेको छ: सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचारण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताएका छन्। 

राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान-प्रदान गर्न आज यहाँ आयोजित कार्यक्रममा उनले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीलाई नजिकबाट हेरिरहेको उल्लेख गरे।  

अहिले भइरहेका बहसले हामीलाई देशहितका लागि निष्कर्षमा पुर्‍याउने उल्लेख गर्दै उनले इतिहास राम्रो अध्ययन गरेका जनता नै सर्वोपरी हुने बताए । उनले देशभक्त भावनाले ओतप्रोत जनताले ठिक निर्णय गर्ने, तटस्थ, निष्पक्ष र स्वतन्त्र हुनुमा आफ्नो पनि ठूलो तागत रहेको बताए।

देशले एकपछि अर्को गर्दै महामारी, राजनीतिक र जलवायु सङ्कट भोग्नुपरेको उल्लेख गर्दै सभामुख सापकोटाले सकारात्मक सोच विचारले मात्रै राम्रा नतिजा हासिल गर्ने भएकाले संसदले मुख्य कार्यभार कानुन निर्माणमै जोड दिनुपर्छ भने।

सभामुख र उपसभामुखलाई सबैसँगको छलफल र अन्तरघुलनबाट सभा सञ्चालन गर्न सहज तुल्याउने बताउँदै सभामुख सापकोटाले सबै उपसभामुखमा नयाँ र चुनौतीपूर्ण जिम्मेवारीले आत्मविश्वास बढाएको उल्लेख गरे।

लोकतन्त्र प्रवचन दिने विषय नभई आत्मसात र व्यवहारमा लागू गर्ने विषय भएको जनाउँदै उनले  संसद्मा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो भए तापनि विविध कारणले योग्यता र क्षमताको गतिलो अभ्यास गर्न नसकिरहेको उल्लेख गरे।

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले पछिल्लो दुई वर्षमा कोभिड–१९ महामारीका कारण अन्य क्षेत्रजस्तै संसद् पनि प्रभावित भएका कारण कानुन निर्माण तथा संसदीय अभ्यासका काम सोचेअनुरुप गर्न नसकिएको बताइन्।

उनले पर्याप्त बैठक तथा छलफल हुन नपाउँदा सदनमा आएका विधेयक तथा जनसरोकारका अन्य विषय प्रभावित हुन पुगेका तथा नियमित संसद् बैठक सञ्चालन नहुँदा  सिकाइका विविध पक्ष छुटेको उल्लेख गरिन्।

प्रदेश नं १ का उपसभामुख सरस्वती  पोखरेलले अत्यन्तै अप्ठेरो परिस्थितिमा प्रदेशसभाले काम गर्नुपरेको अनुभव सुनाउँदै उपसभामुखले आफ्नो अधिकारका लागि लड्नुपरेको अवस्था र घटना सुनाइन्।

मधेस प्रदेशका उपसभामुख उपमाकुमारी देवले प्रदेशसभा सञ्चालन र अन्त्य गर्ने अभ्यास गरिरहेकाले पुरुषका तुलनामा कहीँ कतै कमी कमजोरी नभएकाले आफू सक्षम रहेको दाबी गरिन्।

बागमती प्रदेशका उपसभामुख राधिका तामाङले प्रदेशसभाले ६१ वटा विधेयक पारितसहित चार वर्षको अवधिमा भए–गरेका कामकारबाही तथा समावेशी र समानुपातिक प्रतिनिधित्वबारे जानकारी गराइन्।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले ५० विधेयक पारित गरेको, विशेष अधिवेशनको अभ्यास भएको, राष्ट्रिय राजनीतिको अवस्थाले कानुन निर्माण र विकासलगायतका काम अप्ठ्यारो परेको अनुभव सुनाइन्।

संसदीय समिति र मन्त्रिमण्डलमा महिलाको प्रतिनिधित्व कमजोर हुँदा संविधानको मर्म र भावना आत्मसाथ गर्न नसकेको अनुभूति सुनाउँदै उनले सभा चलाउने जिम्मेवारी सभामुखको पालो दिनेमात्रै उपसभामुखको हो भन्ने बेलाबखतमा आभास भएको उल्लेख गरिन्।

कर्णाली प्रदेशका पुष्पा घर्तीले उपसभामुखको पद ‘माया बैगुनी नभई नहुने’ जस्तो रहेको आफूले अनुभव गरेको प्रतिक्रिया दिइन्। सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडालले प्रदेश सरकारमा दुई मन्त्री, तीन राज्यमन्त्री तथा दुईवटा समिति सभापतिको नेतृत्व महिलाबाट भइरहेको जानकारी दिइन्।

सङ्घीय संसद् सचिवालका सचिव सुदर्शन खड्काले अनुभव आदान–प्रदानका माध्यमबाट संसदीय प्रक्रिया, विधि निर्माण, जनताप्रतिको दायित्व र जवाफदेहीता, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणमा योगदान पु¥याउने विश्वास व्यक्त गरे।

संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले  उपसभामुखबारे संवैधानिक, कानुनी  राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यवस्था, अनुभव र अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गर्दै सभामुख र अध्यक्ष निर्वाचित हुँदा सामान्य बहुमत भए पुग्ने तर  हटाउँदा दुईतिहाइ चाहिने संविधान र सभाप्रति उत्तरदायी हुने संवैधानिक महत्वको पद भएकाले सोहीअनुरुपको भूमिका अपेक्षा गरिएको बताए।

उपसभामुख र उपाध्यक्षलाई  नेतृत्वकर्ताका रूपमा बुझ्न, विधिअनुरुप व्याख्या गर्न, सभाप्रति उत्तरदायी तुल्याउन उनले कार्यपत्रमा सुझाव दिएका छन्। कार्यक्रमका सहभागी अन्य वक्ताले संविधानमा सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षमध्ये एउटा पदमा महिला हुनुपर्छ भन्ने प्रावधान सहीरूपमा कार्यान्वयन नहुँदा सधैँ सहायकको रूपमा हुन्छन् कि भन्ने मान्यता स्थापित हुने खतरा रहेकाले गलत मान्यता हटाउने वातावरणको आवश्यकतामा जोड दिए। रासस

प्रकाशित: २७ माघ २०७८ ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App