coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमसिसीले सत्ता गठबन्धनमा तरंगः गठबन्धन जोगाउन दौडधुप

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरूबीच खटपट भएपछि गठबन्धन जोगाउन एकले अर्काेलाई फकाउन थालेका छन्।

कांग्रेसका नेताहरू बुधबार दिनभर सत्ताघटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेतालाई मनाउन दौडधुपमा व्यस्त रहे। यसै विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि दौडधुप गरे।

कांग्रेसका नेताहरूले बुधबार माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालसँग बेग्लाबेग्लै भेट गरे। दाहाल र नेपालले बिहान–बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे। प्रधानमन्त्री देउवाले जसरी पनि संसद्को चालु अधिवेशनमा एमसिसी सम्झौता पेस गरी अनुमोदन गराउने नीति लिएपछि सत्ता गठबन्धन दलका नेताहरूबीच खटपट उत्पन्न भएको छ। खटपट बढ्दै गए स्थानीय तहको निर्वाचअघि नै गठबन्धन टुट्न सक्छ। यस्तो अवस्था आउन नदिन बुधबार दिनभर नेताहरू आपसी छलफल र परामर्शमा व्यस्त रहेका हुन्।

तत्काल एमसिसी संसद् बैठकमा पेस गर्न नहुने बताउँदै आएका माओवादी केन्द्र र नेकपा एसले प्रधानमन्त्रीले संसद्मा लगे के गर्ने भन्नेबारे छलफल गरेका छन्।

माओवादी अध्यक्ष दाहाललाई भेट्न बुधबार बिहान कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलगायतका नेता खुमलटार पुगेका थिए। उनीहरूले दाहाललाई गठबन्धन कायम रहने आश्वासन दिएका थिए। त्यस्तै गृहमन्त्री बालकृष्ण खाँण नेकपा एसका अध्यक्ष नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए। देउवाले पार्टीका नेता र मन्त्रीमार्फत दाहाल र नेपाललाई गठबन्धन कायम राख्ने सन्देश पठाएका थिए।

खुमलटार र कोटेश्वरमा भएको वार्तापछि बिहान ११ बजे बालुवाटारमा देउवा, दाहाल र नेपालबीच करिब एक घण्टा कुराकानी भएको थियो। उनीहरूबीच साँझ पनि एमसिसी संसद् बैठकमा पेस गर्ने कि नगर्ने, स्थानीय तहको निर्वाचन कहिले गर्ने, निर्वाचन मिति घोषणापछि सरकारी नियुक्तिमा अवरोध आउनेलगायत विषयमा छलफल भएको थियो।

छलफलमा देउवाले एमसिसी सम्झौतामा संशोधन गर्नुपर्ने बुँदा भए जानकारी गराउन आग्रह गरेका थिए। ‘बिहानको छलफलमा एमसिसीका कुनकुन बुँदामा सुधार र संशोधन आवश्यक छ भनेर प्रधानमन्त्रीले सोध्नुभयो, छलफल निकै सकारात्मक र फलदायी ढंगले अघि बढ्यो’, दाहाललाई उद्धृत गर्दे माओवादीका एक नेताले भने। दाहाल र नेपालले यथास्थितिमै एमसिसी पास गर्न नसकिने अडान लिएपछि प्रधानमन्त्री देउवाले उनीहरूसँग संशोधन गर्नुपर्ने बुँदा मागेका थिए।

प्रधानमन्त्री देउवाले कुनै पनि तहमा पुगेर भए पनि एमसिसी संसद् बैठकमा पेस गर्ने तयारी गरेछि दाहालको निर्देशनमा सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक स्थगित गरेको चर्चा राजनीतिक वृतमा छ। सभामुख सापकोटा १६ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक २६ मा बस्ने भन्दै स्थगित गरेर गृहजिल्ला पुगेपछि दाहालले सरकारलाई असहयोग गरेको गुनासो कांग्रेस नेताहरूले गरेका थिए।

त्यसैगरी दाहालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख सुङ थाओसँग गरेको कुराकानीले पनि गठबन्धनभित्र खटपट उत्पन्न भएको थियो। सुङले एमसिसी संसद् बैठकमा पेस नगर्न दाहाललाई दबाबमा दिएको समाचार बाहिर आएपछि कांग्रेसले त्यसबारे स्पष्ट हुन भनेको थियो। ‘बुधबार बिहान ती सबै भ्रमबारे छलफल भएको छ’, दाहाल निकट एक नेताले भने।

 ती नेताका अनुसार देउवाले एमसिसीको प्रस्ताव संसद् बैठकमा पेस गर्ने बताएपछि गठबन्धनमा चिसोपना बढेको र त्यसको निरुपणका लागि बिहान कांग्रेस नेताहरू खुमलटार र कोटेश्वर पुगेका हुन्।

प्रधानमन्त्री देउवासँग बालुवाटारमा कुराकानी गरेर फर्केपछि नेकपा एसका अध्यक्ष नेपालले एमालेविरुद्ध एक भएर अगाडि बढ्नुपर्ने भएकाले गठबन्धन संसदीय निर्वाचनसम्म कायम रहने बताएका छन्। नेकपा एसनिकट विद्यार्थी संगठनले आयोजना गरेको रक्तदान कार्यक्रमलाई काठमाडौंमा सम्बोधनका क्रममा अध्यक्ष नेपालले एमालेले जता पनि विध्वंश मच्याउने काम गरेको र गठबन्धन टुट्दैछ भन्ने भ्रम फैलाएको आरोप लगाए।

उनले एमालेले संसद् बैठक चल्नै नदिएर विध्वंशकारी भूमिका निर्वाह गरेको बताए। ‘मुलुक अब गठबन्धनको राजनीतिमा अगाडि बढिसकेको छ, कसैले भ्रम फैलाउँदैमा गठबन्धन भत्किँदैन,’ नेपालले भने। उनले जेठमा स्थानीय तह निर्वाचन हुने बताए। ‘कसैले गठबन्धन तोड्नुस्, साथ दिन्छौँ भनेर कांग्रेस सभापतिलाई भनेका थिए तर यो गठबन्धन टुट्नेवाला छैन, कसैले टुटाउन खोजे पनि यो टुट्ने, फुट्नेवाला छैन,’ नेपालले भने।

माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लिलामणि पोखरेललगायतका नेता कार्यकर्ता एमसिसी पास गर्ने पक्षमा छैनन्। उनीहरूले एमसिसी पास गर्न सरकारलाई सहयोग र समर्थन नगर्न दाहाललाई दबाब दिइरहेका छन्।

यसैकारण दाहालले पार्टीभित्र अन्तर्विरोध बढेको भन्दै यथास्थितिमा एमसिसी संसद्मा पेस गर्न नसकिने अडान लिएका छन्। नेकपा एसमा पनि एमसिसीबारे अन्तर्विरोध कायमै छ। दाहाल र नेपालले संशोधनपछि मात्रै एमसिसी संसद् बैठकमामा पेस गर्नुपर्ने अडान बुधबार साँझको बैठकमा पनि दोहोर्‍याएको स्रोतले बतायो।

प्रकाशित: २० माघ २०७८ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App