१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

'एमसीसी पास नगर्दा मुलुकमा केही फरक पर्दैन'

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले अमेरिकन सहयोग मिल्लेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास नगर्दा मुलुकको अर्थतन्त्र ठप्प पार्ने धम्की दिनु गलत भएको बताएका छन्। बुधबार दिउँसो पत्रकारसँग भेटघाट कार्यक्रममा बोल्दै एमालेले एमसीसी पास नगरे अर्थतन्त्र ठप्प पार्ने धम्की दिनु गलत भएको बताएका हुन्।

बस्नेतले एकथरीले एमसीसी पास गर्दा राष्ट्रबादी हुने तर्क गरिरहेको र अर्का थरीले पास नगर्दा राष्ट्रवादी हुने भन्न दुवै तर्कको अर्थ नरहेको बताए। यस्तो कुरालाई काईते तर्कको संज्ञा दिदै नेता बस्नेतले को राष्ट्रवादी र को होईन भन्ने कुरा जनताको काम गराईमा भर पर्ने अडान आफ्नो रहेको बताए।

बस्नेले निर्वाचन आयोगले संवैधानिक राजतन्त्र र हिन्दु राज्य बनाउने पार्टीको विधान परिवर्तन गर्न दिएको निर्देशनको बिरोध गरे। ‘लोकतान्त्रिक गणतन्त्रजस्तो बहुलबादी व्यवस्थामा दुईतिहाई बहुमत ल्याएर संवैधानिक राजतन्त्र र हिन्दुराज्य ल्याउछौं भन्न पाउने कि नपाउने?’ बस्नेतको प्रश्न थियो ‘निर्वाचन आयोगले हामीलाई किन अवरोध गर्छ?’  

त्रियुगा नगरपालिका १० बोक्सेस्थित आफ्नै निवास रहेको वल्डदरबार होटलमा आयोजित पत्रकार भेटघाटमा पूर्वमन्त्री बस्नेतले युरोपियन युनियनले नेपाललाई धर्मनिरपेक्ष मुलुक र राजतन्त्र हटाएको दावीसमेत गरे। ‘नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न र राजतन्त्र हटाउने काममा नेपाली जनताको कुनै भूमिका छैन’ बस्नेतको दावी थियो ‘यो सब काम नेपाली जनताको नाममा युरोपियन युनियनले गरेको हो।’

राप्रपा संवैधानिक राजतन्त्र र हिन्दु राज्यको वकालत गर्ने पार्टी भएको दोहोर्‍याउँदै तर, अव हुने राजतन्त्रले शासन गर्ने नभई देशको संरक्षक वा अभिभावकको रुपमा रहने प्रष्ट्याए। बस्नेतले राप्रपा नेपालकै सबभन्दा प्रजातान्त्रिक पार्टी भएको दावी गर्दै एमाले र माओबादीमा जस्तो सर्वसम्मत नेतृत्व चयन प्रक्रियाप्रति व्यंग्य कसे।  

आउँदो संघीय प्रतिनिधिसभा चुनावमा उदयपुर १ बाट राप्रपाको तर्फबाट उम्मेदवारी दिने तयारीमा रहेका बस्नेतले पार्टीले निर्देशन गरे चुनाव लड्न तयार रहेको बताए। उनले आफु पहिलेदेखि नै उदयपुरबाटै राजनीति गर्दै आएको भन्दै यसपटक पनि पार्टीबाट अनुमति पाए चुनाव लड्ने बताए। पहिलेका चुनावमा गठबन्धनबाट पनि चुनाव लडेको तर, आगामी चुनावमा गठबन्धन हुने नहुने भन्ने कुरा यकिन नभएको बताए।  

पञ्चायतकालमा २ पटक उदयपुृरबाट राष्ट्रिय पञ्चायत सदस्य भएका बस्नेत पटकपटक वन, सञ्चार, निर्माण तथा यातायातजस्ता महत्वपूर्ण मन्त्री भएर जिम्मेबारी सम्हाल्ने मौका पाएका थिए। सदरमुकाम छेउमै रहेको त्रियुगा नदीमा पुल बनाउन माग गरेपछि उनी निर्माण तथा यातायात मन्त्री हुँदा त्रियुगामा कज–वे निर्माण भएको थियो।  

सो कज–वेलाई ‘पानी मुनिको पुल’ बनाएको भन्दै बिपक्षीहरुले बस्नेतको आलोचना गरेका थिए। बस्नेतलाई अहिले पनि पानी मुनिको पुल बनाउने मन्त्री भनेर बिपक्षी धारका जिल्लाबासीले व्यंग्य कस्ने गरेका छन्। 

प्रकाशित: १९ माघ २०७८ १५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App