२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले सुनसरीको अधिवेशन लम्बियो, सर्वसम्मत गराउने प्रयास

आफू अनुकूल नेतृत्व ल्याउने दाउमा भीम आचार्य

एमाले सुनसरीको बन्द सत्रमा अध्यक्ष मण्डलका नेताहरु। तस्बिरः नागरिक

नेकपा एमाले सुनसरी जिल्लाको ७ औं अधिवेशन नेतृत्व चयन प्रक्रिया शुरु भएसँगै लम्बिएको छ।

जिल्ला सदरमुकाम इनरुवामा पुष २३ र २४ गते गर्ने भनिएको अधिवेशन सर्वसम्मत नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया तन्क्याइएको हो। नेताहरु सर्वसम्मत नेतृत्व चयनको लागि कसरत गरिरहेका छन्। शनिबार जिल्ला निर्वाचन कमिटीले प्रकाशन गरिसकेको निर्वाचन कार्यतालिकासमेत संशोधन गरिएको छ।

एमाले प्रचारप्रसार उपसमितिका सहसंयोजक रवि खनालका अनुसार उम्मेदवारहरुको मनोनयन दर्ताको लागि आइतबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ। निर्वाचनको प्रयोजनको लागि ११ वटा भौगोलिक क्षेत्र, समावेशीतर्फ ९ वटा क्लष्टर र पदाधिकारीमा ५ जना खुला गरेर निर्वाचनको प्रक्रिया अघि बढाउने गरि मनोनयन दर्ताको फारम वितरण भइसकेको उनले बताए। ‘आइतबार मनोनयन दर्ता हुन्छ, सहमतिको लागि एक दिन समय दिइएको छ,’ खनालले भने,‘निर्वाचन २७ गते हुने सम्भावना पनि छ, सहमतिकै लागि कार्यतालिका संशोधन गरेर मतदानको मिति तोकिएको छैन।’

अधिवेशनमा आयोजक र प्रतिनिधिहरु गरि कुल २ हजार ७९ जना मतदाता छन्। अझै छुटेका प्रतिनिधिहरुको निवेदन आइरहेको कारण संख्या थपिनसक्ने प्रचार सहसंयोजक खनालको भनाई छ। अधिवेशनले अध्यक्ष, उपाध्यक्ष एक, सचिव एक र उपसचिव २ सहित १३५ जनाको कार्यसमिति निवार्चित गर्नेछ।  

सुनसरीमा अधिवेशन आयोजक कमिटीका अध्यक्ष खेमराज पोख्रेल र पूर्वअध्यक्ष रेवतीरमण भण्डारी अध्यक्षको प्रमुख दाबेदार छन्। दुवै नेता संस्थापन पक्षकै भएकोले सर्वसम्मत चयन गर्न नेताहरु निरन्तर छलफलमा छन्। एमाले सुनसरीका पूर्वअध्यक्ष भण्डारी पुष ५ गतेको परिस्थितिपछि ओली समूहले गठन गरेको जिल्ला कमिटीमा अध्यक्ष थिए। तर, सुनसरीमा जेठ २ अघिको कमिटीको अध्यक्ष रमेश बस्नेत थिए। सुनसरीमा दुई कमिटीको समानान्तर गतिविधि जारी रहेको र एकले अर्कालाई स्वीकार नगर्ने भएपछि खेमराज पोख्रेललाई अधिवेशन आयोजक कमिटीको अध्यक्ष बनाइएको थियो। अध्यक्षको आकांक्षीमा इटहरीका मेयर द्धारिकलाल चौधरी र प्रदेश कमिटी सदस्य रामप्रसाद चौलागाईको पनि चर्चा छ।

फू अनुकूल नेतृत्व ल्याउने दाउमा भीम आचार्य

सुनसरी गृहजिल्ला भएका एमाले स्थायी कमिटी सदस्य भीम आचार्य आफू अनुकूलको नेतृत्व ल्याउन लागिपरेका छन्।

दश बुँदे सहमति गरेर एमालेमै बसेका तत्कालीन सचिव एवं प्रभावशाली नेता आचार्य १० औं महाधिवेशनपछि भने शक्तिविहीन छन्। उनका विश्वास पात्र पूर्वकेन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज भीम आचार्य केही दिनअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन्। आचार्यले दश बुँदे सहमति गरेर प्रदेश १ को मुख्यमन्त्री भएपछि गृहजिल्लाकै उनी पक्षीय नेता, कार्यकर्ताहरुले उनको साथ छोड्दै गएका थिए।

गृहजिल्लामा कमजोर हुँदै गएका आचार्यले ७ औं जिल्ला अधिवेशनलाई आफ्नो शक्ति संचय गर्ने अवसरको रुपमा लिएको एमालेका एक जिल्ला नेता बताउँछन्। आफू अनुकूल नेतृत्व ल्याउने र पदाधिकारीमा पनि आफ्नो विश्वास पात्र समावेश गराउने उनको दाउ छ। यसअघि जेठ २ पक्षबाट आयोजक कमिटीको उपाध्यक्षमा नन्द बस्नेत र उपसचिवमा आचार्यकै विश्वासपात्र लोकश निरौलालाई राख्न सफल भएका थिए।

आचार्यले अहिले अध्यक्षका प्रमुख २ आकांक्षीमध्ये पोखरेललाई सघाएर भण्डारीलाई रोक्ने संकेत देखाइसकेको एक नेता बताउँछन्। ‘रेवतीरमण भण्डारीले फेरि जिल्ला अध्यक्ष भएपछि कमरेड भीम आचार्यको विरोध र आलोचना मात्र गर्नुभयो, उहाँहरुको सम्बन्ध राम्रो छैन,’ ती नेताले भने,‘त्यसैले खेमराज कमरेडलाई अध्यक्ष बनाउन सहयोग गर्ने र आफू अनुकूल नेतृत्व ल्याएर शक्ति संचय गर्ने दाउमा हुनुहुन्छ।’ पोख्रेल र नेता आचार्य दुवैको घर इनरुवा नै हो।

प्रकाशित: २४ पुस २०७८ १४:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App