१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैनः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताएका छन्।

आज लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि यहाँ पुगेका मन्त्री आलेले भगवान् गौतमबुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देश–विदेशमा चिनिएको र यहाँको विकासका लागि आफू सधैँ सकारात्मक रहेकाले बजेट अभाव हुन नदिने बताए।

उनले भने, 'शान्तिका दूत भगवान् गौतमबुद्ध जन्मिनुभएको र उहाँकै नामबाट देश–विदेशमा चिनिएको लुम्बिनीको विकासका लागि बजेटको कुनै कमी हुँदैन, यहाँ निर्माण गरिन लागिएका संरचना निर्माणका लागि बजेटको अभाव भयो भने लेखेर पठाउनुहोला, म यही कोषको अध्यक्ष भएकाले पनि बजेट प्रदान गर्नु मेरो दायित्व हुने छ।'

लुम्बिनी क्षेत्रमा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाको काम समयमै सम्पन्न गरिसक्नसमेत मन्त्री आलेले निर्माण व्यवसायीसँग आग्रह गरे। लुम्बिनी क्षेत्रमा निर्माण भएका काम गुणस्तरयुक्त हुनुपर्ने मन्त्री आलेको भनाइ थियो।

सोही अवसरमा मन्त्री आलेले लुम्बिनीमा निर्माण गरिन लागिएका सम्पूर्ण संरचना गुणस्तरयुक्त तथा मापदण्डसहित निर्माण गर्न र गराउनका लागि सबै क्षेत्र, तह, तप्काका नागरिकले चासो देखाउनुपर्ने धारणा राखे। साथै उनले लुम्बिनी विकास कोषअन्तर्गत रहेको एक हजार १५५ बिघा जमिनमा थुप्रै भौतिक संरचना निर्माण भइसकेका र हामीले कम्तीमा पनि ८१ प्रतिशत काम सम्पन्न गरिसकेका छौं बाँकी रहेको १९ प्रतिशत काम चाँडो बोलपत्र प्रक्रियाबाट काम सुरु गराउन समेत लुम्बिनीको विकास कोषका पदाधिकारीलाई निर्देशन दिए।

मन्त्री आलेले लुम्बिनीमा निर्माण हुँदै गरेको पाँच हजार मानिस अट्ने क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभाहलको गुरुयोजनाअनुसार मूल प्रवेशद्वारमा निर्माण गरिन लागेको गेट तथा सडकको शिलान्याससमेत गरेका थिए।

प्रकाशित: २४ पुस २०७८ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App