coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनबाट घेराबन्दी तोड्छौेँः ओली

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य दलहरू मिलेर एमालेलाई घेराबन्दीमा पार्न खोजे पनि त्यो सम्भव नहुने बताएका छन्।

शुक्रबार भर्चुअल माध्यमबाट ६१ जिल्लामा एमाले अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘एमाले जनताको मनमा बसेकाले कसैले घेराबन्दी गर्न सक्दैन।’

ओलीले घेराबन्दीका कारण राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम आफूहरूका लागि प्रतिकूल आउन सक्ने धारणा राख्दै घेराबन्दी आगामी निर्वाचनबाट तोडिने बताए। उनले राष्ट्रियसभा सदस्य निर्वाचन पहिलेकै जनादेशलाई दुरूपयोग गरेर हुने भएकाले त्यसको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल हुनु कुनै अनौठो नभएको पनि बताए।

उनले राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम पार्टीका लागि प्रतिकूल आए पनि एमाले मुलुकको पहिलो शक्ति रहिरहने बताए। उनले राष्ट्रियसभा सदस्य निर्वाचनमार्फत सत्तारुढ गठबन्धनले एमालेलाई अन्तिम प्रहार गर्न खोजे पनि नआत्तिन नेता–कार्यकर्तालाई आग्रह गरे।

ओलीले आगामी निर्वाचनमा एमाले एक्लै सत्तारुढ गठबन्धनसँग भिड्न सक्षम रहेको दाबी गरे। त्यसका लागि अहिलेदेखि नै तयारी अवस्थामा रहनसमेत उनले कार्यकर्तालाई निर्देशन दिए। उनले असंवैधानिक तरिकाले बनेको वर्तमान सरकारलाई मतदानको माध्यमबाट हटाउनुपर्ने बताए। ‘अहिलेको सरकार जनादेशबाट बनेको होइन, परमादेशबाट बनेको हो। परमादेश स्थायी होइन, जनादेश स्थायी हो’, ओलीले भने। उनले संसद्बाट नभई अन्यत्रबाट बनेको सरकार जनताको चाहनाविपरीत भएको बताए। उनले जनता एमाले नेतृत्वको सरकारको प्रतीक्षामा रहेको बताए।  

ओलीले नर्सिङ कलेजहरू हटाउने र राज्यका हरेक निकायलाई पार्टीको भर्ती केन्द्र बनाउने काम वर्तमान सरकारले गरिरहेको आरोप लगाए। ६१ वटा जिल्लामा सुरु भएको अधिवेशनले जिल्लामा नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशन दुई दिनसम्म चल्नेछ।  

ओलीले हार स्विकारेः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा सदस्य निर्वाचन नहुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले हार स्वीकार गरिसकेको बताएका छन्। पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘आज तपाईंहरूले सुन्नुभएको होला, केपी ओलीको एउटा भाषण। त्यो भाषणमा उनले राष्ट्रियसभाको चुनावमा आफ्नो पराजय निश्चित छ भनेर स्वीकार गरेका छन्।’

नेपालले ओलीको घमण्डका कारण एमालेमा लोकतन्त्र विकसित हुन नपाएको बताए। ओलीले पार्टीभित्र लोकतन्त्रलाई निषेध गरी देशभर एकसाथ जिल्ला अधिवेशन गराएर प्रतिस्पर्धा हुन नदिएको आरोप नेपालले लगाए।

प्रकाशित: २४ पुस २०७८ ००:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App