कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएको सुर्खेत सभाहल वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ। बिहीबार शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले २७ करोड लागतमा निर्माण गरिएको सभाहल नगरपालिकालाई हस्तान्तरण गरेकी हुन्।
शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालय सुर्खेतले २७ करोड लागतमा निर्माण गरेको हो।
कार्यक्रममा मन्त्री झाँक्रीले संघीय सरकारले सभाहल निर्माण गरेपनि त्यसको रेखदेख र सञ्चालनको जिम्मा स्थानीय सरकार र सरोकारवालाहरुको भएको बताइन्। ‘संघीय सरकारले सभाहल मात्रै निर्माण गरिदिएको हो,’ उनले भनिन्, ‘यसको सञ्चालन, हलको मर्मत र यसमा लाग्ने जनशक्तिलाई आफै व्यवस्थापन गर्ने गरेर सञ्चालन गरिनुपर्छ।’ उनले सभाहलले समग्र कर्णाली प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिन्।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले सभाहल निर्माणपछि सञ्चालनमा चुनौति भएकाले सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए। प्रदेशस्थित निजी क्षेत्रले पनि व्यावसायिक वस्तु प्रर्दशनीजस्ता कार्य गरेर हलको आम्दानीमा योगदान गर्न सक्ने उनले बताए।
शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले देशभर ४० वटा सभहल बनिरहेका छन्। सातवटा प्रदेशका राजधानीमा निर्माण गर्न लागिएको ठूला सभाहलहरु मध्ये सुर्खेतमा निर्माण सम्पन्न भएको यो सभाहल पहिलो भएको उनले बताए।
उनका अनुसार यो सभाहल विमस्टेक, सार्क सम्मेलन जस्ता ठूला सभाहरु सञ्चालन गर्न मिल्नेगरी निर्माण गरिएको छ। २०७३ चैतबाट निर्माण सुरु भएको सुर्खेतको सभाहल यसै वर्ष निर्माण कार्य सम्पन्न भएको हो।
‘कर्णाली सभाहल’ कर्णालीकै ठूलो हो। सभाहल २५ हजार २८९.१६ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको छ। सभाहलको कुल एरिया ३.४२९ वर्गमिटर छ भने जम्मा फ्लोर एरिया ७.४२९ मर्गमिटर छ। सभाहलमा प्रवेशका लागि एक मुख्य र दुई सहायक प्रवेशद्वार निर्माण गरिएका छन्। सभाहल चार वटा ब्लग मिलेर बनेको छ। पहिलो ब्लगमा बहुउद्देश्यीय तीन वटा हलहरु छन्। जस अन्र्तगत एउटा १५० सीट क्षमताको, दोस्रो एक सय र तेस्रो ५० जना सीट क्षमताका हल छन्।
दोस्रो ब्लकमा सिनेरी स्टोरेज रुपम, जनरल स्टोरेज रुमलगायत छन् भने तेस्रो ब्लकमा भिआइपी, मिडिया सेन्टर, वेटिङ रुम छन्। चौथो ब्लकमा मुख्य सभाहल छ। मुख्य सभाहलको भुइँतला र बालकोनी गरेर ७८० जना मानिस अट्ने हल छ। सभाहल परिसरमा ११० वटा चार पांग्रे सवारी अट्ने पार्किङस्थल निर्माण गरिएको छ।
प्रकाशित: २२ पुस २०७८ १३:५६ बिहीबार