प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका हुन्।
उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए। प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री तथा सचिवहरुलाई सचेत गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
‘सम्माननीय प्रधानमन्त्रीजीले मुलुकको विकास र सरकारले जनतालाई दिनुपर्ने जुन सेवा, सुविधाहरु छन, त्यसलाई तीव्रताका साथ अगाडि बढाउने र जनताको जीवन रक्षाका निमित्त सरकार चनाखो हुने र विकास निर्माणलाई पनि तीव्रताका साथ अगाडि बढाउनका निमित्त सबै मन्त्री, सबै सचिवहरुलाई निर्देशन दिनु भएको छ’, उनले भने, ‘बैठकमा अर्थतन्त्रको अवस्थाका बारेमा अर्थमन्त्रीले जानकारी गराउनु भयो। समग्रतामा प्रधानमन्त्रीजीले मुलुकको अपेक्षा र जनताको अपेक्षा अनुसार सरकारले तीव्रताका साथ काम गरोस् भनेर निर्देशन दिनु भयो।’
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए। यता, प्रधानमन्त्री देउवाले ती समस्या समाधान गरेर जन सेवाको कामलाई रफ्तारमा अघि बढाउनुपर्ने बताएका थिए।
प्रकाशित: २१ पुस २०७८ १२:३१ बुधबार