४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले ताप्लेजुङ जिल्ला अधिवेशनः अध्यक्षका लागि ४ जना आकाँक्षी

पुस २३ र २४ गते हुने नेकपा एमाले ताप्लेजुङको ११ औं जिल्ला अधिवेशनमार्फत अध्यक्ष बन्न ४ जना आकाँक्षी देखिएका छन्। जिल्ला संयोजक तथा प्रदेश सांसद बलबहादुर साम्साहोङ, सहसंयोजक तथा संविधानसभा सदस्य भूपेन्द्र थेबे, एमाले नेताद्धय केशरकुमार सुब्बा र राधाकृष्ण पौडेल आकाँक्षी देखिएका छन्।

अर्का नेता सन्तोष खतिवडाले सहमति बनेको अवस्थामा आफू अध्यक्षको दौडमा नरहने बताएका छन्। सुब्बा पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष समेत हुन्। उनी एमालेको दशौं जिल्ला अधिवेशनमार्फत जिल्ला सचिवमा निर्वाचित भएका थिए। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बिबाद तथा पछि एमाले र माओवादी केन्द्र फरक–फरक दलको हैसियतामा पुगेपछि बनेका दुई समानान्तर कमिटी मध्ये एक पक्षको उपाध्यक्ष पौडेल थिए। नेकपा र एमाले बिबाद कायम रहँदा अध्यक्ष केपी शर्मा ओली निकट रहेको थेबे अध्यक्ष, पौडेल उपाध्यक्ष र दीपेन्द्र पोमू(दीपेन)सचिव रहेको एमालेको एउटा कमिटी बन्यो।

दशौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित साम्सोहाङ, उपाध्यक्ष मातृकाप्रसाद भट्टराई, सचिव केशरकुमार सुब्बा र उपसचिव मंगलसिंह केदेम रहेको समिति अर्कोतर्फ क्रियाशील थियो। बिबादका बीच दुई पार्टी कमिटी र दुई पार्टी कार्यालय रहेको एमाले ताप्लेजुङलाई एक बनााउने प्रयास स्वरुप साम्सोहाङ संयोजक र थेबे सहसंयोजक रहने गरी दुबै कमिटीमा रहेका अन्य पदाधिकारी तथा माओवादी केन्द्रसहित अन्यबाट एमाले प्रवेश गरेका समेत समेटेर जिल्ला अधिवेशन नहुँदासम्मका लागि ८ सदस्य सचिवालय बनाइएको छ। दुबै कमिटीमा रहेका सदस्यहरु जिल्ला सम्मेलन आयोजक कमिटीमा रहने गरी पार्टी कमिटी समायोजन गरिएपनि दुई पार्टी कार्यालय भने यथावत् चलिरहेका छन्।

एमालेको नयाँ विधान अनुसार कुनै एक कमिटीमा रहेको व्यक्तिले अर्को कमिटीमा रहने गरी उम्मेदवारी दर्ता गर्ने बित्तिकै साविकको कमिटीको हैसियत गुमाउने एमालेको नयाँ विधानको व्यवस्था रहेको छ। सोहि अनुरुप जिल्ला कमिटीमा रहेका व्यक्ति पालिका कमिटीमा पनि आबद्ध भएको अवस्थामा जिल्ला कमिटीमा रहने छैनन्। एमाले ताप्लेजुङका इञ्चार्ज तथा पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोले भने सहमतिमै नेतृत्व चयन गर्न बिभिन्न चरणमा नियमित छलफल भइरहेको र निश्कर्षमा भने पुग्न नसकिएको जानकारी दिए। ‘सहमतिको प्रयास गरिरहेका छौं, हेरौं के हुन्छ’, उनले भने।

प्रकाशित: २० पुस २०७८ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App