६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रक्रिया सुरु

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि शनिबारदेखि प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, दाबीविरोधको उजुरी दिने, नामावली छुटेकाको समावेशलगायत प्रक्रिया शनिबारदेखि अघि बढाएको हो।

 माघ १२ मा हुने निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन पुस १९ मा र पुस २० मा मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले घोषणा गरिसकेको छ। राष्ट्रिय सभामा १९ जनाका लागि चुनाव हुँदैछ। एमालेबाट आठ, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बाट चार/चार, नेपाली कांग्रेसबाट तीन र मनोनीत एक सदस्यको फागुन २१ गते पदावधि सकिँदैछ।

सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य गरी जम्मा १९ पदका लागि चुनाव हुन लागेको हो। तीमध्ये महिला सात, दलित तीन, अपांगता भएका दुई र अन्य सातजना छन्।

राष्ट्रिय सभा सदस्यको पदावधि सकिनेमा एमालेबाट सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, आगमनप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, नैनकला ओझा, रामलखन चमार र चक्रप्रसाद स्नेही, माओवादी केन्द्रका दीनानाथ शर्मा, राष्ट्रिय सभा उपाध्यक्षसमेत रहेकी शशिकला दाहाल, खिमबहादुर विक र जीवन बुढा रहेका छन्।

त्यसैगरी नेपाली कांग्रेसका तर्फबाट राधेश्याम अधिकारी, तारादेवी भट्ट र दृगनारायण पाण्डेय, एकीकृत समाजवादीका ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर तथा राष्ट्रपतिबाट मनोनीत रामनारायण बिडारीको समय सकिँदैछ। प्रदेश १ मा तीनजनाको पदावधि सकिँदैछ।

रिक्त हुने समूहमध्ये महिलाबाट एक, अन्यबाट एक र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक रहेका छन्। प्रदेश १ मा महिला समूहबाट नैनकला ओझा, अन्य समूहबाट परशुराम मेघी गुरुङ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट आगमनप्रसाद बान्तवा राई गरी तीनजना एमाले सांसदको पद रिक्त हुँदैछ। एमालेका सांसद सुमनराज प्याकुरेल अन्य समूहबाट निर्वाचित हुन भने राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल माओवादी केन्द्रकी महिला समूहबाट निर्वाचित हुन्।

वाग्मती प्रदेशमा महिला समूहबाट एक र अन्य समूहबाट एक गरी दुईजनाको पद रिक्त हुँदैछ। रिक्त हुनेमध्ये कांग्रेसका राधेश्याम अधिकारी अन्य समूह, एकीकृत समाजवादीकी उदया शर्मा पौडेल महिला समूहबाट निर्वाचित हुन्। गण्डकी प्रदेशमा महिला समूहबाट एक, अन्य समूहबाट एक, दलित समूहबाट एक सिट खाली हुँदैछ। यो सिटमा माओवादी केन्द्रका दीनानाथ शर्मा अन्यबाट निर्वाचित भएका थिए भने माओवादी केन्द्रका खिमकुमार विक दलितबाट निर्वाचित भएका थिए। एकीकृत समाजवादी पार्टीकी शान्तिकुमारी अधिकारी जिसी महिलाबाट निर्वाचित हुन्।

लुम्बिनी प्रदेशमा महिला समूहबाट एक, दलित समूहबाट एक, अन्य समूहबाट एक सिट खाली हुँदैछ। एमालेकी कोमल वली महिला समूहबाट निर्वाचित हुन् भने एमालेकै रामलखन चमार दलितबाट निर्वाचित हुन् भने कांग्रेसका दृगनारायण पाण्डेय अन्य समूहबाट निर्वाचित हुन्।

कर्णाली प्रदेशमा महिला समूहबाट एक, अन्य समूहबाट एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक सिट खाली हुँदैछ। कर्णालीबाट एकीकृत समाजवादी पार्टीका ठगेन्द्रप्रकाश पुरी अन्यबाट निर्वाचित हुन् भने नेकपा एमालेकी कविता बोगटी महिला समूहबाट निर्वाचित हुन्। त्यस्तै माओवादी केन्द्रका जीवन बुढा अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुन्।

सुदूर पश्चिम प्रदेशमा महिला समूहबाट एक, अन्य समूहबाट एक, दलित समूहबाट एक सिट खाली हुँदैछ। खाली हुने सिटमा २०७४ सालको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट एमालेका चक्रप्रसाद स्नेही दलित समूहबाट र कांग्रेसकी तारादेवी भट्ट महिला समूहबाट निर्वाचित हुन्। एकीकृत समाजवादीका शेरबहादुर कुँवर अन्य समूहबाट निर्वाचत भएका थिए। सरकारको सिफारिसमा रामनारायण बिडारी राष्ट्रपतिबाट मनोनीत सदस्य हुन्। मनोनीत गर्नुपर्ने एक पद फागुन २१ मा सकिँदैछ।

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा राष्ट्रिय सभाका सदस्य छनोट हुनेछन्। प्रदेशसभाका सदस्यको मतभार ४८ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ राखिएको छ। राष्ट्रिय सभाका २ हजार २५ मतदातामध्ये ५ सय ३२ जना प्रदेशसभा सदस्य, १ हजार ४ सय ९३ जना पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष छन्।

प्रकाशित: १८ पुस २०७८ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App